भूकम्पबाट १५७ जनाको मृत्यु, २०२ घाइते
जाजरकोट भूकम्पमा परी दुई जिल्लामा १५७ जनाको मृत्यु भएको छ भने ६ जिल्लामा २०२ जना घाइते छन्।
भूकम्पमा परी शनिबार बेलुकीसम्म जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक एवं सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए। थापाका अनुसार भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १०५ जनाको र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो।
त्यस्तै, भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमसँगै कर्णाली र सुदूरपश्चिमका ६ जिल्लामा २०२ जना घाइते छन्। जाजरकोटमा १०५, रुकुम पश्चिममा ८५, दैलेखमा तीन, बैतडीमा तीन, जुम्लामा पाँच र रोल्पामा एक जना घाइते छन्। उनीहरूमध्ये केही गम्भीर छन्।
गम्भीर घाइतेलाई उपचारका लागि सुर्खेत, नेपालगन्ज र काठमाडौं लगिएको छ। स्थानीय स्वास्थ्य संस्था तथा जिल्ला अस्पतालमा सामान्य घाइतेको उपचार भइरहेको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ। अझै पनि खोज र उद्धारको कार्य जारी रहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता थापाले बताए।
गएराति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ।