लुम्बिनीबाट गुटेरेसले दिएको सन्देश
लुम्बिनीलाई व्यावहारिक रूपमै विश्व शान्तिको प्रतीक बनाएर संयुक्त राष्ट्रसंघ आफ्नो मिसन अगाडि बढाउन चाहन्छ। यो भनेको नेपाललाई विश्वमञ्चमा उभिने राम्रो अवसर हो।
नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गौतम बुद्धको जन्मस्थल एवं विश्व सम्पदा क्षेत्र लुम्बिनी पुगेर “बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्रसंघको ‘मिसन’ मिल्दाजुल्दा छन्। यो शान्तिको मुहान लुम्बिनी घुमौं र यहाँबाट सबैले सिकौं” भन्ने अभिव्यक्ति दिएका थिए। यो अभिव्यक्ति औपचारिकताका लागि व्यक्त गरिएको मन्तव्य वा लुम्बिनीको प्रशंसा मात्र होइन।
संयुक्त राष्ट्रसंघको बडापत्रको पहिलो धारामा मानव अधिकारका आधारभूत सिद्धान्तलाई समावेश गरिएको छ। यसैका आधारमा निर्माण गरिएका विभिन्न दस्तावेजबाट मानव अधिकारलाई सुनिश्चित र व्यवस्थित गर्ने काम भएको छ। महासचिव गुटेरेसको अभिव्यक्तिले पनि राष्ट्रसंघले बौद्ध धर्म-दर्शनलाई आत्मसात् गरेको पाइन्छ।
बुद्धको शिक्षा र राष्ट्रसंघको ‘मिसन’ मा सामञ्जस्य
विशुद्ध दार्शनिक दृष्टिमा बौद्ध धर्म-दर्शन जीवन र जगत्लाई हेर्ने एउटा चिन्तन पद्धति हो। सबै प्राणी दुःखमा पिल्सिएको मान्यता राख्ने यो दर्शनको एक मात्र ध्येय दुःखको अन्त्य हो। बुद्धका अनुसार हामीमा भएको तृष्णाले नै दुःखका प्रपञ्चको निर्माण गर्ने हो। तसर्थ, तृष्णालाई क्षय गर्दा दुःखको पनि अन्त्य हुन्छ।
शान्तिको बुझाइ सबैको एउटै हुँदैन तर सबै शान्तिकै कुरा गरिरहेका हुन्छन्। अन्यायमा परेका अधिकारविहीन, शक्तिहीन, विवश र लाचार व्यक्ति वा समूहलाई बोल्नै नसक्ने गरी दबाएर राख्नु नै कसैको दृष्टिमा शान्ति कायम भएको होला। तर त्यही दबाब भविष्यमा अशान्तिको कारण बन्न सक्छ।
बुद्धकालीन समाज विसंगतिपूर्ण थियो। आफ्नो शिक्षा फैलाउँदा समाजमा सामना गर्नुपरेका बाधाअड्चन पन्छाउने क्रममा अन्यायका सवालमा पनि बोल्नुपर्ने भयो, जुन आजभोलिको भाषामा मानव अधिकारसँग सम्बन्धित छन्।
तत्कालीन समाजमा वर्णमा आधारित जातीय विभेद थियो। बुद्धले त्यसको अनौचित्यबारे प्रखर रूपमा बोले। जातिवादीहरू बुद्धसँग रुष्ट भए। बुद्धले महिला र पुरुषबीचको विभेदको पर्खाललाई पनि भत्काइदिए। समस्त प्राणीमाथि मैत्री तथा करुणाको भाव विना बौद्ध धर्म-दर्शनको अभ्यास सम्भव नै नहुने कुरालाई अगाडि सारेर मानव समाजमा निहित अनेकौं विभेद तथा दुर्व्यवहारलाई निरुत्साहित गरे। अदृश्य शक्तिको सत्तालाई ठाडै अस्वीकार गर्दै सर्वोत्कृष्ट गति मानव जातिको रहेको मान्यता पनि स्थापित गरिदिए।
दोस्रो विश्वयुद्धले आक्रान्त विश्वलाई मल्हमपट्टी लगाउने तथा भविष्यमा त्यस्तै खालको युद्ध फेरि नहोस् भन्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको स्थापना भएको हुँदा उसको केन्द्रीय चासो पनि मानव जाति नै हुने गर्दछ। यस अर्थमा बुद्धको शिक्षा र राष्ट्रसंघको ‘मिसन’ मा सामञ्जस्य देखिएको हो।
