भूकम्प प्रभावितलाई सहयोग गर्न देशभरिका व्यवसायीलाई उद्योग वाणिज्य महासंघको आह्वान
निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार रातिको भूकम्पबाट प्रभावितका लागि सहयोग गर्न देशभरिका उद्योगी व्यवसायीलाई अपील गरेको छ।
महासंघले विज्ञप्ति निकालेर भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई आर्थिक लगायत लत्ताकपडा, खाद्यान्न, औषधि, पानी जस्ता अत्यावश्यक सामग्री सहयोग गर्न आफ्ना सबै सदस्य संघ, संस्था, उद्योग प्रतिष्ठान, उद्यमी व्यवसायीमा अपील गरेको हो।
महासंघले स्वास्थ्य तथा विपद् व्यवस्थापन समितिका सभापति भक्तबहादुर हमाल र महासंघ सचिवालयका उपनिर्देशक माधव मुल्मीलाई सम्पर्क गरी सहयोग गर्न अनुरोध गरेको छ।
महासंघले सबै सदस्य उद्योग वाणिज्य संघहरू, उद्यमी व्यवसायी र व्यावसायिक संघसंस्थालाई उद्दार र राहतमा सहयोग गर्न समेत आह्वान गरेको छ। महासंघले भूकम्प प्रभावित जनताको सहयोगका लागि आफ्नातर्फबाट पहल गरी सकेको तथा राहत र उद्धार कार्यलाई तीव्रताका साथ अगाडि बढाउन सरकारसँग अनुरोध पनि गरेको छ।