भूकम्पपीडितलाई भेरी अस्पतालमा मनोसामाजिक परामर्श
भूकम्पमा परी घाइते भई उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएका बिरामीहरूका लागि मनोसामाजिक परामर्श तथा उपचार सेवा थालिएको छ।
भूकम्पबाट घाइते, शारीरिक चोट लागेका र परिवारका सदस्य गुमाएकाहरू तथा कुरुवाका लागि मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग विशेषज्ञ तथा मनोसामाजिक परामर्श तालीमप्राप्त दुई चिकित्सक र एक नर्सको व्यवस्था गरिएको जिल्ला आपत्कालीन केन्द्र बाँकेका फोकल पर्सन तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए।
डा. लीला देवकोटा, डा. प्रदीप रेग्मी, मनोसामाजिक परामर्शदाता कमलाकुमारी डाँगी लगायतले अस्पतालमा सेवा दिइरहेका छन्। अस्पताल परिसरमा भूकम्प उपचारकक्ष समेत स्थापना गरिएको छ। बाहिरबाट प्राप्त सहयोगको व्यवस्थापनका लागि उक्त कक्ष स्थापना गरिएको हो।
भेरी अस्पताल नेपालगन्जमा उपचार गराएकामध्ये दुई जना घर फर्किएका छन् भने एक जनाको निधन भएको छ। हाल अस्पतालमा २० पुरुष र २६ महिलाको उपचार भइरहेको छ।
अस्पतालमा जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्पपीडितको उपचार भइरहेको छ। जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुममा अत्यधिक जनधनको क्षति भएको छ। -रासस