देश विपद्मा रहेका वेला राष्ट्रपति र मन्त्रीहरूको विदेश शयर
देश भूकम्पीय विपत्तिबाट गुज्रिरहेका वेला राष्ट्रपति सहित नेपाल सरकारका मन्त्रीहरू राज्यकोषको करोडौं रुपैयाँ खर्चेर विदेश भ्रमण गर्दै छन्।
शुक्रबार राति कर्णाली प्रदेशमा गएको भूकम्पले १५३ जनाको ज्यान लियो। भूकम्पबाट २५६ जना घाइते भए भने रुकुम पश्चिमको बाहेक झन्डै १० हजार घरमा क्षति भएको प्रारम्भिक अनुमान छ। गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका अनुसार यसमध्ये ९३७ घर पूर्ण रूपमा भत्किएको छ।
तर मुलुक विपत्तिमा परेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाटै चिन्ता व्यक्त भइरहेका वेला राष्ट्रपति र नेपाल सरकारका मन्त्रीहरू वैदेशिक भ्रमणको अशोभनीय तयारी गरिरहेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल कात्तिक २२ गते यूरोपको शयरमा निस्किंदै छन्। फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन जान लागेका राष्ट्रपति पौडेल कार्यक्रमपछि जर्मनी र इटाली पनि घुम्न निस्किनेछन्। जर्मनी र इटालीमा उनको कुनै कार्यक्रम छैन। उनी मंसीर १ गते मात्रै नेपाल फर्किने कार्यक्रम छ।
कात्तिक १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको विदेश भ्रमण स्वीकृत गरेको थियो। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार कार्यालय समयसम्ममा राष्ट्रपतिको भ्रमणको कार्यक्रम हेरफेर नभएको बताइन्।
मुलुकले विपत्तिको सामना गरिरहेको र नागरिक शोकमग्न रहेका वेला राष्ट्रपति विदेश भ्रमणमा जाने तयारी गर्नुले गहिरो प्रश्न उब्जेको छ। यसले एकातिर राष्ट्रपतिको नागरिकप्रतिको सहानुभूति र संवेदनशीलताको विषयमा प्रश्न उठाउँछ भने अर्कातिर भूकम्पका कारण स्रोतको थप चाप परिरहेको वेला राष्ट्रपतिको नगए पनि हुने भ्रमणले व्ययको भार बढाउँछ।
नेपाली कांग्रेसका नेता लोकेश ढकालले आमनागरिकको भावनालाई समेत कदर गर्दै भूकम्पबाट ठूलो जनधनको क्षति पुगेको राष्ट्रिय दुःखको घडीमा राष्ट्रपतिले यूरोप भ्रमण रद्द गरे उनीप्रति सम्मान बढ्ने सामाजिक सञ्जाल एक्समा लेखेका छन्। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका तत्कालीन सल्लाहकार टीका ढकालले पनि राष्ट्रपतिको फजूल खर्ची यूरोप भ्रमण रद्द गर्न सुझाव दिएका छन्।
उनले सामाजिक सञ्जाल एक्समा शोकका वेला भ्रमणमा निस्कँदा आतिथेय मुलुकमा मुलुकको प्रतिष्ठा र गणतन्त्रको सम्मान नबढ्ने भनी लेखेका छन्।
त्यसो त राष्ट्रपति पौडेल मात्रै होइन, सरकारका अन्य मन्त्रीहरू पनि विपत्तिका वेला राज्यकोषको रकम खर्च गरेर विदेश भ्रमणमा गइरहेका छन्। जाजरकोट भूकम्पको भोलिपल्टै शनिबार राति उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल चीन भ्रमणमा गए। चीनको शाङ्हाईमा आइतबारबाट शुरू भएको छैटौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा भाग लिन मन्त्री रिजाल चीन भ्रमणमा निस्किएका थिए।
उनको भ्रमण दलमा स्वकीय सचिव वृहस्पति श्रेष्ठ लगायत व्यक्ति छन्। उनी कात्तिक २४ मा नेपाल आउने कार्यक्रम रहेको मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताए।
त्यसैगरी, कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल कात्तिक २१ मा चीनको भ्रमणमा निस्किंदै छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगै मन्त्री भुसाल साताव्यापी लामो चीन भ्रमणमा जान लागेका हुन्। उनी कात्तिक २८ मा नेपाल आउने कार्यक्रम रहेको मन्त्रीको सचिवालयका उपसचिव सुशील भट्टराईले बताए।
त्यसैगरी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई पनि कात्तिक २० मा फ्रान्सको पेरिस भ्रमणमा निस्किएका छन्। पेरिसमा हुने यूनेस्कोको महासभामा भाग लिन मन्त्री राई यूरोप गएका हुन्। उनी कात्तिक २९ मा मात्रै देश फर्किनेछन्।
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी पनि चीन भ्रमणमा छिन्। कात्तिक २० र २१ मा चीनको छोङ्छिङमा आयोजना हुने बेल्ट एन्ड रोड कन्फेरेन्स अन साइन्स एन्ड टेक्नोलोजी कार्यक्रममा भाग लिन उनी आइतबार चीन भ्रमणमा गएकी हुन्।
त्यसैगरी, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल पनि कात्तिक १९ मा भारत भ्रमणमा गएका छन्। उनी भारतको सीमा सुरक्षा बलको महानिर्देशक र नेपालको सशस्त्र प्रहरी बलका महानिरीक्षकबीच हुने वार्षिक बैठकमा भाग लिन भारत पुगेका हुन्।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको जिम्मा पाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल पनि विदेशमै छन्। उनी शुक्रबार राति भूकम्प आउनु केही बेरअघि मात्रै ‘भूकम्पपछिको व्यवस्थापन सम्बन्धी कार्यक्रम’ मा भाग लिन जापानतर्फ उडेका हुन्। तर देशमै ठूलो विपत्ति आउँदा समेत भूकम्पपछिको व्यवस्थापनको जिम्मा पाएको संस्थाको नेतृत्व गर्नुपर्ने पोखरेल अझै फर्किएका छैनन्।
प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले कार्यकारी प्रमुख पोखरेल दुईतीन दिनभित्र नेपाल आइपुग्ने बताए।
गृह प्रशासन सञ्चालन गरी देशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी भएको गृह मन्त्रालयका सचिव दिनेश भट्टराई पनि जापानमै छन्। उनी पनि विपद् सम्बन्धी तालीमका लागि गत शुक्रबार राति जापान गएका हुन्।
मुलुक भूकम्पको विपत्तिमा परेका वेला राज्यकोषको करोडौं रुपैयाँ खर्चेर सरकारका मन्त्रीहरू विदेश भ्रमणमा निस्कनु असुहाउँदो भएको भनी आलोचना भइरहेको छ।