भूकम्पले परिवार खोस्दा एक्लै परिन् सरस्वती
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४, छेपारेकी सरस्वती जैसीले भूकम्पमा परिवारका चार सदस्य गुमाएकी छन्।
तीन दिन भयो, ६० वर्षीया सरस्वती जैसी घरी टोलाउने घरी बर्बराउने गर्छिन्। रुँदारुँदा थाकिसकिन्। सान्त्वना दिने मान्छे पनि थाकिसके। सघाउने छिमेकीहरू आफ्नै चटारोमा छन्। बूढीआमाको ख्याल राख्ने आफन्त छैनन्।
आँखा चिम्म पारेर पीडा निचोर्ने प्रयास गर्छिन् सरस्वती वेलाबखत। अनि आकाशतिर फर्किंदै भन्छिन्, “परिवारै सखाप पारेर म एक्लैलाई किन बचायौ भगवान्?”
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१४, छेपारे गाउँकी बासिन्दा हुन् सरस्वती। ४० वटा घर रहेको यो गाउँमा गत शुक्रबार रातिको भूकम्पमा ११ जनाले ज्यान गुमाए। सरस्वतीले मात्रै परिवारका चार सदस्य गुमाइन्- २८ वर्षीया बुहारी, दुई वर्षका नाति अनि ६ र आठ वर्षका दुई नातिनी।
छोरा वैदेशिक रोजगारीका लागि भारतमा रहेकाले जोगिए। घर र परिवार ढलेको थाहा पाएपछि उनी गाउँ फर्कंदै छन्। “अब छोरालाई के भन्नु, के जवाफ दिनु,” सरस्वती भक्कानिंदै भन्छिन्।
ढुंगामाटाले बनेको दुईतले घर थियो उनीहरूको। सरस्वती दुई नातिनीसँग माथिल्लो तलामा सुतेकी थिइन्। बुहारी र नाति भुइँ तलामा।
सरस्वती जैसीको भत्किएको घर
भूकम्पपछि गाउँका सबै जना आआफ्नो घरमा पुरिएकालाई उद्धार गर्न थाले। सरस्वतीको घरमा महिला र केटाकेटी मात्र थिए। ती पनि सबै पुरिएका।
तत्काल उद्धार गर्ने कोही थिएन। करीब आधा घन्टापछि छिमेकी खडक विक पुगे। सरस्वती भित्रबाट गुहार मागिरहेकी थिइन्। खडक र अरू छिमेकी मिलेर करीब एक घन्टापछि बाहिर निकाले। यति वेला सरस्वती बेहोश भइसकेकी थिइन्।
होश खुलेपछि मात्र बुहारी र नातिनातिना सधैंलाई छाडेर गइसकेको थाहा पाइन्। “समयमै उद्धार भएको भए परिवारका अरू पनि बाँच्थे कि?” खडक भन्छन्।
छोरा भारतबाट आइनसकेकाले बुहारी र नातिनातिनाको किरिया सरस्वतीका देवरले गरिरहेका छन्।
किरिया बसेका सरस्वतीका देवर
भेरी नदी किनारको छेपारे गाउँका सबैजसो घर कि भत्किएका कि बस्नै नमिल्ने गरी चर्किएका छन्। हिमालखबरको टोली पुग्दा मानिसहरू जीर्ण घर र भग्नावशेषबाट लत्ताकपडा र भाँडा निकाल्ने प्रयास गरिरहेका थिए। बारीमा हालिएका पालमा महिला-केटाकेटी टोलाइरहेका थिए। जाडो कसरी काट्ने र के खाने भन्ने चिन्तामा रहेका उनीहरूले भरपर्दाे राहत पाएका छैनन्।
लालबहादुर कामी सरस्वतीकै घरछेउ बस्छन्। उनीसँगै उनका श्रीमती र छोरा पनि घरले पुरिएका थिए। छिमेकीले दुई घण्टापछि उनीहरूलाई बाहिर निकाले। मानवीय क्षति नभए पनि उनका लैनो भैंसी, पाडो र कुखुरा बचेनन्। भन्छन्, “सात वर्षअघि १५ लाख ऋण गरेर बनाएको घर माटामै मिल्यो।”
भूकम्पबाट लागेको चोट देखाउँदै लालबहादुर कामी
ज्याला-मजदूरी गर्न भारत गइरहने लालबहादुरले त्यही आम्दानीले घर ठड्याएका थिए। गत भदौमा एक लाख ५० हजार तिरेर लैनो भैंसी किनेका थिए। भैंसीको दूध-घ्यू बेचेर ऋण तिर्ने र आफ्नै गाउँमा इलम गर्ने उनको धोको थियो। भूकम्पले फेरि मजदूरी गर्न भारत जानुपर्ने अवस्थामा ल्याइदिएको छ। “ऋणमाथि ऋण थियो, भूकम्पले झनै पीडा थपिदियो,” लालबहादुरले भने।
लालबहादुरको भग्न घर र मृत भैंसी
यो गाउँका अधिकांशको कमाइको स्रोत भारतीय रोजगारी हो। नत्र चुलो बल्दैन। जाडो शुरू भइसक्यो। पालमुनि हिउँदा झेल्नु निकै कष्टकर हुनेछ। बिहान-बेलुकी छाक टार्नै मुश्किल छ। त्यसमाथि अब अर्को चिन्ता थपिएको छ- घर कसरी बनाउने? “खान-लाउनको समस्या एकातिर छँदै छ, घर नहुँदा झनै पीडा थपिएको छ,” स्थानीय प्रजित विक भन्छन्।
भूकम्पले घर बस्नै नसक्ने बनाएपछि खुला आकाशमुनि लगाइएको ओछ्यान
थप स्थलगत रिपोर्ट:
१३ जनाको दाहसंस्कार गर्न मलाम हिंडेको चिउरी गाउँ
भग्न घर अगाडि टोलाइरहेकी टुहुरी प्रेमकली
परदेशीलाई पर्खिरहेका शव
खुला आकाशमुनि नै बिताए भूकम्पपीडितले तेस्रो रात