भूकम्पबारे थप अध्ययन गर्न विशेषज्ञ टोली जाजरकोटमा
जाजरकोटमा शुक्रबार राति गएको भूकम्पबारे थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँ पुगेको छ।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो। उक्त टोलीले भूकम्पबारे समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए।
“कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे उक्त टोलीले अध्ययन गर्नेछ,” उनले भने।
वरिष्ठ भूकम्पविद् डा. अधिकारीले जाजरकोट भूकम्प बझाङ भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको जानकारी दिएका छन्।
शुक्रबार राति ११:४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएपछि सोही स्थान केन्द्रबिन्दु भएर शुक्रबारै राति १२ः८ बजे ४.५, १२ः२९ बजे ४.२, १२ः३५ बजे ४.३ र शनिबार दिउँसो ३ः४० बजे ४.२ म्याग्निच्यूडको पराकम्प पनि गएको थियो।
उक्त भूकम्पमा परेर हालसम्म जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको निधन भइसकेको छ भने २०० भन्दा बढी घाइते छन्।