‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
‘अन्य समुदायले आफूलाई चाहिनेभन्दा धेरै प्रकृतिबाट दोहन गरिरहेका छन्। राउटेले भने आफूलाई चाहिने जति मात्रै प्रकृतिबाट लिइरहेको छ।’
एक दशकदेखि देशका विभिन्न जिल्लामा रहेका राउटे समुदायको जीवनशैलीलाई पछ्याइरहेका किशोर शर्माले आठ हजारभन्दा बढी तस्वीर खिचे। त्यसमध्ये ५५ तस्वीर छानेर पुस्तकाकार दिएका छन्, लिभिङ इन द मिस्ट। यसमा राउटे समुदायको बसोबास, खानपान, धर्म, संस्कार र दैनिक क्रियाकलापलाई उतारेका छन्।
कुनै समुदायलाई लामो समयसम्म पछ्याएर उनीहरूको जीवन बोल्ने तस्वीर संकलन गरेका शर्माको लिभिङ इन द मिस्टले प्रशंसा पनि पाइरहेको छ। यो पुस्तकसँगै तस्वीर संकलन अनुभव, राउटे समुदायको सभ्यता र रहनसहनबारे हिमालखबरको प्रस्तुति किताबका कुरामा उनै लेखक शर्मासँग अनिता भेटवालले गरेको कुराकानी:
फरक प्रसंगबाट कुराकानीको शुरूआत गरौं। तपाईंले खिचेका प्रायः तस्वीर श्यामश्वेत हुन्छन्, किन?
तस्वीरमा श्यामश्वेत भन्नाले तस्वीरको ‘एस्थेटिक’ भाषा हो। मेरा तस्वीरमा अभिव्यक्त गर्ने रङ यही मन परेर हो। श्यामश्वेतलाई चाहिं रङ मानिंदैन तर यो पनि एउटा रङ नै हो।
अर्को, यो एउटा फोटोग्राफरको आफ्नो शैली पनि हुन्छ। मलाई भने त्यही शैलीलाई समातेर यो शृंखला गर्न मन लाग्यो र त्यसै अनुसार गरें पनि। शुरूदेखि नै मलाई यही विधामा अभिव्यक्त गर्न सहज भयो।
खासमा फोटोग्राफीको इतिहास पनि यही रङसँग जोडिएको छ। त्यसैको प्रभाव र छापले पनि हुन सक्छ मलाई श्यामश्वेतसँग खेल्न मन पर्यो। यसैको अभ्यास धेरै गरिएकाले पनि यही छनोट गरें।
एक दशकभन्दा बढी समयदेखि राउटे समुदायलाई पछ्याउँदै खिचिएका तस्वीरको संकलन पुस्तकाकार रूपमा आएको छ। कसरी उनीहरूलाई पछ्याउँदै पश्चिम नेपाल पुग्नुभयो?
सन् २०११ मा ‘फोटो सर्कल’ संस्थाबाट फोटोग्राफी सम्बन्धी कार्यशाला गरिरहेका थियौं। त्यो कार्यशालमा १२ जना फोटोग्राफर थियौं। त्यसमा फोटो कथा बनाउने शृंखलामा काम गर्नुपर्ने थियो। त्यस वेला राउटे समुदायका अगुवा काठमाडौं आएर प्रधानमन्त्री र मन्त्रीसँग पनि भेट गरेका विषय सञ्चारमाध्यममा आइरहेका थिए।
उनीहरूले प्रधानमन्त्री तथा मन्त्रीलाई भेटेका तस्वीर पनि आएका थिए। तर उनीहरू बसेको ठाउँमै गएर राउटे समुदायको अवस्थाबारे कमै तस्वीर आएका थिए। मलाई उनीहरूको जीवनशैलीबारे जान्न मन लाग्यो र पश्चिम नेपालतिर लागें।
काठमाडौंको शहरिया जीवनमा अभ्यस्त मान्छे, पहिलो पटक राउटे समुदायलाई नजिकबाट अवलोकन गर्दा कस्तो महसूस गर्नुभयो?
म बारामा जन्मिएको हुँ तर काठमाडौंमा हुर्कें। कामको सिलसिलामा काठमाडौं बाहिर पनि धेरै गएको छु।
राउटे समुदायमा पहिलो पटक पुगेर उनीहरूलाई देख्दा एक किसिमको ‘कल्चरल शक’ नै भएको थियो। किनभने उनीहरू गाउँको बसोबासभन्दा अझै फरक रहनसहन, वेशभूषामा थिए। शुरूआतमा एकदमै बेग्लै संसार जस्तो लाग्यो, उहिलेको संसार जस्तो लागेको थियो। बिस्तारै उनीहरूको सभ्यताबारे बुझ्दै गएपछि सहज पनि लाग्दै गयो। अहिले पनि तस्वीर हेर्दा ‘अहो! उनीहरू त पुरानै सभ्यतामा छन्’ भन्ने लाग्छ।
सल्यान, दैलेख र अछाम लगायत जिल्लामा रहेका राउटे समुदायसँग एक दशक उठबस गर्नुभयो। उनीहरूको समुदाय कस्तो रहेछ?
