भूकम्प प्रभावितलाई सुदूरपश्चिम सरकारको एक करोड सहयोग
सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले घाइतेको उपचार तथा भूकम्पबाट प्रभावित परिवारको सहयोगका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार सम्मेलन गरी घाइते तथा भूकम्प प्रभावितको उपचारका लागि सहयोग गर्ने निर्णय भएको बताए।
त्यस्तै, घाइतेको उपचारका लागि स्वास्थ्य सामग्री सहित २० जना स्वास्थ्यकर्मीको टोली पठाउने पनि बताए। उनका अनुसार स्वास्थ्यकर्मीको टोली आजै भूकम्प प्रभावित क्षेत्रमा जानेछ।
मुख्यमन्त्री शाहले नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।