भूकम्पपीडितलाई कांग्रेसले ५० लाख रुपैयाँ दिने
नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि ५० लाख सहयोग गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। “भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाली कांग्रेसले ५० लाख नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ,” पौडेलले भने।
यससँगै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपील गरेको छ। भूकम्पपीडितको उद्धार, राहतमा एकजुट भएर लाग्न सबै राजनीतिक दललाई आग्रह पनि गरेको छ।
गएराति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्पका परी १२९ जनाको मृत्यु भएको छ भने १४० जना घाइते छन्।
दुवै जिल्लामा सयौं घर भत्किएका छन्। अधिकांश घर चर्किएको विवरण आइरहेको प्रहरीले जनाएको छ।