भूकम्पः सानीभेरीका पाँचै मृतकको पहिचान खुल्यो
गएराति गएको भूकम्पमा परी रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेमा वडा नम्बर २ परियार टोलका महावीर दमाईंकी छोरी १२ वर्षीया मनीषा परियार, वडा नम्बर १ चाइनाबगरका ३१ वर्षीय धनवीर पुन, सोही वडाकै २८ वर्षीया चुम्निमा पुन, आठ वर्षका यमराज पुन र दुईवर्षे सितम पुन भएको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए।
भूकम्पमा परी हालसम्म १० जना घाइते भएको विवरण प्राप्त भएको छ। त्रिवेणी, बाफीकोट गाउँपालिका र मुसीकोट नगरपालिकामा मानवीय क्षति भएको विवरण हालसम्म आएको छैन। चौरजहारी नगरपालिकामा भूकम्पमा परी घाइते भएकाको उद्धार भइरहेको र मानवीय क्षति नभएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताए।
जिल्लाको आठबिसकोट नगरपालिका भने ठूलो मानवीय क्षति भएको बताइएको छ। तर प्रहरीले हालसम्म कति जनाको मृत्यु भयो भन्ने यकीन जानकारी नआएको बताएको छ।
थप समाचार
भूकम्पले जाजरकोटमा ३४ र रुकुममा ३६ जनाको मृत्यु
जाजरकोट भूकम्पः एक घण्टामा तीन परकम्प