भूकम्पमा ७८ बालबालिकाको ज्यान गयो
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये आधाभन्दा बढी बालबालिका रहेको पाइएको छ।
नेपाल प्रहरीका अनुसार कात्तिक १७ गते राति गएको भूकम्पका कारण १५३ जनाको मृत्यु भएको छ। जसमा ७८ जना बालबालिका छन्।
जाजरकोटमा १०१ जनाको मृत्यु भएकोमा ५० बालबालिका छन्। उनीहरूमध्ये २७ बालक र २३ बालिका रहेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले बताए।
त्यस्तै, रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु छ। तीमध्ये २८ बालबालिका रहेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रमुख नमराज भट्टराइले बताए। “रुकुम पश्चिममा भूकम्पमा मृत्यु भएकामध्ये धेरै बालबालिका छन्। १० महीनाका दुई बालबालिकाको पनि ज्यान गएको छ,” भट्टराईले भने।
राति भूकम्प गएकाले धेरै बालबालिकाको ज्यान गएको प्रहरीको अनुमान छ। सुतिरहेको अवस्थामा घर भत्किंदा युवा बाहिर निस्कन सफल भए पनि बालबालिका जोगाउन मुश्किल भएको प्रहरीको भनाइ छ।