पश्चिम नेपालमा नटरेको भूकम्पको जोखिम
५०० वर्षयता शक्तिशाली भूकम्प नगएको पश्चिम नेपालको भूगर्भमा सञ्चित ऊर्जा जाजरकोट भुइँचालोले निष्कासन हुन सकेको छैन। त्यसैले भूवैज्ञानिकहरू पश्चिम नेपालमा महाभूकम्पको जोखिम यथावत् रहेको मान्छन्।
गत शुक्रबारयता देशको पश्चिमी भागमा केन्द्रबिन्दु बनाएर एकपछि अर्को कम्पन आइरहेको छ। जाजरकोट र बाजुरा केन्द्रबिन्दु गरेर एक दर्जन जति चार म्याग्निच्यूडभन्दा ठूला भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्यांक छ।
गत शुक्रबार रातिको ६.४ म्याग्निच्यूडको भूकम्पले त जाजरकोट, रुकुम पश्चिम सहितका जिल्लामा ठूलै क्षति निम्त्यायो। गृह मन्त्रालयका अनुसार भूकम्पमा परी १५३ जनाको ज्यान गयो भने ३५ हजारभन्दा धेरै घरमा क्षति पुग्यो। यसमध्ये आधा जति त पूर्ण रूपमा ध्वस्त भए। यो क्षति २०७२ को गोरखा भूकम्पयताकै ठूलो हो।
भूकम्पबारे अध्ययन गर्दै आएका विज्ञहरूले पश्चिम नेपालमा ५०० वर्षभन्दा लामो अवधिदेखि ठूला भूकम्प नगएकाले त्यस क्षेत्रमा जोखिम बढिरहेको बताउने गरेका थिए। भारतीय र यूरेशियन प्लेटको घर्षणबाट निस्किएको शक्ति जमीनमुनि जम्मा भइरहेकाले विनाशकारी कम्पन निम्तिन सक्ने चेतावनी उनीहरूले दिने गरेका थिए। अर्थात्, जमीनमुनि भइरहेको ठूलो खलबलीको परिणाम बाहिर निस्कन पाएको छैन। उसो भए के अहिलेको भूकम्पले जमीनमुनि सञ्चित त्यस्तो शक्तिलाई मोचन गर्यो त?
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी अहिलेको भूकम्पले पश्चिम नेपालमुनि जम्मा भएको ठूलो शक्ति क्षयीकरण नभएको बताउँछन्। उनी भन्छन्, “अहिलेको भूकम्प मझौला खालको मात्रै हो, यसले जमीनमुनि सञ्चय भएर बसेको शक्तिलाई बाहिर निकालेको छैन।” पश्चिम नेपालको अहिलेको भूकम्प गोरखा भूकम्पको परकम्प पनि नभएको अधिकारी बताउँछन्।
भूकम्पविद्हरू ६ म्याग्निच्यूडमुनिका भूकम्पलाई साना कम्पनका रूपमा मान्छन्। ६ देखि ७ म्याग्निच्यूडसम्मका भूकम्पलाई मझौला र ७ देखि ८ म्याग्निच्यूडसम्मका भूकम्पलाई शक्तिशाली वर्गमा राख्छन्। ८ भन्दा माथि म्याग्निच्यूडका भूकम्पलाई महाभूकम्पका रूपमा राखिने अधिकारी बताउँछन्। पश्चिम नेपालमा महाभूकम्प नै निम्त्याउन सक्ने शक्ति जमीनमुनि सञ्चय भएर बसिरहेकाले अहिलेको भूकम्पले त्यस्तो शक्ति बाहिर निकाल्न खासै भूमिका नखेलेको अधिकारी बताउँछन्। त्यसैले उनी पश्चिम नेपालमा महाभूकम्प आउन सक्ने जोखिम यथावतै रहेको मान्छन्।
