भुइँचालोपछि आफ्नै घरसँग डर
भुइँचालोले त्रसित जाजरकोट र रुकुम पश्चिमका बासिन्दा आफ्नै घरसँग डराएर सडकमा बसिरहेका छन्।
भूकम्पले घर चर्किएपछि जाजरकोटको भेरी नगरपालिकाका गणेश खत्री घरभित्र छिर्न डराउँछन्। उनले भूकम्प गएयता भत्किएको घरको अगाडिपट्टिको सडक छेउमा सुतेर रात बिताए।
सरसामान जति घरमै पुरिएका छन्। घरभित्रबाट सामान निकाल्न पनि डर लाग्ने गरेको उनी सुनाउँछन्।
कात्तिक १७ गते राति भुइँचालो जाँदा उनको घरको आधा भाग पूर्ण रूपमा क्षति भएको छ। उनी सुतेको कोठा भने जोगियो। “मेरो कोठामा भएको सामान निकाल्न जान पनि डर छ, मान्छे चढ्ने बित्तिकै भत्किएला जस्तो गरी चर्किएको छ,” खत्री भन्छन्, “सडक र चौरमै सुतेर रात बितायौं।”
भेरी नगरपालिका-३ कै जगत विकको सात जनाको परिवारले पनि कात्तिक १८ गते सडकछेउमै रात बितायो। आज पनि सडकछेउमै सुत्ने तरखरमा छ। घरभित्र गए भत्किएर मरिन्छ कि भन्ने चिन्ताले सडकमै बसिरहेको उनी सुनाउँछन्।
त्यही गाउँकी सुशीला खत्रीको ६ जनाको परिवारले पनि सडकछेउमै रात बिताएको थियो। आज पनि घरभित्र पस्ने हिम्मत नजुटेको उनी सुनाउँछिन्।
उनीहरू जस्तै जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरू आफ्ना चर्किएका घरभित्र जान सकेका छैनन्। दुई दिनदेखि घर बाहिर सडकछेउ र खुला चौरमा बस्दै आएका छन्।
भूकम्पले अधिकांश घर भत्किएका कारण भित्र पस्न डराउने गरेको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी बताउँछन्। “घर भन्ने बित्तिकै सुरक्षित स्थान हो तर अहिले त त्रासको वातावरण छ,” गिरी भन्छन्, “सुरक्षित हुन मानिसहरू घरमा आउँछन्, हामी भने घर देखेरै डराइरहेका छौं।”
भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकाका अधिकांश घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष गिरी बताउँछन्। “बारेकोटका शतप्रतिशत घरमा नै क्षति पुगेको छ। धेरैजसो घर ढलेका छन्, केही भएका घर पनि बस्न मिल्ने अवस्थामा छैनन्,” उनी भन्छन्।
बारेकोटका एक हजार परिवार विस्थापित भएको उनी बताउँछन्। अहिले मुख्य समस्या विस्थापित परिवारलाई कसरी सुरक्षित राख्ने भन्ने रहेको उनको भनाइ छ।
त्यसपछि पुनर्निर्माणको विषयले पनि चिन्ता थपिएको उनी सुनाउँछन्। “अब सबैभन्दा मुख्य समस्या भनेको पुनर्निर्माणको छ,” उनी भन्छन्।
कात्तिक १७ गते राति ११ः४७ बजे गएको भूकम्पले जाजरकोटको बारेकोट गाउँपालिकाका अधिकांश घर क्षतविक्षत छन्। मध्यरातमा गएको ६.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्पले बारेकोट-१ लाई केन्द्रबिन्दु बनाए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ।
दिनभर जसोतसो बसे पनि साँझ पर्दै गएपछि भूकम्प प्रभावित हतास देखिने गरेको अध्यक्ष गिरी बताउँछन्। “गाउँको अवस्था अत्यन्त भयावह बनेको छ, मानिसहरू बारीका पाटामा र रूखका फेदमा आश्रय लिएर बसेका छन्,” उनी भन्छन्। चिसो बढेका कारण भूकम्प प्रभावितको व्यवस्थापनमा कठिनाइ भइरहेको उनको भनाइ छ।
मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटका १०५ जनाले ज्यान गुमाएका छन्। त्यस्तै, रुकुम पश्चिमका ५२ जनाको ज्यान गएको छ। २०० भन्दा बढी घाइते छन्। दुई जिल्लाका हजारौं नागरिक सडकमा आश्रय लिइरहेका छन्।
भूकम्पले रुकुम पश्चिम र जाजरकोटका तीन हजार ७३ घरमा पूर्ण क्षति पुगेको छ। रुकुम पश्चिममा दुई हजार १६६ र जाजरकोटमा ९३७ घरमा पूर्ण क्षति पुगेको छ। त्यस्तै रुकुम पश्चिममा चार हजार ६७० र जाजरकोटमा दुई हजार ९५४ घरमा सामान्य क्षति पुगेको छ।
यो पनि पढ्नुहोस्: