परदेशीलाई पर्खिरहेका शव
भुइँचालोपछि जाजरकोटको कोलचौर गाउँ तीन दिनदेखि असमञ्जसमा देखिन्थ्यो- शव कुरिरहेको हो कि शवले परदेशी कुरिरहेको हो!
घाम झुल्केदेखि नै जाजरकोटको भेरी नगरपालिका-१ स्थित कोलचौर गाउँको मध्यतिरै रहेको घर अगाडि गाउँले भेला भएका छन्। केही बाँसको घारो बनाइरहेका छन् भने केही दाउराको थुप्रो लगाइरहेका छन्।
भुइँचालोले भत्किएको घरको आँगनमा बसिरहेका वृद्धवृद्धा बाटो हेरिरहेका छन्। किनकि यो घरमा पाँच शव ल्याइँदै छन्। कोलचौरका बासिन्दा तीन दिनदेखि शव कुरिरहेका थिए।
कात्तिक १७ गते राति गएको भूकम्पमा परी घरभित्र सुतिरहेका हस्ती कामीका बुहारी र नातिनातिना गरी ६ जनाको ज्यान गएको थियो। आफ्नै घरभित्र पुरिएर ज्यान गुमाएका उनीहरूको शव पोस्टमार्टम गर्न जाजरकोट सदरमुकामस्थित जिल्ला अस्पताल लगिएको थियो।
ज्यान गुमाएका ६ जनाकै कात्तिक १८ मा पोस्टमार्टम गरिएको थियो तर शव घरमा ल्याइएको थिएन। किनकि शवलाई दागबत्ती दिने नजिकको नातेदार कोही गाउँमा थिएन। हस्तीका छोरा उदय कामी परदेश मलेशियामा थिए। उदय नफर्किंदासम्म दाहसंस्कार नहुने भएपछि शव पनि गाउँ ल्याइएका थिएनन्।
वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका उदय आजै गाउँ पुग्ने खबर आएपछि गाउँलेले अस्पतालबाट शव ल्याउने तयारी गरेका थिए। उदय आउने बित्तिकै आजै दाहसंस्कार गर्ने तयारी भइरहेकाले गाउँले बेचैन देखिन्थे। तीन दिनदेखि अस्पतालमा शव रोकिएकाले पनि उनीहरूको छटपटी बढिरहेको थियो।
कात्तिक १७ गते सँगै खानपिन गरेर ६२ वर्षीया हस्ती नौ जना आफन्तसँगै सुतेकी थिइन्। उज्यालो हुँदा भने हस्तीसँग नातिहरू विक्रम र रविनको मात्रै भेट भयो। दुवै हस्तीका छोरापट्टिका नाति हुन्। बाँकी ६ जना आफन्तको ज्यान गएको थियो।
हस्तीकी बुहारी ३० वर्षीया जानुका, नातिनीहरू १३ वर्षीया शर्मिला, नौ वर्षीया अञ्जली र नाति चार वर्षीय उज्ज्वल घरभित्रै पुरिएका थिए। उनीहरूलाई माटोभित्रबाट निकाल्दा सास बाँकी थिएन। उनीहरू मलेशियाबाट आजै आएका उदयका श्रीमती र छोराछोरी हुन्।
त्यस्तै, हस्तीले ११ वर्षीया निरुतालाई पनि गुमाइन्। निरुता उदयका भाइकी छोरी हुन्।
सँगै सुतेकी आठ वर्षीया नातिनी विष्णु तिरुवालाई पनि जोगाउन सकिनन्। घर भत्किंदा माटोमा पुरिएकी उनको शव अर्को बिहान भेटियो। उनी उदयकी बहिनी लालमतीकी छोरी हुन्।
लालमती पनि वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी छन्। आफू विदेश गएपछि हेरचाहका लागि छोरीलाई माइतीघरमा राखेकी थिइन्।
कात्तिक २० गते दिउँसो १ बजे जिल्ला अस्पतालबाट शववाहनमा पार्थिव शरीरलाई आँगनमा पुर्याइयो। सेतो कपडाले बेरिएका आफन्तजनको पार्थिव शरीरलाई पालैपालो आँगनमा राख्दा सबै गाउँले चिच्याउँदै रुन थाले। कसैले कसैलाई सम्हाल्न सक्ने स्थिति नै थिएन।
आँगनमा आफन्तको शव राख्नासाथ वृद्धा हस्तीले डाँको छोडिन्। हात जोडेर रुन थालिन्। सँगै सुतेका आफन्तलाई जोगाउन नसकेकोमा पश्चात्ताप देखिन्थ्यो।
रुवाबासी रोकिएको थिएन, मलेशियाबाट उदय आइपुगे। आँगनमा भेला भएका गाउँलेका बीचमा राखिएका श्रीमती र छोराछोरीका शव देख्दा उनको बोली नै बन्द भयो। नजिकै घुँडा टेकेर बसे। न रुन सके न त आँसु झार्न।
टोलाइरहेकै वेला एक आफन्तले भने, “छोराछोरीको अनुहार हेर!”
