पश्चिम नेपालमा २०७२ सालपछिको शक्तिशाली भूकम्प
भूगर्भविद्हरूले पश्चिम नेपालमा ठूलै भूकम्प आउने अनुमान गरेका थिए भने गएरातिको भूकम्पले त्यसको पुष्टि गरेको छ।
६०० वर्षभन्दा बढी समयदेखि जारी ‘टेक्टोनिक प्लेट’ को तनावका कारण पश्चिम नेपालमा ठूलै भूकम्प आउने भूगर्भविद्हरूले चेतावनी दिंदै आएका थिए।
कात्तिक १७ गते मध्यरातमा आएको भूकम्पले जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु बनाउँदा यस क्षेत्र नराम्ररी प्रभावित हुन पुगेको छ। ठूलै धक्का महसूस गरिएको भए पनि भूकम्प ६.४ म्याग्निच्यूडको थियो।
भूकम्पमा परी मृत्यु हुनेको संख्या शनिबार अपराह्नसम्म १४३ पुगिसकेको छ। त्यस्तै, १६६ जना घाइते छन्।
जाजरकोटमा आएको भूकम्पको धक्का त्यहाँबाट ५०० किलोमिटर परको काठमाडौं र दिल्लीमा पनि पुगेको थियो। भूकम्पको धक्का भारतको व्यापक जनसंख्या भएको उत्तरका ठूला शहरमा तथा तिब्बतका पठारमा पनि महसूस गरिएको थियो। गएराति भूकम्पले हल्लाउँदा धेरै जना त्राहिमाम् भएका थिए।
पश्चिम नेपालमा हालैका केही महीनायता भूकम्प गइरहेका थिए। बझाङ केन्द्रबिन्दु बनाएर गत महीना गएको ५.४ र ६.३ म्याग्निच्यूडको भूकम्पले एक जनाको मृत्यु भएको थियो भने भौतिक संरचनामा क्षति पुगेको थियो।
जाजरकोटको भूकम्पले त्यो भेगको मुनि बनिरहेको उथलपुथललाई निकास दिएको संकेत मिले पनि ठूलो उथलपुथल अझै निस्केको रहेनछ भन्ने पुष्टि भएको छ। भारतीय प्लेट हरेक वर्ष औसत २५ मिलिमिटिरका दरले यूरेशिएन प्लेटतफ सर्दै छ। यही कारणले नेपालको भूगोल भूकम्पीय जोखिममा पर्ने गरेको हो।
पश्चिम नेपालमा १६औं शताब्दीयता कुनै ठूलो भूकम्प गएको छैन। तसर्थ पनि त्यस भेगमुनि निर्माण भइरहेको हलचल कुनै न कुनै वेला निस्कने अनुमान भगर्भविद्हरूको थियो।
तिब्बतका गुम्बाहरूको ऐतिहासिक लिखतहरूमा १ जून १५०५ का दिन बिहान ६ बजे जमीन बेस्सरी हल्लिएको उल्लेख थियो। तिब्बतमा गएको ठूलो भूकम्पको धक्कापछि त्यस क्षेत्र र त्यसको नजिक पर्ने पश्चिम नेपालमा ठूलो भूकम्प गएको थिएन। सोही समयमा भारतको आग्रा लगायतको क्षेत्रमा अनुमानित ८.९ म्याग्निच्यूडको भूकम्पले ठूलो क्षति गराएको अभिलेखहरूमा उल्लेख भएको पाइन्छ।
गएरातिको भूकम्पले जमीनमुनिका प्लेटहरू सर्ने क्रममा निर्माण भएका सबै उथलपुथल निकास नभएको हुन सक्छ भन्ने अनुमान भूगर्भविद्हरूले गरेका छन्। पश्चिम क्षेत्रमा जान सक्ने ८ म्याग्निच्यूडको भूकम्पले हिमाली क्षेत्रमा ६ मिटर जति जमीन सर्न सक्ने अनुमान गरिएको छ।
भौगर्भिक विकासक्रमका आधारमा २०७२ सालको भूकम्पभन्दा ठूला भूकम्प पनि जान सक्ने विज्ञहरूले बताउँदै आएका छन्। “२०७२ सालको भन्दा ठूलो भूकम्प जाने सम्भावना उत्तिकै छ,” भूकम्प प्रविधि राष्ट्रिय समाजका विज्ञ नारायण श्रेष्ठले केही समयअघि भनेका थिए।
२०७२ सालको विनाशकारी भूकम्पले पश्चिम नेपाको आधा क्षेत्रलाई प्रभावित नपारेको भए पनि त्यो क्षेत्रमा भूकम्पको जोखिम भने रहेकै थियो। जनचेतनाको अभाव र कमजोर निर्माणका कारण कुनै ठूलै क्षति हुन सक्ने अनुमान विज्ञहरूले गर्दै आएका छन्।
गएरातिको भूकम्पले माटोको जोडाइ भएका धेरै घर भत्किएका छन्। भूकम्पले रुकुम पश्चिमको कम जनसंख्या भएको क्षेत्रमा बढी प्रभाव पारेको भएर क्षति कम भएको देखिन्छ। यद्यपि राति भूकम्प गएकाले हताहत हुनेको संख्या बढ्न सक्ने जिल्ला प्रशासन कार्यालय, जाजरकाेटका प्रशासकीय अधिकृत हरीशचन्द्र शर्मा बताउँछन्।
भूकम्प प्रभावित क्षेत्रमा मोबाइलबाट खिचेका तस्वीरहरूले पक्की घरहरू पनि भत्किएको देखिएका कारण भूकम्पको धक्का तीव्र रहेको अनुमान गरिएको छ। पश्चिम नेपालबाट वैदेशिक रोजगारीका लागि पुरुषहरू विदेश जाने क्रम तीव्र भएकाले हताहत हुनेहरूमा महिला, बालबालिका तथा वृद्धवृद्धा बढी छन्।
भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकाको छिमेकी स्थानीय तह नलगाड नगरपालिका नराम्ररी प्रभावित भएको छ। घर भत्किंदा उपमेयर सरिता सिंहको मृत्यु भएको छ। प्रभावित क्षेत्रमा पुग्ने सडकमा ढुंगा खस्दा बाटो अवरुद्ध छ भने पशुचौपाया पनि ठूलो संख्यामा प्रभावित छन्।
अधिकांश घाइतेलाई चौरजहारी तथा रुकुमकोटमा लगिएको छ। गम्भीर घाइतेलाई सुर्खेत र नेपालगन्ज लगिएको छ।
सेनाले शनिबार एकाबिहानै आफ्ना दुई वटा हेलिकोप्टर प्रभावित क्षेत्रमा पठाएर राहत सामग्री पुर्याउने र घाइतेलाई उद्धार गर्ने काम थालिसकेको छ। त्यस्तै, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पनि उद्धारमा खटिएका छन्।
(अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)