शोकाकुल प्यालेस्टिनीका तर्फबाट अमेरिकी राष्ट्रपतिलाई एक पत्र
राष्ट्रपति महोदय, एकै दिनमा मैले गाजामा रहेका मेरा ३६ नातेदार गुमाएँ। म चाहन्छु, तपाईंलाई उनीहरूको नाम थाहा होस्।
प्रिय राष्ट्रपति (जो) बाइडेन,
यही २६ अक्टोबर (कात्तिक ९) बिहीबारको बिहान गाजामा भएको अर्को नरसंहारको समाचारसँगै म ब्युँझिएँ।
यस पटक इजरायलले मेरा नातेदार मार्यो। त्यो अपराध भएको ठाउँ हो, खान युनिस शरणार्थी शिविर, जुन गाजापट्टिको दक्षिणमा पर्छ। नोट गर्नुस्, उत्तरमा होइन, दक्षिणमा। इजरायली सेनाका अनुसार दक्षिणमा मानिसहरू सुरक्षित हुन सक्छन्। रंगभेदी इजरायलको बमबारीका कारण म जन्मेहुर्केको आवास क्षेत्रको एउटा हिस्सा ध्वस्त भयो।
त्यहाँका मानिसले त्यो बमबारीलाई भूकम्प जस्तो महसूस गरे। तर यो प्राकृतिक नभई मानिसले सिर्जना गरेको क्रूर भूकम्प थियो। त्यो भूकम्पले यो संसारबाट ४७ जनालाई सदाका लागि अन्त्य गरायो। तीमध्ये ३६ जना मेरै नातेदार थिए। बाँकीले उनीहरूका घरमा आश्रय लिइरहेका थिए। त्यहाँ सुरक्षित भइन्छ भन्ने भ्रममा थिए, उनीहरू।
अढाई वर्षअघि जर्ज फ्लोइडको हत्या लगत्तै ‘ब्ल्याक लाइफ्स म्याटर’ को आन्दोलन उठाइरहेका मानिसको नारा थियोः ‘यो बहुलठ्ठी हत्या अति भयो। अब सहन सकिंदैन।’ ह्वाइट हाउसमा आयोजित कार्यक्रममा तपाईंले त्यसरी आवाज उठाउनेहरूको उद्देश्यसँग सहमत भएको धारणा राख्नुभएको थियो।
तर आज मेरा परिवारका सदस्यहरू मारिएका छन् तैपनि तपाईं त्यस्ता बहुलठ्ठीपूर्ण हत्या भएका छन् भन्ने स्विकार्न पनि चाहनुुहुन्न। उल्टो, तपाईंले इजरायललाई प्रोत्साहित गर्ने शब्दहरू ओकलिरहनुभएको छ। आज तपाईं भनिरहनुभएका छः ‘अझै धेरै बहुलठ्ठीपूर्ण हत्या आवश्यक छ।’
इजरायल तपाईंको इच्छा पूरा गर्न पाउँदा खुशी छ।
अमेरिकी प्रहरीले आफ्नो समुदायका व्यक्तिलाई निर्दयतापूर्वक हत्या गर्दा अमेरिकी अश्वेतहरूले उनीहरूको नाम सुनाएर पीडितको सम्मान गरेका थिए। अहिले अमेरिकी समकक्षीसँग हातमा हात मिलाएका इजरायली सेनाले मेरा आफन्तहरू मारिदिएका छन्। म पनि मारिएका आफन्तको नाम पुकारेर उनीहरूप्रति सम्मान जनाउँछु।
राष्ट्रपति महोदय,
आजै मात्र हामीले ७९ वर्षीय हजुरबुबा (बुबाका काका) नाइफ अबु शम्मला र ७६ वर्षीया हजुरआमा फाथियाको निधनमा शोक मनायौं। दुवै जना सन् १९४८ को नक्बा (इजरायल निर्माणका लागि गरिएको प्यालेस्टिनीको आमसफाया)बाट बाँच्नुभएको थियो।
