खोज, उद्धार र राहतमा एकद्वार प्रणाली
सरकारले भूकम्प प्रभावितको खोज, उद्धार र राहत वितरण जिल्ला विपद् व्यवस्थापन समिति मार्फत मात्रै गर्ने निर्णय गरेको छ।
गृह मन्त्रालयमा शनिबार बसेको सरोकारवालाको बैठकले खोज, उद्धार र राहत वितरण लगायत कार्य एकद्वार प्रणालीबाट गर्ने निर्णय गरेको हो।
भूकम्प प्रभावितको खोज, उद्धार, उपचार र समन्वयका लागि सुर्खेतलाई मुख्य र नेपालगन्जलाई सहायक केन्द्र तोक्ने बैठकले निर्णय गरेको छ।
बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जाजरकोट र रुकुम पश्चिमको विपद् व्यवस्थापन कोषमा पाँच-पाँच करोड रुपैयाँ पठाउने निर्णय गरेको छ।
शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण १३६ जनाको ज्यान गइसकेको छ। नेपाल प्रहरीका अनुसार कम्तीमा १६८ जना घाइते छन्।