भूकम्पमा १४३ जनाको मृत्यु, १६६ घाइते
जाजरकोट भूकम्पमा परी शनिबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १४३ पुगेको छ।
जाजरकोट र रुकुम पश्चिममा गरी १४३ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेरसिंह कडायतले बताए। उनका अनुसार दुवै जिल्लामा १६६ जना घाइते छन्। घाइतेलाई उपचारका लागि सुर्खेत, नेपालगन्ज र काठमाडौं पुर्याइएको छ।
भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १०५ जनाको ज्यान गएको छ। त्यस्तै ८१ जना घाइते छन्। रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने भूकम्पमा परी ८५ जना घाइते छन्।
शनिबार बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो। भूकम्पले क्षति पुर्याएका क्षेत्रमा खोज र उद्धार कार्य जारी रहेको डीआईजी कडायतले बताए। खोज र उद्धार जारी रहेकाले मृतकको संख्या अझै थपिन सक्ने उनको भनाइ छ।
शुक्रबार राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्पले जनधनको क्षति भएको हो।