इजरायली बमबारीको विरोधमा रूपी कौरले गरिन् ह्वाइट हाउसको निम्तो अस्वीकार
कौर भन्छिन्- ‘संसारको कुनै पनि कुनामा सरकारले मानिसहरूलाई अमानवीय व्यवहार गर्छ भने न्यायको माग गर्नु नै हाम्रो नैतिक कर्तव्य हुन्छ। नडराऔं। संसारसँगै उभिएर युद्धविरामको माग गरौं।’
भारतीय मूलकी विश्वप्रसिद्ध क्यानेडियन कवि रूपी कौरले अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसले गरेको निम्ता अस्वीकार गरेकी छन्। गाजामा इजरायलले गरिरहेको बमबारीलाई अमेरिकी राष्ट्रपति जो बाइडेन सरकारले समर्थन गरेको विरोधमा उपराष्ट्रपति कमला ह्यारिसले दीपावलीको अवसरमा आयोजना गरेको कार्यक्रममा उपस्थितिका लागि पठाइएको निमन्त्रणा उनले अस्वीकार गरेकी हुन्।
‘यही ८ नोभेम्बरमा उपराष्ट्रपतिले आयोजना गर्नुहुने दिवाली कार्यक्रममा बाइडेन प्रशासनबाट मलाई निमन्त्रणा पठाइएको थियो। चेपुवामा परेका साधारण मानिस (जसमध्ये ५० प्रतिशत बालबालिका छन्)माथि भएको आक्रमणलाई समर्थन गर्ने कुनै पनि संस्थाले पठाउने निमन्त्रणा म अस्वीकार गर्छु,’ सामाजिक सञ्जाल एक्स मार्फत दुई पृष्ठको विज्ञप्ति सार्वजनिक गर्दै उनले बताएकी छिन्।
‘आज अमेरिकी सरकारले गाजामाथि भइरहेको बमबारीलाई सहयोग उपलब्ध मात्र गराइरहेको छैन, प्यालेस्टिनी जनताको नरसंहारको औचित्य पुष्टि गर्ने निरन्तर प्रयास गरिरहेछ। संयुक्त राष्ट्रसंघ, डक्टर्स विद्आउट बोर्डर्स, रेड क्रस जस्ता संस्था र अन्य थुप्रै देशहरूले गाजामा मानवीय युद्धविरामको आह्वान गर्दा पनि उनीहरूले अस्वीकार गरिरहेछन्। १० हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन्। त्यसमध्ये ७० प्रतिशतभन्दा बढी महिला र बालबालिका छन्। ...यस्तो अवस्थामा टेबलमा शान्तपूर्वक बस्न सकिंदैन,’ कौरको विज्ञप्तिमा उल्लेख छ।
उनले आफ्नो विज्ञप्तिमा अमानवीय व्यवहारको विरोध र न्यायको पक्षमा आवाज उठाउन अनुरोध समेत गरेकी छन्। ‘संसारको कुनै पनि कुनामा सरकारले मानिसहरूलाई अमानवीय व्यवहार गर्छ भने न्यायको माग गर्नु नै हाम्रो नैतिक कर्तव्य हुन्छ। नडराऔं। संसारसँगै उभिएर युद्धविरामको माग गरौं। तपाईं बोल्नुभयो भने तपाईंसँग स्वरमा स्वर मिलाउने हजारौं हुनेछन्। मागपत्रमा हस्ताक्षर गरौं। प्रदर्शनमा सहभागी बनौं। बहिष्कार गरौं। र, भनौं- नरसंहार बन्द गर।’
कवि कौरका मिल्क एन्ड हनी, होम बडी जस्ता कवितासंग्रह लोकप्रिय छन्।