साहित्यकार लम्साललाई यस वर्षको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार प्रदान गरिने
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार यस वर्ष साहित्यकार एवं सञ्चारकर्मी डा. नवराज लम्साललाई प्रदान गरिने भएको छ।
प्रतिष्ठानले हरेक वर्ष स्थापना दिवसको सन्दर्भ पारेर सो पुरस्कार प्राप्त गर्ने स्रष्टाको नाम घोषणा गर्ने गरेको छ। क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कारको राशि रु.२५ हजार छ। पुरस्कार छनोट समितिले यस वर्ष प्रदान गरिने पुरस्कार र पुरस्कृत स्रष्टाको नाम संस्थालाई उपलब्ध गराएको संस्थाका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए।
त्यसैगरी, गीतल राष्ट्रिय पुरस्कार-२०८०, तिला लेकाली (मोरङ)लाई प्रदान गर्ने निर्णय गरिएको छ। उक्त पुरस्कारको राशि रु.१० हजार छ। गीतल प्रतिभा पुरस्कार-२०८० शोभासिंह ठकुरी (तनहुँ)लाई प्रदान गरिने भएको छ। उक्त पुरस्कारको राशि रु. पाँच हजार छ।
मञ्चले विगत ६ वर्षदेखि विभिन्न व्यक्तिलाई उक्त पुरस्कारबाट सम्मान गर्दै आएको छ। क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार भने गत वर्षदेखि प्रदान गर्न थालिएको थियो। पहिलो वर्ष उक्त पुरस्कार वरिष्ठ साहित्यकार डा. रामप्रसाद ज्ञवालीलाई प्रदान गरिएको थियो।