सदरमुकाममै थन्कियो राहत
एकद्वार प्रणाली मार्फत राहत वितरण गर्न खोज्दा भूकम्पपीडितसम्म पुग्न नसकी सदरमुकाममै थन्किएको छ।
जाजरकोटको भेरी नगरपालिका-३, स्याँलाका मीनबहादुर विकको परिवार राहतको पर्खाइमा छ। गत शुक्रबारको भूकम्पले घर चर्किएपछि उनीहरू घर नजिकै बारीमा त्रिपाल राखेर बस्दै आएका छन्।
“डर लाग्ने भएकाले घरमा पुरिएका सामान निकाल्न पनि सकिंदैन,” मीनबहादुरले भने, “राहत दिनेले पनि छिटो दिए हुन्थ्यो।”
भूकम्पले घर पूर्ण रूपमा क्षति भएका गणेश खत्रीको परिवारले पनि अहिलेसम्म त्रिपाल र अन्य राहत सामग्री पाएको छैन। “यतिका दिन बितिसक्यो, अहिलेसम्म राहत सामग्री पाउन सकिएको छैन,” खत्री भन्छन्, “बाहिरबाट गाडीमा र हेलिकोप्टरमा आएको छ भन्छन् तर हाम्रो हातमा परेको छैन।”
नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत केही स्थानमा त्रिपाल पठाइसकेको र बाँकी स्थानमा पनि पठाइने बताउँछन्। “हाम्रो पालिकामा ९० प्रतिशत घरका मानिस बाहिर बस्नुपर्ने अवस्था छ। आइतबारसम्म घाइतेको उपचार र दाहसंस्कारमा व्यस्त भयौं,” रावतले भने, ‘अबदेखि राहत वितरणको काममा ध्यान दिन्छौं। केही ठाउँमा त्रिपाल पठाइसकेका छौं, अरूमा पनि जाने क्रम शुरू हुन्छ।”
रावतका अनुसार अहिलेसम्म पालिकामा ७४५ त्रिपाल तथा त्यस्तै मात्रामा अरू सामान पुगेका छन्। आवश्यकता अनुसार सामग्री भने नआइपुगेको उनले बताए। आफूले प्रमुख जिल्ला अधिकारीलाई राहत सामग्री छिटो पठाइदिन आग्रह गरेको पनि उनले बताए।
यस्तै, बारेकोट गाउँपालिकाका प्रमुख वीरबहादुर गिरीले राहतसँगै मनोपरामर्श पनि आवश्यक रहेको बताउँछन्।
यता, सरकार लगायत विभिन्न क्षेत्रबाट आएको राहत सामग्री भने सदरमुकाम खलंगामा थन्किएको छ। सदरमुकाममा राहत बुझ्ने काम प्रशासन र स्थानीय तहले गरिरहेका छन्। सदरमुकाममा थुप्रिएको राहत एकद्वार प्रणालीमा वितरण गर्न खोज्दा प्रभावितसम्म पुग्न सकेको छैन।
आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसी राहत एकद्वार प्रणाली मार्फत वितरण गर्न खोजिएको बताउँछन्। “अहिले प्राप्त राहतभन्दा पनि माग धेरै छ,” उनी भन्छन्, “हामीले बढी प्रभावितलाई पहिला र त्यसपछि कम प्रभावितलाई क्रमशः राहत बाँड्न लागेका छौं। यस कारण पनि जनगुनासा आएका छन्।”
उनले मृतक तथा पूर्ण रूपमा घर क्षति भएकालाई अगाडि र घर भएका तर चर्किएकालाई पछि राहत बाँड्ने काम भइरहेको बताए। उनका अनुसार २० हजार नागरिकलाई पुग्ने राहत जम्मा भएको छ तर माग त्यसको दोब्बर भएको हुनाले पनि वितरणमा समस्या छ।