भूकम्पले सडकको वास : एकतिरबाट सवारीसाधन गुड्छन्, अर्कातिर सर्वसाधारण सुत्छन्
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११:४७ बजे गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण घरहरू भत्किंदा सर्वसाधारण सडकमा आउन बाध्य छन्।
शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका-३ की भावना पुनलाई मध्यरातमा अकल्पनीय रूपमा आएको भूकम्पले ब्युँझायो। भूकम्पको त्यो धक्काको त्रास सम्झिएर उनी सुत्न पाइनन्।
उनको परिवार बस्ने घर भूकम्पले धुजाधुजा बनाएको छ। परिवारका केही सदस्य खुला आकाशमा रात बिताइरहेका छन् भने कोही अस्पतालमा बिरामी कुरुवाको काम गर्दै छन्।
पुन जस्तै जुनिचाँदे गाउँपालिका, लुहादहका सुरेन्द्र खड्का भेरीमालिका अफसेट प्रेसमा काम गरेर राति सुतेका थिए। निद्रामा हुँदै आएको भूकम्प र पटक पटक आइरहेको पराकम्पले अहिले उनको वास खुला सडकमा गराएको छ। गएराति सडकमा यातायातका साधन एकातिरबाट गुडिरहँदा अर्को भागमा उनी लगायत अन्य सर्वसाधारण सुतिरहेका थिए। कात्तिक महीनाको चिसोले उनीहरूलाई झन् सताएको छ।
कुशे गाउँपालिकाका धनबहादुर सिंह गाउँमा भूकम्पको त्रासले त्रिपाल टाँगेर बस्न बाध्य भएका छन्। “घरभित्र बसिसाध्यै छैन,” उनले भने, “पराकम्प आइरहेका कारण कुन समय के हुन्छ थाहा छैन, मनभरि त्रासले वास गरेको छ।”
भूकम्पका कारण जाजरकोटका पाँच वटा पालिकाका अधिकांश घर सग्ला छैनन्। नलगाड नगरपालिका वडा नम्बर १ देखि ८ सम्म, भेरी-१, ३ र ४ का अधिकांश घरमा क्षति भएको छ। त्यस्तै, छेडागाड, कुशे र बारेकोटमा समेत क्षति पुर्याएको छ।
मानवीय क्षति सबैभन्दा धेरै नलगाडमा भएको छ। भूकम्पबाट नलगाडमा मात्र ५२ जनाको मृत्यु भएको छ। यसपछि भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। छेडागाड नगरपालिकामा एक, जुनिचाँदेमा एक जनाको मृत्यु भएको छ।
गम्भीर प्रकृतिका बिरामीलाई सुविधासम्पन्न ठाउँमा उपचारका लागि लगिएको छ भने पालिकास्थित स्वास्थ्य संस्थामा अन्य बिरामीको उपचार जारी छ। हाल १५० जनाभन्दा बढीको उपचार भइरहेको छ। अझै केहीले उपचार नपाएको समेत बताएका छन्।
छेडागाड-७ मा भूकम्पका कारण घाइते एक व्यक्तिको अहिलेसम्म उद्धार हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताए। त्यहाँ एम्बुलेन्स नजाने भएकाले समस्या भएको उनले बताए।
त्यस्तै, गाउँ गाउँमा फोन सम्पर्क हुन नसकेका कारण घाइतेको संख्या बढ्न सक्ने आकलन गरिएको छ।
अधिकांश मृतकको सनाखत अझै हुन सकेको छैन। अहिलेसम्म पालिकाको नाम र संख्या बाहेक अन्य कुनै विवरण आउन सकेको छैन। भौतिक रूपमा कति क्षति भयो भन्ने कुनै यकीन तथ्यांक छैन।
प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार सरकारी कार्यालय समेत काम नलाग्ने गरी क्षतिग्रस्त छन्। प्रजिअको सरकारी आवास र जिल्ला प्रशासन कार्यालय समेत बस्न नमिल्ने अवस्थामा छन्। -रासस