कस्तो छ विपद्सँग जुध्ने सुरक्षा निकायको क्षमता?
विपद्का वेला परिचालन गर्न छुट्टै संयन्त्र रहेका तीनै सुरक्षा निकायसँग आधुनिक प्रविधि र पर्याप्त उपकरण भने छैनन्।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर कात्तिक १७ गते ६.४ म्याग्निच्यूडको भूकम्प जाँदा १५३ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भए। २०७२ सालपछिको सबैभन्दा शक्तिशाली यो भूकम्पमा भएको भौतिक क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन।
जाजरकोटमा भूकम्पको एक/डेढ घण्टाभित्रै नेपाल प्रहरीको स्थानीय युनिट, जिल्लास्थित सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्ति उद्धारमा लागेका थिए। भोलिपल्ट बिहान कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट तीनै सुरक्षा निकायले थप जनशक्ति प्रभावित क्षेत्रमा खटाएका थिए। तीनै निकायले विपद्का वेला विशिष्टीकृत जनशक्ति परिचालन गर्दै आएका छन्।
जनशक्ति र स्रोतसाधन
सशस्त्र प्रहरी बलसँग दुई हजार ४०० जनाको विशिष्टीकृत फौज छ। यो टोलीमा विपद्पछिको उद्धारकै तालीम लिएकाहरू हुने गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता समेत रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापा बताउँछन्। यस बाहेक गोताखोर ९२ र अग्निनियन्त्रक २२५ जना छन्। आवश्यक जनशक्ति तयार पार्न सशस्त्र प्रहरीले चितवनको कुरिनटारमा विपद् व्यवस्थापन तालीम शिक्षालय सञ्चालन गर्दै आएको छ। “यो हाम्रो स्पेशल तालीमप्राप्त जनशक्ति हो,” थापा भन्छन्, “यस बाहेक विपद्का लागि आधारभूत तालीम सबैलाई हुन्छ।”
देशका आठ स्थानमा सशस्त्र प्रहरीका विपद् व्यवस्थापन ‘बेस’ छन्। ती स्थान धनकुटाको मूलघाट, सिन्धुलीको खुर्कोट, बाराको निजगढ, धादिङको आदमघाट, म्याग्दीको बेनी, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेल्धुराको अमरगढी हुन्। सात वटै प्रदेशका वाहिनी मुख्यालयहरूमा विपद् व्यवस्थापन तथा उपकरण सहितका गोताखोर टीम पनि छन्। वाहिनी मुख्यालय तथा गणहरूमा एक-एक प्लाटून विपद् व्यवस्थापन जनशक्ति रहने डीएसपी थापा बताउँछन्। एउटा प्लाटूनमा ३५ जना हुन्छन्। काठमाडौं उपत्यकाका लागि सिनामंगलमा नम्बर २० विपद् उद्धार गण छ।
उद्धारका लागि सशस्त्रसँग डोजर, लोडर र एक्स्काभेटर १४ थान छन्। मोटर बोट/र्याफ्ट बोट १०८ वटा छन्। डिज्यास्टर रेस्पोन्स सिस्टम (डीआरएस) कन्टेनर ३३ वटा छन्। अहिले भूकम्प प्रभावित क्षेत्रमा यीमध्ये पाँच वटा प्रयोग गरिएको छ। विपद् सामूहिक उद्धार एम्बुलेन्स आठ वटा छन्। यो एम्बुलेन्सभित्र ६ वटा शय्या हुन्छन् भने कुर्सीमा राखेर थप घाइतेको उपचार गर्न सकिने सुविधा हुन्छ। “यो एम्बुलेन्समा विपद्स्थलबाट अस्पतालसम्म पुर्याउँदा घाइतेको प्राथमिक उपचार गर्न सकिन्छ,” डीएसपी थापा भन्छन्। सशस्त्रसँग अक्सिजनजडित आठ वटा एम्बुलेन्स पनि छन्।
