शक्तिशाली भूकम्पपछि जाजरकोटमा १७५ वटा परकम्प
शक्तिशाली भूकम्पले तहसनहस बनाएको जाजरकोटमा लगातार साना-ठूला परकम्प गइरहेका छन्।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति ११:४७ बजे ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जनधनको ठूलो क्षति गरेको छ।
भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने २०२ जना घाइते छन्। जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो। त्यस्तै, जाजरकोटमा १०५, रुकुम पश्चिममा ८५, दैलेखमा तीन, बैतडीमा तीन, जुम्लामा पाँच र रोल्पामा एक जना घाइते छन्। उनीहरूमध्ये केही गम्भीर छन्।
त्यसयता पनि साना-ठूला परकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रको तथ्यांक अनुसार गएराति १४:४७ बजेदेखि आज अपराह्नसम्म १७५ वटा साना-ठूला परकम्प रेकर्ड भएका छन्।
त्यसमध्ये चार म्याग्निच्यूडभन्दा ठूला पाँच वटा परकम्प रेकर्ड भएका छन्। पछिल्लो पटक अपराह्न ३:४० बजे ४.२ म्याग्निच्यूडको परकम्प गएको छ।
कात्तिक १७ गते राति शक्तिशाली भूकम्प गएपछि पनि चार म्याग्निच्यूडभन्दा बढीका तीन वटा परकम्प लगातार गएका थिए। राति १२:०८ बजे ४.५, राति १२:२९ बजे ४.२ र राति १२:३५ बजे ४.३ म्याग्निच्यूडको परकम्प गएका थिए।
त्यसपछि कात्तिक १८ गते बिहान ४:१६ बजे ४.६ म्याग्निच्यूडको परकम्प गएको थियो। त्यसयता पनि लगातार साना परकम्प गइरहेको केन्द्रले जनाएको छ। साना परकम्पले भने खासै असर गरेका छैनन्। तर स्थानीय बासिन्दा त्रसित छन्।
भूगर्भविद्हरूले पश्चिम नेपालमा ठूलो भूकम्प जान सक्ने अनुमान गर्दै आएका थिए। पछिल्लो ५०० वर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प गएको थिएन। २०७२ सालको ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पपछि यो सबैभन्दा ठूलो भूकम्प हो।