भूकम्पबाट तीन हजारभन्दा बढी घरमा पूर्ण क्षति
जाजरकोट भूकम्पले रुकुम पश्चिम र जाजरकोटका तीन हजार ७३ घरमा पूर्ण क्षति पुगेको छ।
जिल्ला प्रशासन कार्यालयले संकलन गरेको विवरण अनुसार रुकुम पश्चिममा दुई हजार १६६ र जाजरकोटमा ९३७ घरमा पूर्ण क्षति पुगेको छ। त्यस्तै, रुकुम पश्चिममा चार हजार ६७० र जाजरकोटमा दुई हजार ९५४ घरमा सामान्य क्षति पुगेको छ।
जाजरकोट र रुकुम पश्चिमसँगै आसपासका जिल्लामा पनि भौतिक संरचनामा क्षति पुगेको छ। रुकुम पूर्वमा पाँच घरमा पूर्ण रूपमा र ११८ घरमा आंशिक क्षति पुगेको छ।
त्यस्तै, सल्यानमा २५ घरमा पूर्ण रूपमा र ९७ घरमा आंशिक, रोल्पामा १७ घरमा आंशिक, नवलपरासी पूर्वमा एक घरमा आंशिक, दैलेखमा एक घरमा पूर्ण रूपमा र एक घरमा आंशिक, दाङमा ६ घरमा आंशिक, बैतडीमा एक घरमा पूर्ण रूपमा तथा प्यूठानमा २९ घरमा आंशिक क्षति पुगेको छ।
कात्तिक १७ गते राति जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी १५७ जनाको ज्यान गइसकेको छ। भूकम्पमा परी २०० भन्दा बढी घाइते छन्। काठमाडौं, सुर्खेत र नेपालगन्जमा उनीहरूको उपचार भइरहेको छ।
यो पनि पढ्नुहोस्: ‘मलाई बचाएर मेरा नातिनातिनालाई किन लग्यौ भगवान्?’