त्यति वेला ५३० वटा प्यालेस्टिनी शहर र गाउँ जातीय रूपमा सफाया गरिएका थिए। त्यसमध्ये गाजाबाट ३० किलोमिटर उत्तरमा रहेको हजुरबुबाहरूको गाउँ बेइत दरास पनि थियो। नक्बाका साढे सात लाख शरणार्थी जस्तै फाथिया र नाइफ शरण खोज्दै खान युनिस शरणार्थी शिविरमा आउनुभएको थियो। त्यो शरणार्थी शिविरलाई अल्पकालीन ठानिएको थियो।
राष्ट्रपति बाइडेन,
नाइफ र फाथिया आज हामीमाझ हुनुहुन्न। संयुक्त राष्ट्रसंघले सुनिश्चित गर्ने आफ्नै भूमि फर्किने अधिकारका लागि अभ्यास थाल्नुअघि नै मारिनुभयो।
इजरायली बमबारीबाट मारिनेमध्ये उहाँहरूका तीन जना छोरी पनि थिए। म उनीहरूको नाम पनि तपाईंलाई सुनाउँछु। खान युनिसभरमै सबैभन्दा सुन्दर आयशा थिइन्। उनकी दिदी दवलत मेरो परिवारकै सबैभन्दा सुन्दर महिला थिइन्। उनी हालै मात्र आफ्नो परिवार भेट्न संयुक्त अरब इमिरेट्सबाट फर्किएकी थिइन्। अनि कान्छी बहिनी उमाइमा र उनकी छोरी मलक मारिए। निरन्तरको बमबारीबाट शरण खोज्दै उनीहरू घर आइपुगेका थिए।
नाइफ र फाथियाका चार जना छोरा पनि मारिए। उनीहरू हुन्ः हसन, महमुद, मोहम्मद र जुहाइर। उनीहरूका श्रीमती फादिया, नीमा र एयशा पनि मारिए। जुहाइरकी श्रीमती भने बाँचिन् किनभने उनी त्यति वेला सोही शरणार्थी शिविरको अर्को परिवारमा मारिएका व्यक्तिहरूलाई श्रद्धाञ्जली दिन गएकी थिइन्।
मारिनेमध्ये हसनका तीन जना बच्चा पनि छन्ः मोहम्मद, इस्माइल र सल्मा। नाइफ र फातियाका जीवित छोरा इब्राइमले आफ्नो जेठो छोरा नाइफ गुमाएका छन्। हजुरबुबाको नामबाट उनको नाम राखिएको थियो।
मेरा हजुरबुबाको घरमा शरण लिन आएका अरू दुई परिवार, क्वेदेइ र अल्लहामका सदस्य पनि मारिए।
शोकको यो गाथा यही टुंगिंदैन राष्ट्रपतिज्यू!
मेरी हजुरआमा (हजुरआमाकी बहिनी)को घरमा पनि बमबारी भयो। उहाँको नाम उम सइद हो। ९२ वर्षीया उहाँ पनि नक्बाबाट बच्नुभएको थियो र बेइत दरासबाट आउनुभएको थियो।
उहाँ खान युनिसमा आफ्नी छोरी नजतसँगै बस्नुहुन्थ्यो। तर अहिले उहाँहरूको घर भग्नावशेष भएको छ। छरछिमेकीले उहाँहरूको शरीर निकाल्ने प्रयास गरे तर सकेनन्। उहाँका दुई छोराहरू मर्वन, असाद र एक छोरी मुनाको घर पनि सँगै थिए। ती सबै ध्वस्त छन्।
मर्वन बाँचे तर उनकी श्रीमती सुहाइला र चार सन्तानहरू मोहम्मद, महमुद, आया र शहद सबै मारिए। मुनाका दुई छोरा अम्जद र मोहम्मद पनि मारिए। असाद, उनकी श्रीमती इम्तियाज, छोरा अब्देलरहमान (जो चौथो वर्षमा अध्ययनरत मेडिकलका विद्यार्थी थिए) पनि मारिए।
प्यालेस्टिनी आमाको भन्दा इजरायली आमाको मनमा बढी चोट लाग्छ भन्ने तपाईं ठान्नुहुन्छ र? प्यालेस्टिनी बच्चाको जीवनभन्दा इजरायली बच्चाको जीवन बढी महत्त्वपूर्ण छ भन्ने तपाईंलाई लाग्छ र?
असादले सानो किराना पसल राखेका थिए। सिंगो घरसँगै त्यो पनि सखाप भयो। हरेक पटक आफ्नो मातृभूमि जाँदा मेरो छोरा अजिजका लागि त्यो सानो पसल प्रिय थियो। शरणार्थी शिविरभरि अत्यावश्यक सामग्री बेचेर थोरै पैसा कमाएका असाद भलाद्मी मानिसका रूपमा परिचित थिए। उनले मोटो बहीखाता त राखेका थिए तर उधारो टिप्न प्रायजसो बिर्सन्थे। उधारो लैजानेलाई माफी दिन्थे। आज असादको मधुर मुस्कान, उनको दयालु व्यवहार, परिवार र त्यो सानो पसल हामीबाट हरण गरिएको छ।
बमबारी भइरहँदा मेरा आफन्त र छिमेकी असादको पसलमा अत्यावश्यक सामग्री किन्न र त्यहाँ भएको सोलारबाट सित्तैमा फोन र ब्याट्री चार्ज गर्न जम्मा भइरहेका थिए। ती सबै मारिए। उनीहरूमध्ये अक्रम, रिमन, बेइरुत, इमाद, निमा र अरू थिए, जसको नाम मलाई सम्झना छैन।
राष्ट्रपति महोदय,
प्यालेस्टिनी आमाको भन्दा इजरायली आमाको मनमा बढी चोट लाग्छ भन्ने तपाईं ठान्नुहुन्छ र? प्यालेस्टिनी बच्चाको जीवनभन्दा इजरायली बच्चाको जीवन बढी महत्त्वपूर्ण छ भन्ने तपाईंलाई लाग्छ र? आज गाजाका बच्चाहरूको आमनरसंहार गर्नका लागि तपाईंले जसरी अभिप्रेरित गरिरहनुभएको छ, त्यसका लागि त यस्तै विभेदकारी मान्यता राख्नुपर्छ।
महोदय, मैले बच्चाहरू भनेर यथार्थमै मानिसका बच्चाहरूको कुरा गरिरहेछु जसका आफ्नै अनुहार, नाम, हाँसो र सपनाहरू छन्। इजरायलले अहिलेसम्म चार हजारभन्दा बढी बच्चाको हत्या गरिसकेको छ, जसमध्ये कतिपय त नवजात शिशु पनि छन्। उनीहरूले यो संसारको सुख र दुःख देख्न पनि पाएनन्। राष्ट्रपति बाइडेन तपाईंकै संलग्नतामा हामीबाट चार हजारभन्दा बढी सुन्दर आत्माहरू खोसिएका छन्।
तीमध्ये मेरी बहिनीकी नातिनी जुलिया अबु हुसैन पनि थिइन्। उनी जम्मा तीन वर्षकी थिइन्। मेरा भतिज अमजद र उनकी पत्नी रवानले खान युनिसमा रहेको मेरी बहिनी समियाको घरमा सुरक्षित हुनेछिन् भनेर जुलियालाई लगेका थिए।
गाजाको उत्तरी क्षेत्रमा रहेको आफ्नो घरबाट त्यो शरणार्थी शिविर पुग्न उनीहरूलाई तीन दिन लागेको थियो, जबकि ३० मिनेटभन्दा कम समयमै पार गर्न सकिने दूरी हो त्यो। हो, उनीहरूले इजरायली सेनाले त्यो ठाउँ खाली गर्न दिएको उर्दी सुनेका थिए। तर उनीहरूले जाने सुरक्षित ठाउँ कतै भेटाएनन्।
