एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने
नेकपा (एकीकृत समाजवादी)ले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ।
सबै जनवर्गीय संगठनको अधिवेशन सकिएपछि राष्ट्रिय महाधिवेशन गर्ने एकीकृत समाजवादीको तयारी छ। माघ दोस्रो साता राष्ट्रिय अधिवेशन काठमाडौंमा गर्ने तय भएको एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताए।
सबै जनवर्गीय संगठनको अधिवेशन सम्पन्न हुन बाँकी रहेकाले आगामी मंसीरको दोस्रो सातासम्म अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ। त्यसैले अहिले महाधिवेशन प्रतिनिधि छनोटका मापदण्ड सम्बन्धी कार्यविधि तर्जुमा गर्न लागिएको एकीकृत समाजवादीले जनाएको छ।
पछिल्लो केन्द्रीय कार्यसमितिको बैठकको सुझाव अनुसार अधिकांश युवालाई पार्टीमा आकर्षित गर्न केन्द्रीय कार्यसमितिमा उनीहरूको सहभागिता बढाउने, अल्पसंख्यक, दलित, सीमान्तीकृत र पिछडिएका समुदायको प्रतिनिधित्वलाई समावेशी गराउने तथा वैचारिक दृष्टिकोणलाई परिमार्जन गर्ने गरी विधान संशोधनका लागि गृहकार्य भइरहेको महासचिव भुसालले बताए।
महाधिवेशनमा एकीकृत समाजवादीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण र जनताको बहुदलीय जनवादको सान्दर्भिकताबारे छलफल हुनेछ। यससँगै महाधिवेशनले नेतृत्व पनि चयन गर्नेछ।