भूकम्पका घाइतेको स्वास्थ्य सुधारोन्मुख
बाँकेमा उपचाररत भूकम्पका घाइतेको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
भूकम्पबाट घाइते भएका जाजरकोट र रुकुम पश्चिमका ७६ जनाको बाँकेस्थित भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। गएराति मात्रै ६ जनालाई उपचारका लागि भेरी अस्पताल ल्याइएको हो।
भूकम्पमा परी घाइते भएका बिरामीलाई एम्बुलेन्सबाट उपचारका लागि ल्याइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए। गएराति उपचारार्थ ल्याइएकामध्ये दुई जना जाजरकोटको भेरी नगरपालिकाका छन् भने चार जना रुकुम पश्चिमको सानीभेरीका छन्।
अहिले भेरी अस्पतालमा ३७ जना घाइतेको उपचार भइरहेको छ। त्यस्तै, ३८ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये पाँच जनाको शल्यक्रिया गरिएको छ।
दुवै अस्पतालमा उपचाररत घाइतेको स्वास्थ्य सुधारोन्मुख छ। उनीहरू खतरामुक्त रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए।
कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडकको भूकम्प गएको थियो। भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने २०२ जना घाइते छन्।
काठमाडौं, नेपालगन्ज र सुर्खेतमा गम्भीर घाइतेको उपचार भइरहेको छ। सामान्य घाइतेको जाजरकोट र रुकुम पश्चिमस्थित अस्पतालमा उपचार भइरहेको छ।