भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री जाने कि उद्धारकर्मी र राहत पठाउने?
“विपत्स्थलमा प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ व्यक्तिहरू पुग्नु ‘डिजास्टर टुरिज्म’ हो। यो क्षम्य हुँदैन।”
गएराति जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पले १२९ जनाको मृत्यु भएको छ भने १४० जना घाइते छन्। क्षतिको अवस्था बुझ्न यति वेला प्रधानमन्त्री पुष्पकमल दाहालको जाजरकोट गएका छन्। यसको सबैतिर आलोचना हुन थालेको छ।
भूकम्पले क्षति भएको क्षेत्रमा विशिष्ट व्यक्तिभन्दा पनि उद्धारकर्मी र राहतको आवश्यकता भएको भन्दै सामाजिक सञ्जालमा प्रश्न गर्न थालिएको छ। त्यहाँ उच्चपदस्थ व्यक्तिभन्दा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पठाउन माग गरिएको छ।
विज्ञ पनि भूकम्प प्रभावित क्षेत्रमा अहिले उच्चपदस्थ व्यक्तिभन्दा पनि उद्धारकर्मी र राहत आवश्यक भएको बताउँछन्। “यस्ता विपत्स्थलमा प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ व्यक्तिहरू पुग्नु ‘डिजास्टर टुरिज्म’ हो र यो क्षम्य हुँदैन,” भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)का अध्यक्ष आमोदमणि दीक्षित भन्छन्।
जहाँ उद्धारकर्मी पुग्नुपर्ने हो, त्यहाँ प्रधानमन्त्री पुगेर केही नहुने अध्यक्ष दीक्षित बताउँछन्। “जहाँ वैज्ञानिक र विज्ञ पुग्नुपर्ने हो, त्यहाँ प्रधानमन्त्री पुगेर काम छैन। मन्त्री, सचिव, डीआईजी, सचिव, सेनापति पुगे पनि काम छैन,” उनी भन्छन्, “प्रधानमन्त्री त्यहाँ पुग्दा हामीले सोचेभन्दा धेरै खर्च हुन्छ। त्यो खर्चको सदुपयोग अन्यत्र हुन सक्छ।”
उनी २०७२ सालको गोरखा भूकम्पको उदाहरण दिन्छन्। मृत्यु भएकामध्ये ९९ प्रतिशत नागरिकले भूकम्प गएको तीन मिनेटभित्र ज्यान गुमाएको उनी बताउँछन्।
उद्धार टोलीले पनि केही हदसम्म नभ्याउने अवस्थामा प्रधानमन्त्री पुग्दा त्यहाँको अवस्था केही नफेरिने उनको भनाइ छ। बरु यति वेला प्रधानमन्त्री जाने भनिएको हेलिकोप्टरमा राहत पठाएर सदुपयोग गर्न सकिने उनको सुझाव छ।
भूकम्पको क्षति कम गर्न समयमा नै जोखिम न्यूनीकरणका लागि आवश्यक काम गर्नुपर्ने उनको भनाइ छ। “अहिले हामीले राहत तथा उद्धारमा ८० प्रतिशत र जोखिम न्यूनीकरणमा २० प्रतिशत मात्र ध्यान दिएका छौं तर यस्ता विपत् कम गर्न ठीक उल्टो गरेर ८० प्रतिशत जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्छ,” अध्यक्ष दीक्षित भन्छन्।
उनी भूकम्प लगायत विपत्मा विशिष्ट व्यक्ति नगएर उद्धार गर्ने मान्छे र राहत सामग्री पठाउनुपर्ने बताउँछन्। “भूकम्प गयो प्रधानमन्त्री जाने, हवाई दुर्घटना भयो प्रधानमन्त्री जाने, बाढी गयो प्रधानमन्त्री पुग्ने राम्रो होइन। प्रधानमन्त्रीले आफू त्यहाँ नपुगी प्रभावितलाई राहत, उद्धार र संरक्षण गर्न सक्ने संयन्त्र बनाउनुपर्छ,” उनी भन्छन्।