पश्चिम नेपालमा ठूलो भूकम्प नगएको ५०० वर्ष नाघिसकेको छ। त्यस भेगमा पछिल्लो पटक सन् १५०५ मा महाभूकम्प गएको थियो। पाँच शताब्दी पहिले गएको भूकम्पले कहाँ र कस्तो असर पारेको थियो भन्ने अभिलेख छैन। तर भारतीय र यूरेशियन प्लेटको घर्षण जारी रहेकाले आठ म्याग्निच्यूडभन्दा ठूलो भूकम्प पश्चिम नेपालमा आउन सक्ने जोखिम रहेको डा. अधिकारी बताउँछन्। भारतीय उपमहाद्वीपको भूगर्भको चट्टानको तह उत्तरतिर सरेर यूरेशिएन प्लेटमा धसिइरहेका कारण सिङ्गो हिमालय क्षेत्र भूकम्पीय जोखिममा रहेको विज्ञहरूले बताउने गरेका छन्।
भूकम्पविद्हरू एक म्याग्निच्यूडको भूकम्प ३२ गुणा शक्तिशाली हुने बताउँछन्। अर्थात्, ६ म्याग्निच्यूडको भूकम्प जाँदा जमीनमुनिबाट जति शक्ति निष्कासन हुन्छ, सात म्याग्निच्यूडको भूकम्प जाँदा ३२ गुणा धेरै शक्ति निस्किन्छ। अर्थात्, ६ म्याग्निच्यूडका ३२ वटा भूकम्पले निकाल्ने शक्ति सात म्याग्निच्यूडको एउटै भूकम्पले जमीनमुनिबाट निकाल्छ।
आठ म्याग्निच्यूडको भूकम्प जाँदा अर्को ३२ गुणा शक्ति क्षय हुन्छ। यसको अर्थ ६ म्याग्निच्यूडको तुलनामा आठ म्याग्निच्यूडको भूकम्प जाँदा एक हजार २४ गुणा धेरै शक्ति मोचन हुन्छ। जति ठूलो भूकम्प गयो उति धेरै भूगर्भमा सञ्चित ऊर्जा बाहिर निस्किन्छ। “महाभूकम्प नै ल्याउने शक्ति पश्चिम नेपालमा सञ्चित भएर बसेको छ, त्यसैले अहिलेको ६.४ म्याग्निच्यूडको भूकम्पले निष्कासन गरेको शक्ति त सानो टुप्पो सरह मात्रै हो,” अधिकारी भन्छन्।
त्यसो त पश्चिम नेपालमा मात्रै होइन, राजधानी काठमाडौं वरपर पनि शक्तिशाली भूकम्पको जोखिम टरेको छैन। गोरखा केन्द्रबिन्दु भएको २०७२ सालको ७.८ म्याग्निच्यूडको भुइँचालोले गोरखादेखि दोलखा-रामेछापसम्मको करीब १५० किमी क्षेत्रफलसम्मको भूसतहमुनि सञ्चित शक्ति निकालेको थियो। तर भूकम्पविद्हरूका अनुसार काठमाडौंभन्दा दक्षिणतिरको जमीनमुनि सञ्चय भएर बसेको शक्ति मोचन भएको छैन।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइराला चुरेसम्म चिरिएर निष्कासन हुनुपर्ने शक्ति काठमाडौंको दक्षिणभन्दा तलतिर सञ्चय भएर बसेको बताउँछन्। यसले गर्दा काठमाडौं र वरपर भूकम्पको जोखिम यथावत् छ। यद्यपि गोरखा भूकम्प र त्यसपछि लगातार आइरहेका परकम्पले जमीनमुनि जम्मा भएको भूकम्पीय शक्तिलाई क्षीण बनाइरहेको कोइराला बताउँछन्।
गोरखा भूकम्पपछि दोलखा, सिन्धुपाल्चोक, धादिङ, रसुवा जिल्ला केन्द्रबिन्दु भएर चार म्याग्निच्यूडभन्दा ठूला सयौं भूकम्प गइरहेका छन्। यी सबैलाई भूकम्पविद्हरू गोरखा भूकम्पकै परकम्प मान्छन्। कोइराला भन्छन्, “गोरखा भूकम्पले यस क्षेत्रको भूसतहमुनि जम्मा भएको भूकम्पीय शक्ति क्षीण बनाएको त हो तर त्यस्तो शक्ति ननिख्रिइसकेकाले फेरि पनि ठूलो भूकम्प नआउला भन्न सकिंदैन।”
