भूकम्पले जाजरकोटमा ३४ र रुकुममा ३६ जनाको मृत्यु
गएरातिको भूकम्पमा परेर पश्चिमी रुकुम र जाजरकोटमा मात्रै कम्तीमा ७० जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
शनिबार बिहान ५ बजेसम्म रुकुम पश्चिममा मात्रै ३६ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले हिमालखबरलाई जानकारी दिए। स्थानीय जनप्रतिनिधिसँग टिपेको विवरण अनुसार ५३ जना घाइते भएको पन्तले बताए।
त्यस्तै, जाजरकोटमा ३४ जनाको.ज्यान गएको पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरीशचन्द्र शर्माले जानकारी दिए। गम्भीर घाइते आठ जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ भने जिल्ला स्वास्थ्य कार्यालयमा २१ जनाको उपचार चलिरहेको छ।
शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो।