भूकम्पमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सबै अस्पतालमा भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गराउने निर्णय गरेको छ।
तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौं लगायत सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिएका छन्।
उनले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारी रूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन कुन क्षेत्रमा कसरी लिने भन्नेबारे थप छलफल गरी निर्णय गरिने जानकारी दिए।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्पमा परी हालसम्म जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको निधन भइसकेको छ भने २०० भन्दा बढी घाइते छन्।