त्यस्तै, नेपाल प्रहरीसँग प्रत्येक प्रदेशमा १२५ जनाको विपद् गुल्म छ। यस बाहेक काठमाडौं उपत्यकाका लागि ४४७ जनाको दरबन्दी रहेको गण छ। विपद् व्यवस्थापन कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डम्बर विकका अनुसार ‘लाइफ बडी डिटेक्टर’ मशिन दुई वटा छन्। थोरै संख्यामा रहेकाले यो काठमाडौंमा मात्र छ, बाहिरी जिल्लामा पुर्याउन सकिएको छैन। भूकम्पमा घर वा अन्य संरचना भत्किएर पुरिएको ठाउँमा मानिस जिउँदो वा मृत रहेको पत्ता लगाउन यो मशिन प्रभावकारी हुन्छ।
“यो सबैभन्दा आधुनिक उपकरण हो, जसले बाहिरबाटै स्क्यान गरेर सूचना दिन्छ,” विक भन्छन्, “कुन पोजिसनमा छ भनेर लोकेसन पनि दिने भएकाले यो प्रभावकारी छ।” उद्धारमा ड्रोन क्यामेरा, मोबाइल एम्बुलेन्स आदि अपरिहार्य देखिएपछि गृह मन्त्रालयसँग माग गरे पनि आइनसकेको उनी बताउँछन्।
भत्किएका संरचना खोतल्न, च्यापिएका गाडीबाट उद्धार गर्न मिल्ने ‘हाइड्रोलिक मशिन’ पनि प्रहरीसँग छ। जाजरकोट भूकम्पमा कर्णाली प्रदेशको विपद् गुल्म मात्र परिचालन गरिएको छ। काठमाडौंबाट प्रहरी निरीक्षकको नेतृत्वमा २७ जनाको टोली जान तम्तयार रहे पनि हवाई साधन नहुँदा पठाउन नसकिएको विक बताउँछन्। “आइतबार पनि बोलाइएको थियो तर विमानस्थल पुगेपछि फर्कन पर्यो,” उनी भन्छन्, “सरकारले हेलिकोप्टरको व्यवस्था गरे हामी तयारी हालतमा छौं।”
विपद्मा परिचालन हुने दरबन्दीमा रहेका सबै जनशक्तिलाई तालीम दिन भने प्रहरीले सकेको छैन। “आधारभूत तालीम सबैलाई दिइएको छ। तर विशिष्ट तालीम सबैलाई दिन सकिएको छैन,” विक भन्छन्, “बजेट अभावले यस वर्ष त झन् जम्मा तीन वटा तालीम सञ्चालन गर्नुपर्ने बाध्यता छ।” अघिल्लो वर्ष पाँच वटा तालीम चलाइएका थिए।
विपद्का लागि विशिष्टीकृत जनशक्ति तयार गर्न नेपाली सेनामा निर्देशनालय नै छ। विपद् व्यवस्थापन निर्देशनालयले त्यस्ता जनशक्ति तयार पारी सबै युनिटमा पुर्याउने सैन्य प्रवक्ता एवं सहायक रथी कृष्णप्रसाद भण्डारी बताउँछन्। निर्देशनालय मातहत विपद् व्यवस्थापनका लागि दुई वटा गण छन्, नम्बर १ र नम्बर २। भण्डारीका अनुसार एउटा गणमा ८०० जना रहन्छन्।
विपद्का वेला चिकित्सा र इन्जिनीयर सहितको टीम परिचालन हुने भएकाले तीन वटा गणमा हुने नफ्री (दुई हजार ४००) बराबरको फौज खटिने भण्डारी बताउँछन्। “विपद् गणको जनशक्ति पृतना मातहतका सबै युनिटमा समानुपातिक हिसाबले परिचालन गरिएको हुन्छ,” उनी भन्छन्।
वाहिनी अन्तर्गतको विशेष फौज जटिल र प्रतिकूल अवस्थामा खटिन तालीमप्राप्त हुने भएकाले आवश्यक पर्दा तिनलाई पनि परिचालन गरिने भण्डारी बताउँछन्। उनका अनुसार जाजरकोट भूकम्पमा करीब दुई हजार ४०० सैनिक खटिएका छन्। यद्यपि गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले कात्तिक १९ गते सार्वजनिक गरेको विवरणमा जाजरकोट र रुकुम पश्चिममा २०२ सैनिक मात्र खटिएको उल्लेख छ। सशस्त्र प्रहरीका ४८५ र नेपाल प्रहरीका ८७४ जना खटिएको पनि गृहको विवरणमा छ।
सेनासँग तालीमप्राप्त कुकुरको गुल्म पनि छ जसले विपद्का वेला खोजतलासमा सघाउँछ। त्यस्तै, सेनासँग हवाई साधन छन् जुन अन्य सुरक्षा निकायसँग छैन। जाजरकोट भूकम्पका प्रभावित क्षेत्रमा सेनाका पाँच वटा हवाई साधन परिचालित छन्।