उदय एक वाक्य बोले, “किन हेर्नु, के बाँकी छ र हेर्नलाई?”
श्रीमती र छोराछोरीको अन्तिम संस्कार गर्न मलेशियाबाट पुगेका उदयको मुखबाट निस्किएको पहिलो बोली थियो।
त्यही वेला अर्का आफन्तले चारवर्षे छोराको अनुहारमा बेरिएको कपडा निकालिदिए। त्यसपछि भने उदयले आफूलाई सम्हाल्न सकेनन्। डाँको छोडेर रोए, “हे भगवान्! मलाई किन यस्तो गर्यौ?”
उनी एकोहोरो रोइरहे। रुँदै भनिरहेका थिए, “जसका लागि कमाउन गएको थिएँ, उनीहरू नै यस्तो भएपछि म किन बाँच्नू!”
केही बेरपछि गाउँलेले उनलाई सम्हाले। अबीरको टीका लगाइदिन अह्राए। सानो छोराको निधारमा टीका लगाए। श्रीमती र छोरीहरूलाई टीका लगाउँदा उनका हात काँपिरहेका थिए।
आँगनमा शव राखुन्जेल रुवाबासी नरोकिने देखेपछि गाउँलेले घाटतिर लगे। केही बेरमै शव बोकेर गाउँ नै मलामी बन्यो।
गाउँको तल्लो थुम्कोसम्म महिलाहरूले पनि पछ्याए। त्यही भीडमा वृद्धा हस्ती पनि थिइन्। थुम्कोमा गाउँका सबै महिला टक्क अडिए। हस्तीले भने मलामीलाई पछ्याइरहिन्।
जाजरकोटको भेरी नगरपालिकाको वडा नम्बर १ मा मात्रै भूकम्पमा परी ३२ जनाको ज्यान गएको छ। त्यसमध्ये कोलचौर र रावत गाउँमा १४ जना छन्। यी दुई गाउँ पाँच मिनेटको पैदल दूरीमा छन्।
दुवै गाउँका अधिकांश घरमा क्षति पुगेको छ। सग्लो घर देख्न मुश्किल छ। मावनीय क्षति भने तीन घरमा भएको छ। रावत गाउँको एक घरमा ६ जना र अर्को घरमा दुई जनाको ज्यान गएको छ।
कोलचौर गाउँमा एकै घरमा ६ जनाको ज्यान गएको छ, हस्तीकै परिवारका। आज हस्तीको आँगनमा जिल्ला अस्पतालबाट पाँच जनाका शव ल्याइएका थिए।
हस्तीले आज बुहारी र नानिनातिनालाई बिदाइ गरेकी छन्। अझै कान्छी नातिनी विष्णुको बिदाइ गर्न बाँकी नै छ। पाँच जना आफन्तलाई बिदाइ गरेपछि पनि वृद्धा हस्ती नातिनीको शव कुरिरहेकी छन्। नातिनी विष्णुको शव भने जिल्ला अस्पतालको शवगृहमै हुनेछ, आमा लालमती कुवेतबाट नफर्कियुन्जेल।