भूकम्पबाट रुकुमका दुई गाउँपालिकामा २७ जनाको मृत्यु
भूकम्पका कारण पश्चिम रुकुमको आठबीसकोट र सानीभेरी गाउँपालिकामा मात्रै २७ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार आठबीसकोट नगरपालिकामा अहिलेसम्म २० जनाको मृत्यु भएको छ।
त्यस्तै, सानीभेरी गाउँपालिका–२, चाइनाबगरमा सात जनाको मृत्यु भएको छ। उनका अनुसार हालसम्म ४६ जना घाइते भएको विवरण प्राप्त भएको छ।
प्रहरीका अनुसार आठबीसकोट नगरपालिकाका वडा नम्बर ११, १२, १३ र १४ मा र सानीभेरी-२ मा ठूलो मानवीय क्षति भएको छ। तत्कालका लागि मानिसको उद्धारमा ध्यान दिएकाले भौतिक संरचनामा पुगेको क्षतिको विवरण पछि संकलन गरिने प्रहरी निरीक्षक खड्काले बताए।
हाल नेपाल प्रहरी, नगर प्रहरी, जनप्रतिनिधि लगायतको टोली उद्धारमा खटिएको छ। घाइतेहरूको जिल्ला अस्पताल सल्ले, आठबीसेकोट-९, राजीनगर अस्पतालमा उपचार भइरहेको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले दिए।
भूकम्पका कारण सानीभेरी गाउँपालिका-१ मा पर्ने पक्की पुलमा क्षति पुगेकाले उद्धारमा समस्या भएको थियो। अहिले सहज बनाइएको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले बताए।
गएराति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्पले जाजरकोट र पश्चिम रुकुममा ७० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सयौं घाइते छन्। स्थानीय स्वास्थ्य संस्थामा उनीहरूको उपचार भइरहेको छ।