मानव अधिकारको प्रवर्द्धन तथा बहालीले बुद्धको शिक्षालाई जीवन्त बनाउँछ। यस हिसाबले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउने महासचिव गुटेरेसले ‘शान्ति र मानवता अपरिहार्य विषय हुन् र मानवीयता मर्न दिनु हुन्न’ भन्नु स्वाभाविक हो।
नेपाल भ्रमणका क्रममा कात्तिक १४ गते लुम्बिनी पुगेका गुटेरेसले त्यहाँबाटै इजरायल, प्यालेस्टाइन, युक्रेन, सुडान लगायत देशमा भएको द्वन्द्व अन्त्य गर्न पनि आह्वान गरे। युद्धबाट बिरक्तिएर बौद्ध धर्म अपनाएका मौर्य साम्राट् अशोकले अभिलेख सहित ठड्याएको स्तम्भकै मुनि आयोजित पत्रकार सम्मेलनमा गुटेरेसले भनेका थिए, “संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आह्वान गर्छु।”
शान्तिको बुझाइ सबैको एउटै हुँदैन तर सबै शान्तिकै कुरा गरिरहेका हुन्छन्। अन्यायमा परेका अधिकारविहीन, शक्तिहीन, विवश र लाचार व्यक्ति वा समूहलाई बोल्नै नसक्ने गरी दबाएर राख्नु नै कसैको दृष्टिमा शान्ति कायम भएको होला। तर त्यही दबाब भविष्यमा अशान्तिको कारण बन्न सक्छ।
गौतम बुद्धलाई शान्तिसँग सम्बन्धित गरेर बुझ्ने गरिए पनि बुद्धको भाष्यमा यो शान्ति नै होइन। बुद्धका अनुसार तृष्णाले व्यक्तिको मन तृप्त हुँदैन। बरु थप तृष्णाको माग गर्छ। यही तृष्णापूर्ति गर्ने क्रममा व्यक्तिले अनन्त दुःख भोग्नुपर्ने हुन्छ। परिवार, समाज तथा राष्ट्र राष्ट्रबीचको वैमनस्यको जड पनि तृष्णा नै हुने गर्छ। होशमा रहनमा बुद्ध जोड दिन्छन् र होशमा नै मैत्री र करुणाको भाव उत्पन्न हुने हो।
लुम्बिनीका सन्दर्भमा राज्यमाथि तेर्सिएको प्रश्न
गुटेरेस राष्ट्रसंघको महासचिवका रूपमा लुम्बिनी भ्रमणमा आउने छैटौं महासचिव हुन्। यसअघि राष्ट्रसंघको महासचिवका रूपमा ड्याग ह्यामरकेजोल्ड, ऊ थान्त, ज्याभियर पेरेज डी कुइलर, कर्ट वाइल्डहाइम र वान की मुनले लुम्बिनीको भ्रमण गरेका थिए।
सन् १९६७ मा राष्ट्रसंघका महासचिव ऊ थान्तले भ्रमण गरेका वेला लुम्बिनी अत्यन्तै उपेक्षित थियो। त्यहाँ पुग्न भारतको बाटो प्रयोग गर्नुपर्थ्यो। त्यस्तै, त्यहाँ पुग्नेहरूलाई पनि खानबस्नकै समस्या हुन्थ्यो। पिउने पानी तथा शौचालयको पनि बन्दोबस्त थिएन। लुम्बिनीको नाजुक स्थिति देखेपछि महासचिव धुरुधुरु रोएका थिए।
त्यस वेला लुम्बिनीको सेवा गर्न बसेका भिक्षु अनिरुद्ध महास्थवीरलाई उनले केही चन्दा दिएका थिए। त्यसबाट बनेको शौचालय र अतिथिगृह अझै देख्न पाइन्छ। लुम्बिनीबाट फर्केर काठमाडौं आएपछि महासचिवले तत्कालीन राजा महेन्द्रलाई लुम्बिनीको विकासमा ध्यान दिन अनुरोध गरे। लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्रसंघमा एउटा कमिटी नै पनि बनाए।
योजनाबद्ध विकासका लागि संयुक्त राष्ट्रसंघकै संयोजनमा प्रसिद्ध आर्किटेक्ट प्रो. केन्जो टांगेलाई गुरुयोजना बनाउन लगाइयो र लुम्बिनीको वर्तमान स्वरूप त्यही गुरुयोजना अनुसारै बनेको हो।
तर गुरुयोजना अनुसारको काम हालसम्म पनि सम्पन्न नहुनुले लुम्बिनीका सम्बन्धमा नेपाल राज्यप्रति प्रश्न तेर्सिएको दशकौं भइसक्यो। जुन जवाफ अहिलेसम्म पनि पाउन सकिएको छैन।
