भूकम्पको केन्द्रबिन्दु बारेकोटका उपाध्यक्ष भन्छन्- सबै जनता सडकमा छन्, धान्नै नसक्ने अवस्था छ
भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटको बारेकोट गाउँपालिकामा स्थानीय सरकारले धान्न नसक्ने अवस्था आएको छ।
गएराति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १२९ जनाको ज्यान गएको छ। त्यस्तै, १४० जना घाइते छन् भने सयौं घरमा क्षति पुगेको छ।
जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते छन्। त्यस्तै, रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते छन्।
भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकाका उपाध्यक्ष नरबहादुर गिरीले आफूहरूले धान्नै नसक्ने अवस्था आएको बताएका छन्। हिमालखबरसँग टेलिफोनमा कुराकानी गर्दै उपाध्यक्ष गिरीले भने, “मानवीय क्षति त भएको छैन तर सबैजसो घर भत्किएका छन्। जनता सडकमा छन्।”
कस्तो छ केन्द्रबिन्दु भएको गाउँपालिको अवस्था? उपाध्यक्ष नरबहादुर गिरीसँगको कुराकानी:
गएराति खाना खाएर सुतिसकेका थियौं। एकाएक भूकम्प आएपछि होहल्ला भयो। सबैतिरबाट फोन आउन थाल्यो।
त्यसपछि अध्यक्षलाई मोटरसाइकलमा राखेर राति नै गाउँतिर निस्किएँ। अन्य जनप्रतिनिधि र स्थानीय बासिन्दालाई पनि परिचालन गर्यौं। सबैतिर जनप्रतिनिधि र स्थानीय बासिन्दा उद्धारमा खटिए। तत्काल उद्धार गर्न सकेकाले मानवीय क्षतिबाट जोगिएको छ।
भूकम्पको केन्द्रबिन्दु भए पनि मानवीय क्षति हुन पाएन। अहिलेसम्म चार जना घाइते भएको जानकारी आएको छ। घाइतेलाई पनि तत्कालै उपचारका लागि स्वास्थ्य संस्थामा लग्ने व्यवस्था गर्यौं। चारै जनाको उपचार भइरहेको छ, स्वास्थ्य अवस्था सामान्य छ।
मानवीय क्षतिबाट जोगिए पनि भौतिक क्षति भने अत्यधिक भएको छ। हामीले धान्नै नसक्ने अवस्था आएको छ।
हाम्रो गाउँपालिकामा तीन हजार ५८७ घर छन्। त्यसमध्ये दुई हजार घरभित्र त जानै नसक्ने अवस्था छ। बाँकी घर पनि उच्च जोखिममा छन्। कुनै घर सग्लो छैन। सबैमा क्षति पुगेको छ।
रातिदेखि नै सबै जनता सडकमा छन्। उनीहरूलाई बसोबासको व्यवस्था गर्न गाह्रो भइरहेको छ। खानपिनका लागि पनि समस्या छ। घरभित्र भएका अन्नपात र सरसामान पनि क्षति पुगेको छ।
घरसँगै अन्य भौतिक संरचनामा पनि क्षति पुगेको छ। स्कूल, स्वास्थ्य चौकीमा क्षति पुगेको छ। स्वास्थ्य चौकीमा उपचार गर्न सकिने अवस्था थिएन। त्यसैले आकस्मिक उपचारका लागि बेडको व्यवस्था गरेका छौं। स्वास्थ्यकर्मी पनि आकस्मिक उपचारका लागि तयार भएर बसिरहेका छन्।
हिजो रातिदेखि अहिलेसम्म गाउँपालिकाका लगभग सबै गाउँमा पुगेका छौं। हिंडेर दुई–तीन घण्टा लाग्ने ठाउँमा प्रहरी टोली गएका छन्।
स्थानीय जनप्रतिनिधिलाई खटाएका छौं। अप्ठ्यारो परेको स्थानमा उद्धार गर्न र आवश्यक परेमा जानकारी दिन भनेका छौं।
अहिले उद्धारमै जोड दिएकाले क्षतिको विवरण संकलन गर्न बाँकी नै छ। अब क्षतिको विवरण संकलनतिर लाग्छौं।
तर स्थानीय बासिन्दालाई खानपिन र बसोबासको समस्या छ। स्थानीय सरकारले व्यवस्थापन गर्न सक्ने अवस्था छैन। त्यसैले प्रदेश र संघीय सरकारसँगै संघसंस्थालाई सहयोगका लागि आग्रह गर्छु।