राउटे समुदाय घुमन्ते हो। यो घुमन्ते सभ्यताकै निरन्तरता हो। त्यो भनेको खेतीपाती वा कुनै काम नगर्ने हो। जग्गाजमीन, घर जोड्ने आममानिसको सोच र लोभभन्दा बाहिरका व्यक्ति हुन् उनीहरू। राज्यले प्रयास गर्दा पनि नागरिकता लिएका छैनन्।
उनीहरूको १४० जना जतिको समूह छ। त्यति सानो समुदायको पनि आफ्नै भाषा छ। उनीहरूले हामीलाई चाहिं ‘दुनियाँ’ र आफूलाई ‘राउटे’ भन्ने गरेका छन्। अर्थात्, उनीहरू आफूलाई आममानिसभन्दा अलग र फरक ठान्छन्। आफूलाई फरक देखाउँछन् पनि। त्यसैले पनि यो पुरानो घुमन्ते सभ्यता आजसम्म बाँचिरहेको छ।
राउटे समुदायका धर्म, संस्कृति, जन्म र मृत्यु संस्कार कस्ता हुँदा रहेछन्?
राउटे समुदायले हिन्दू धर्म नै मानेको पाइन्छ। धेरैजसोको थर शाही छ। कतिले ठकुरी क्षेत्रीको दाबी गर्छन्। यही कामको सिलसिलामा राउटेबारे मानवशास्त्रीहरूको अध्ययन पनि हेरें, जस्तो यूहान डाइहार्ड, डोरबहादुर विष्ट लगायतको। यूहान डाइहार्डले राउटे समुदायले आफूलाई क्षेत्री भने पनि त्यो अनुसारको संस्कार नभएको विश्लेषण गरेका छन्।
राउटे समुदायले जनै लगाउँदैन। दशैं लगायत चाडपर्व एकदमै रमाइलो गरी मनाउँछ। खसी र पैसा चाहियो पनि भनिरहेको हुन्छ।
उनीहरू हिन्दू परम्परा नै मान्छन्। जन्म र मृत्युको कर्म चाहिं प्रत्यक्ष देख्न पाइनँ। मैले बुझे अनुसार मृत्यु संस्कार अलि फरक छ। उनीहरू मृत्युपछि जलाउँदैनन्, मृत्यु भएको मान्छेका सबै सामान सहित गाड्ने गर्छन्। कसैको मृत्यु भएमा त्यो ठाउँ चाँडै छाड्नुपर्ने मान्यता पनि छ।
एक ठाउँबाट अर्को ठाउँमा सर्ने निश्चित समय हुन्छ कि आफूखुशी हिंड्छन् वा कुनै नियम बनाएका छन्?
यस्तो विषयमा खुलेर कुराकानी गर्दैनन्। हामी यसै गरी ठाउँ छाड्छौं भनेर सामान्य जवाफ दिन्छन्। एक पटक एकै ठाउँमा महीना दिनसम्म सँगै बसेको थिएँ। उनीहरूले त्यो ठाउँ छोडेपछि फर्किएँ। कुनै ठाउँमा एक साता, कुनै ठाउँमा महीना दिन त कुनै ठाउँमा त्योभन्दा बढी पनि बसेको पाएँ। तर यति नै समयमा र यही नियमले बस्ने र ठाउँ छोड्ने भन्ने चलन छैन।
अर्को रोचक पक्ष चाहिं १२ वर्षमा फेरि उही ठाउँ फर्किन्छन् भन्ने सुनेको छु। त्यसरी बस्दा समूह बनाएर छुट्टिएको पाएको छु। जंगलमा एकै ठाउँमा बस्दा त्यहाँको स्रोत पनि कम हुने भएकाले पछिल्लो समय धेरै बाँडिने गरेका छन्।
पहिले सबै मानव समुदाय वनजंगलमा बस्थे। बिस्तारै निश्चित भूगोलमा थिग्रिंदै गएकाले नै वर्तमान समाज निर्माण भएको भन्ने इतिहास पाइन्छ। यसरी हेर्दा राउटे समुदाय पुरानै समयमा छुटे जस्तो लाग्दैन?