लुम्बिनीलाई विश्व शान्तिको मुहान त भनिएकै छ। व्यावहारिक रूपमा पनि यसलाई विश्व शान्तिको एउटा प्रतीक बनाएर संयुक्त राष्ट्रसंघ आफ्नो मिसनलाई अगाडि बढाउन चाहन्छ। यो भनेको नेपाललाई विश्वमञ्चमा उभिने राम्रो अवसर हो।
लुम्बिनी सम्बन्धी शुरूदेखिका कामकारबाहीको सूक्ष्म ढंगले अध्ययन गर्दा राज्यव्यवस्था परिवर्तन भए पनि लुम्बिनीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको र बाध्यतावश मात्रै लुम्बिनीका लागि बजेट विनियोजन गर्नुपरेको देखिन्छ। राज्यकै आडभरोसामा लुम्बिनीमा बौद्ध भावना विपरीत गतिविधि भइरहको तथा गलत गतिविधिमा संलग्न हुनेलाई कारबाही नगरिएको सूची लामो नै बन्छ।
बौद्ध विषयवस्तुलाई उपेक्षा गरेर लुम्बिनीलाई जीवन्त बनाउन सकिंदैन। यो तथ्यलाई राज्यले आत्मसात् गर्न नसकेको देखिन्छ।
नेपाललाई विश्वमञ्चमा उभिने अवसर
ऐतिहासिक, सांस्कृतिक तथा मानवीय मूल्यका आधारमा विभिन्न सम्पदालाई संयुक्त राष्ट्रसंघको एक निकाय यूनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने गर्छ। लुम्बिनीलाई सन् १९९७ मा यस सूचीमा सूचीकृत गरिएको थियो। त्यसको अर्थ हो- लुम्बिनी स्थानीय तथा राष्ट्रिय साथै विश्वको पनि निधि हो।
जसरी शान्ति, मानवीयता तथा मेलमिलापका मामिलामा बौद्ध धर्मलाई विश्वले नै आत्मसात् गर्छ, बौद्ध धर्मसँग सम्बन्धित भएको र बौद्ध विषयवस्तुले नै जीवन्त राख्ने भए पनि लुम्बिनीमा सबै धर्मावलम्बीको उत्तिकै श्रद्धा छ। यसकारण लुम्बिनीबाट ‘बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्रसंघको ‘मिसन’ मिल्दाजुल्दा छन्’ भन्नुले गहन अर्थ बोकेको छ।
महासचिव गुटेरेसको लुम्बिनी भ्रमण त्यस्तो वेला भयो जब इजरायल र प्यालेस्टाइनबीच युद्ध चर्किरहेको मात्रै थिएन, यसैका कारण विश्वका प्रमुख शक्तिशाली राष्ट्रहरू दुई ध्रुवमा ध्रुवीकृत भइरहेका थिए। अर्थात्, गुटेरेसको अभिव्यक्तिले दिएको अर्को सन्देश हो- विश्व शान्तिको स्थापनामा संयुक्त राष्ट्रसंघले नेपालको अर्थपूर्ण भूमिका खोजिरहेको छ।
बौद्ध धर्म-दर्शनमा साधकलाई चतुब्रह्मविहारको विकास गर्न भनिन्छ। सबैसँग सद्भाव राख्ने मैत्री, अरूको आपत्विपत्लाई आफ्नै रूपमा ग्रहण गर्ने करुणा, अरूको खुशीमा खुशी हुने भाव मुदिता र तटस्थ हुने भाव उपेक्षा नै चतुब्रह्मविहार हो।
बौद्ध साधनाका लागि यो आन्तरिक गुण अनिवार्य मानिन्छ। यी चार गुणको अभावमा नै व्यक्ति तथा विश्व आक्रान्त हुने हो। सर्वसाधारण बौद्धले पनि दैनिक रूपमा पालना गर्नुपर्ने पञ्चशील तथा अष्टांगिकले मानव अधिकारको रक्षा तथा विश्व शान्तिसँग अन्योन्याश्रित सम्बन्ध राख्छ। बहुआयामिक बुद्धका शिक्षामा नेतृत्व विकासका लागि चाहिने कुरा पनि प्रशस्त पाइन्छ।
लुम्बिनीलाई विश्व शान्तिको मुहान त भनिएकै छ। व्यावहारिक रूपमा पनि यसलाई विश्व शान्तिको एउटा प्रतीक बनाएर संयुक्त राष्ट्रसंघ आफ्नो मिसनलाई अगाडि बढाउन चाहन्छ। यो भनेको नेपाललाई विश्वमञ्चमा उभिने राम्रो अवसर हो। महासचिव गुटेरेसले आफ्नो भ्रमणको अवसरमा लुम्बिनीबाट शान्तिको जुन सन्देश दिए, त्यसको निहित अर्थ यही हो।
याे पनि: पीडक जोगाउने स्वार्थमा गुटेरेसको खबरदारी!