बमबारी शुरू भएपछि जुलियाको पाखुरा समातोर रवान भान्सातिर दौडिन्। परिवारका अरू सदस्य पनि भान्सातिर दौडिए। शक्तिशाली इजरायली बमले हाम्रो घर ध्वस्त पार्यो। झ्यालहरू टुक्राटुक्रा भए। झ्यालबाट उछिट्टिएका धारिला टुक्राहरूले आफ्नी आमाको काखमा रहेकी जुलियाको ज्यान लियो र उनकी काकी नघमलाई घाइते बनाइदियो।
राष्ट्रपति बाइडेन,
तपाईंले समर्थन गरेको युद्ध यन्त्रले सिर्जना गरेको हिंसाले एउटी सानी बच्चीको ज्यान लियो। के तपाईं त्यो कल्पना गर्न सक्नुहुन्छ? के साँच्चै तपाईंले यो र यस्तै अरू त्रासदी कति विषादपूर्ण हुन्छ भन्ने अनुमान पनि गर्न सक्नुहुन्छ? कि तपाईं प्यालेस्टिनीहरूको आमनरसंहारमा इजरायल साँच्चिकै दोषी छ वा छैन भन्ने प्रश्नमै रुमल्लिनुभएको छ?
गाजामा हरेक दिन मेरा आफन्त र साथीहरू मारिइरहेका छन्। मृत्युलाई परिभाषित गर्ने नयाँ नयाँ तरीका पत्ता लगाउन खोजिरहेछु मैले- गए, लगिए, माटोमुनि पुरिए, तिनको आत्मा स्वर्गमा छ। तर अहिले सञ्चारमाध्यमले मलाई भनिरहेछन्- ‘ती मारिए पनि, नमारिए पनि ती आतंककारी हुन्।’
गत वर्षामा म गाजा गएको थिएँ। हजुरआमा (आमाकी बहिनी) उम सइदले मलाई अति नै सुन्दर लुगा दिनुभयो। उहाँले मलाई त्यो लुगा क्यानडा ल्याउन बाध्य पार्नुभयो। मैले ल्याएकोमा आफैंप्रति धन्य भइरहेछु। आज, उम सइिद आफ्नै घरको भग्नावशेषमा पुरिनुभएको छ। उहाँको त्यो सुन्दर लुगा नै मसँग स्मृतिका रूपमा बाँकी रहेको छ।
राष्ट्रपति बाइडेन,
जब आज भइरहेका घटनाबारे इतिहास कोरिंदा म ढुक्क छु- प्यालेस्टिनी जनताको नरसंहार गर्न इजरायललाई प्रोत्साहित गरेकोमा तपाईंको नाम घृणापूर्वक लेखिनेछ। तपाईं त्यो मानिसका रूपमा स्मृतिमा रहनुहुनेछ, जसको सरकार युद्ध अपराधमा संलग्न थियो।
तर ती सबैभन्दा महत्त्वपूर्ण त राष्ट्रपतिज्यू, ईश्वरका नाममा शपथ ग्रहण गर्नुभएको तपाईंले उनीसामु रगतले रंगिएको आफ्नो हातबारे के जवाफ दिनुहुनेछ?
(क्यानडामा बस्दै आएकी घडा एजिल तेस्रो पुस्ताकी प्यालेस्टिनी शरणार्थी हुन्। उनि अल्बर्टा विश्वविद्यालयमा राजनीतिशास्त्रीको भिजिटिङ प्रोफेसर हुन्। अल जजीरामा प्रकाशित यो खुलापत्रको अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।)