कस्तो छ भूकम्पका घाइतेको उपचार तयारी?
सामान्य अवस्थामा समेत स्वास्थ्य सेवाबाट वञ्चित रुकुम र जाजरकोटका बासिन्दालाई विपद्को वेला स्वास्थ्य सेवा पाउन झन् सकस भइरहेको छ।
भौगोलिक विकटता, पर्याप्त स्वास्थ्य संस्थाको अभाव र भएका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नबस्ने समस्याका कारण जाजरकोट र रुकुम जस्ता कर्णाली प्रदेशका जिल्लामा सामान्य अवस्थामा पनि बिरामीले स्वास्थ्य सेवा पाउँदैनन्। सामान्य दुर्घटना र प्रसूति सेवा नपाएर ज्यान गुमाउने यस क्षेत्रमा भूकम्पका घाइतेलाई पनि प्राथमिक उपचार पाउन समस्या भएको छ।
जिल्लामा खटिएका स्वास्थ्यकर्मीका अनुसार धेरैजसो घाइतेलाई सडकमा राखिएको छ। कतिपय स्थानमा उपचारका लागि स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पुगेका छैनन्।
गएराति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प भएको थियो। यो समाचार तयार पार्दासम्म भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १२९ जनाको ज्यान गएको छ। त्यस्तै, १४० जना घाइते छन् भने सयौं घरमा क्षति पुगेको छ। स्वास्थ्य संस्थामा पनि क्षति पुगेको छ।
यो भयावह अवस्था जाजरकोट र रुकुमका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले धान्न सक्ने अवस्था छैन। त्यसो भए त्यहाँ कसरी स्वास्थ्य सेवा प्रवाह भइरहेको छ, घाइतेको उपचारका लागि केकस्ता काम भइरहेका छन् भनेर कर्णाली प्रदेशका १० वटा जिल्लाका स्वास्थ्य सेवा हेर्ने जिम्मेवारी पाएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका प्रमुख डा. रविन खड्कालाई सोधेका थियौं।
डा. खड्काले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुममा घाइतेहरूको उपचार गर्न स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले स्वास्थ्यकर्मी र उपचार सामग्री पठाएको बताए। उनका अनुसार बिहानै दुई वटा गाडीमा चिकित्सक र उपचार सामग्री पठाइएको छ। जसमा केन्द्रबाट २० जना र सुर्खेतबाट १३ जना स्वास्थ्यकर्मीको टोली छ।
त्यस्तै, दैलेख, सुर्खेत, मुगु र डोल्पा लगायत कम प्रभावित जिल्लाका स्वास्थ्यकर्मीलाई पनि प्रभावित क्षेत्रमा खटाइएको छ। लुम्बिनी र गण्डकी प्रदेशबाट पनि स्वास्थ्यकर्मीको टोली उपचार साम्रग्री सहित जाजरकोटतिर हिंडेको छ। उनका अनुसार स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई प्रभावित ठाउँमा पुग्न निर्देशन दिइएको छ।
सामान्य अवस्थाका लागि तयार राखिएको उपचार सामग्री र स्वास्थ्यकर्मीले विपद्को अवस्था धान्न सक्दैनन्। भूकम्प र सडक दुर्घटना जस्ता विपद्का लागि हाडजोर्नी र टाउकोसँग सम्बन्धित विशेषज्ञ र उपचार सामग्रीको आवश्यकता पर्छ। उसै पनि दुर्गममा यस्ता उपचार सामग्री र विशेषज्ञ हुँदैनन्।
त्यसैले विपद्को वेला प्रदेश र केन्द्र सरकारले सहयोग गर्नुपर्ने डा. खड्का बताउँछन्। “प्रारम्भिक तथ्यांक अनुसार धेरै ठाउँका स्वास्थ्यकर्मी हिंडेको भन्ने सूचना छ तर त्यतिले मात्र पुग्छ भन्ने लाग्दैन,” खड्का भन्छन्, “प्रभावित क्षेत्रका लागि धेरैभन्दा धेरै स्वास्थ्यकर्मी र उपकरण चाहिन्छन्, त्यसका लागि हामीले केन्द्र सरकारसँग पनि समन्वय गरिरहेका छौं।”