त्यसो त हरेक दिन नेपालमा सरदर १०-१५ वटा भूकम्प गइरहेको विज्ञहरूले बताउने गरेका छन्। तर तीमध्ये सर्वसाधारणले महसूस गर्ने कम्पन थोरै मात्र हुन्छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले चार म्याग्निच्यूडभन्दा ठूला भूकम्पको अभिलेख मात्रै सार्वजनिक गर्छ।
केन्द्रको तथ्यांक अनुसार २०५० सालयताको तीन दशकमा चार म्याग्निच्यूडभन्दा ठूला भूकम्प नेपालमा झन्डै एक हजार २०० हाराहारीमा गइसकेको छ। २०७२ को गोरखा भूकम्पपश्चात् मात्रै झन्डै ७७५ हाराहारीमा गएका भूकम्पमध्ये अधिकांश दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, बझाङ जस्ता जिल्लालाई केन्द्र बनाएर गएका छन्। दोलखा केन्द्रबिन्दु बनाएर मात्रै १९० हाराहारीमा भूकम्प गएका छन्।
देशको पूर्वी भागमा १९९० सालयता ठूलो भूकम्प गएको छैन। मध्यभागमा २०७२ को भूकम्पले केही अंशमा शक्ति क्षयीकरण गरे पनि अझै पनि ठूलो शक्ति भूगर्भमा सञ्चित छ। पश्चिमतिर त पछिल्लो ५०० वर्षयता ठूला भूकम्प नै गएको छैन। त्यसैले कहिले कति शक्तिशाली भूकम्प बनेर निस्किन्छ, कसैलाई थाहा छैन।
सारमा, भारतीय उपमहाद्वीप र यूरेशियन क्षेत्रको चट्टानका तहहरू आपसमा धसिने क्षेत्रको केन्द्रमा पर्ने सिङ्गो हिमाली भूभाग सधैं भूकम्पको उच्च जोखिममा छ। ठूला भूकम्प जान जति समय लाग्यो, उति बढी शक्ति जमीनमुनि सञ्चय भएर बस्छ र कालान्तरमा सञ्चित ऊर्जा पनि थपिने भएकाले थप शक्तिशाली भूकम्प जाने जोखिम बढ्छ। त्यसको क्षतिको परिमाण पनि सोही अनुसार बढ्ने हुन्छ।
साधारणतया भूकम्पको मान (म्याग्निच्यूड), कति गहिरो केन्द्रबिन्दुबाट भूकम्प आएको हो भन्ने गहिराइ, स्थानीय भौगर्भिक बनोट र भूकम्पको दिशाले यसको असर कति पर्छ भन्ने निर्क्योल गर्छ। जति बढी म्याग्निच्यूडको आयो र जति भूसतहको नजिक केन्द्रबिन्दु भएर आयो उति बढी हल्लाउँछ। भूकम्पविद् अधिकारी साधारणतया ६ म्याग्निच्यूडभन्दा सात म्याग्निच्यूडको भूकम्पले १० गुणा बढी कम्पन हुने बताउँछन्। यस्तै, ६ म्याग्निच्यूडको सट्टा आठ म्याग्निच्यूडको भूकम्पले १०० गुणा बढी हल्लाउने जोखिम हुने उनको तर्क छ।
नेपालमा भूकम्पीय जोखिम अवश्यम्भावी भएकाले भूवैज्ञानिकहरू बारम्बार पूर्वतयारीमा ध्यान दिन सुझाउँछन्। खासगरी सुरक्षित भवन र संरचना निर्माण, बसोबासको तरीकालाई सुरक्षित बनाउने बाहेक अर्को विकल्प नभएकाले भूकम्पबाट हुन सक्ने भौतिक तथा मानवीय क्षति कम गर्न जोखिमको प्रभाव मूल्यांकन गरी निर्माण सम्बन्धी मापदण्ड तयार गर्ने र कार्यान्वयन गर्ने विकल्प मात्रै समाधान भएको उनीहरूको निष्कर्ष छ।