भूकम्पमा मृत्यु हुनेको संख्या १३२ पुग्यो
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर हालसम्म १३२ जनाको मृत्यु भएको छ।
गएराति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पमा परी ज्यान गुमाउनेहरू जाजरकोट र रुकुम पश्चिमका रहेको प्रदेश प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ।
यसैबीच, प्रदेश सरकारले घाइतेको उद्धार गर्न शुरू गरेको छ। प्रदेश अस्पताल कालागाउँमा १३ जना घाइतेको उपचार भइरहेको छ।
जाजरकोटमा मात्रै ९५ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते छन्। रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते छन्।
उद्धारका लागि तीन वटै सुरक्षा निकायको टोली घटनास्थलमा खटिएका छन्। एक हजार २०० भन्दा बढी सुरक्षाकर्मी परिचालित छन्। नेपाल प्रहरीका ८०० भन्दा बढी सुरक्षाकर्मी खटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
नेपाल प्रहरीका तर्फबाट रुकुम पश्चिममा डीएसपीको कमान्डमा ३२० जना र जाजरकोटमा डीएसपीको कमान्डमा ४५० जनाको टोली खटिएको छ। चौरजहारी बेस क्याम्पबाट १०–१० जनाको टोली जाजरकोट र रुकुम पश्चिमका लागि पठाइएको छ।
प्रदेश अस्पताल कालागाउँमा १६ जना घाइतेको उपचार भइरहेको छ। जसमध्ये चार जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
प्रदेशका भौतिक पूर्वाधार एवं शहरी विकासमन्त्री मंगल शाही र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री कृष्ण बीसीले प्रदेश अस्पतालको अनुगमन गरेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उनीहरूले घाइतेको उपचारका कुनै कमी हुन नदिन अस्पतालका स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन्।