डा. खड्काले अहिलेसम्म कुन ठाउँका मानिस बढी प्रभावित छन् र कति स्वास्थ्यकर्मी र उपचार सामग्री आवश्यक पर्छ भन्ने यकीन जानकारी नआएको बताए। सोही कारण अनुमानको भरमा उपलब्ध स्वास्थ्यकर्मी र उपचार सामग्री प्रभावित ठाउँमा पठाइएको उनको भनाइ छ।
चिकित्सकको टोली गएर घाइतेको अवस्था र आवश्यक उपचारको निर्क्योल गर्नेछ। सामान्य घाइतेलाई स्थानीय पालिकाको स्वास्थ्य संस्थामा, मध्यमलाई जिल्ला अस्पताल र गम्भीर घाइतेलाई सुर्खेत तथा नेपालगन्जका भेरी अस्पताल र कोहलपुर मेडिकल कलेज पठाउने तयारी भएको छ। “चिकित्सकको टोली प्रभावित क्षेत्रमा गएर उपचार गर्न सकिने बिरामीलाई त्यहाँ उपचार गर्ने र अन्यलाई रेफर गर्ने काम गर्छ,” खड्काले भने।
हाडजोर्नी विशेषज्ञ तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले प्रभावित जिल्लामा गएर अपरेशन थिएटर सेटअप गर्ने तयारी गरिरहेको बताए। जिल्लामै अपरेशन थिएटर सञ्चालन गर्न आवश्यक सामग्री, विशेषज्ञ र अन्य उपकरणहरू केकति चाहिन्छन् भनेर तथ्यांक लिइरहेको उनको भनाइ छ। आजैको साँझमा आफू सहित एनेस्थेसिया, सर्जरी र नर्सिङ टीम जाजरकोट पुग्ने उनले बताए।
भौगोलिक विकटताका कारण जुम्ला र सुर्खेतमा बिरामी ओसार्न असहज भएकाले त्यहीं अपरेशन थिएटर सञ्चालन गर्ने उनको भनाइ छ। डा. रावलका अनुसार प्रभावित क्षेत्रमा प्राथमिक उपचार गर्ने स्वास्थ्यकर्मी पर्याप्त पुगिसकेकाले पनि गम्भीर बिरामीको अपरेशनका लागि प्राथमिकता दिनुपर्नेछ। “हामी प्रभावित क्षेत्रमा छिटै अपरेशन थिएटर सञ्चालन गर्ने तयारीमा छौं, त्यसअघि गम्भीर बिरामीलाई नेपालगन्ज रेफर गरिएको छ,” डा. रावलले भने।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्रभावित क्षेत्रका घाइतेको उपचारका लागि स्वास्थ्य र गृह मन्त्रालयको समन्वयमा सेनाबाट १६, नेपाल प्रहरीबाट ११, वीर अस्पतालबाट ६ र सशस्त्र प्रहरीबाट हाडजोर्नीसँग सम्बन्धित आठ जना स्वास्थ्यकर्मीको टोली उपचार सामग्री सहित पठाएको बताए। यो चिकित्सकको टोलीले अपरेशन थिएटर सञ्चालन गरेर सम्भव भएसम्म त्यहीं उपचार गर्ने र सम्भव नभए रेफर गर्न समन्वय गर्छ,” डा. बुढाथोकीले भने।
जिल्ला प्रशासन कार्यालय, बाँकेले गम्भीर घाइते बिरामी जाजरकोट र रुकुम पश्चिमबाट रेफर हुने भएकाले भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाएको जनाएको छ। जिल्ला प्रशासनल कार्यालयले दिएको जानकारी अनुसार दाङको कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ। भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा शय्या तयारी अवस्थामा राखिएका छन्।
जिल्ला प्रशासन कार्यालयले सहज उपचारका लागि तोकेको फोकल पर्सन नरेश श्रेष्ठका अनुसार अहिलेसम्म नेपालगन्जमा सात जना गम्भीर घाइतेको उपचार भइरहेको छ। त्यस्तै, उपचारका लागि २० जना घाइतेलाई अस्पताल ल्याउँदै गरेको उनले बताए। “नेपालगन्जमा बिरामी ओसार्न एम्बुलेन्सदेखि रगतसम्म तयारी राखेका छौं,” श्रेष्ठले भने।