एक हिसाबले हो। मानव सभ्यता अहिलेको युगसम्म आइपुग्यो तर राउटे समुदाय अहिले पनि घुमन्ते र खेती किसानी नगर्ने समुदायका रूपमा नै देखिन्छ। उनीहरूको बसोबास, जीवनशैलीले फरक पक्कै देखाएको छ। यसरी जंगलमा नै आश्रित भएर रहने अन्य देशमा पनि छन्।
नेपालमा राउटे समुदायको बसोबासलाई लिएर कुराकानी भएको छ। अरू पनि मौसमी घुमन्ते समुदाय छन्। जस्तो- संखुवासभामा एउटा समुदायका मान्छे चौंरी लिएर केही समय घर बाहिर नै बस्छन्। यति हो, उनीहरू खेतीपाती पनि गर्ने र जंगलमा नै आश्रित नहुने भएकाले चर्चा भएन।
अहिले प्रविधिको जमाना छ। जीवनशैली हेर्दा राउटे समुदाय एक किसिमले पुरानै समयमा छुटे जस्तो लाग्छ। यो पनि एउटा सभ्यता नै हो जसलाई म सम्मान गर्छु।
उनीहरूको जीवनशैलीमा पनि पछिल्लो समय केही परिवर्तन आएको छ। तपाईंले नजिकबाट नियाल्दा केकस्ता परिवर्तन देख्नुभयो?
राउटे समुदायका मान्छेको जन्म, मृत्यु जंगलमै हुने हो। जंगल संरक्षणको अवधारणा आएपछि केही अप्ठ्यारो भएको देखिन्छ। रहनसहन र जीविकोपार्जनमा पनि असर परेको छ। पहिला जहाँको पनि रूख काट्न र त्यसको सदुपयोग गर्न पाउँथे, कुनै बन्देज थिएन। अहिले सामुदायिक वनको अवधारणा आएपछि केही खुम्चनुपरेको छ। त्यसले द्वन्द्वको स्थिति पनि आयो।
नेपालका विभिन्न गाउँमा बाटो पुगेको छ, ससानो बजार बनेको छ। त्यसले पनि उनीहरूको बसोबास नजिक चहलपहल बढाएको छ। काठका भाँडा बनाएर खाद्यान्नसँग साटफेर गर्ने परम्परागत जीवनशैली थियो। पैसाको कारोबार नगर्ने तर अन्नसँग साट्ने गर्थे।
अहिले सामुदायिक वनले गर्दा खुलेर काठका भाँडा बनाउने काम गर्न सकेका छैनन्। पहिले जस्तो अहिले बजारले खपत पनि गर्दैन। अर्कातिर, राज्यले भत्ता पनि दिन थालेपछि जीवनशैली फेरिएको छ। अन्य समुदायसँगको घुलमिल पनि बढ्दै गएको छ।
भत्ता ढिलो आयो, कम आयो भन्ने गुनासो गरेको सुनिन्छ। भत्ताले मात्रै पुग्छ कि अरू केही गर्नुपर्छ?
राउटे समुदायले प्रायः भत्ता आएन भन्ने नै गुनासो गरिरहेको हुन्छ। हाम्रो कुरा सरकारसम्म पुर्याइदिनुपर्यो भन्ने गरेका छन्। उनीहरूलाई पैसा दिन थालेपछि नै केही असर पर्न थालेको हो। भत्ता दिन थालेको पनि धेरै समय भएको छैन। संघीय सरकारले ५०० रुपैयाँबाट शुरू गरेको भत्ता अहिले पाँच हजार पुगेको छ।
त्यस्तै, प्रदेश सरकारले पनि भत्ता दिने गरेको छ। यसरी पैसा दिनुभन्दा अर्को कुनै माध्यमले सहयोग गर्न सकिन्थ्यो कि भन्ने लाग्छ। पैसाले उनीहरूलाई कामभन्दा भत्तामा आश्रित बनाएको छ। परम्परागत काम पनि कम गर्न थालेका छन्।
पछिल्लो समय राउटे समुदायका मान्छे पनि विभिन्न क्रियाकलापमा सहभागी भएका खबर आउन थालेका छन्। जस्तो- रक्सी खाएर गाउँमा झैझगडा गरेका घटना बाहिरिएका छन्। यसलाई कसरी हेर्नुभएको छ?
जब समुदायको आवश्यकता नबुझी काम गरिन्छ, त्यसले पनि समस्या निम्त्याउँदो रहेछ भन्ने लागेको छ। अहिले केही समस्या आएको छ। यसबारे मैले पुस्तकमा पनि लेखेको छु।
कहिलेकाहीं ‘भिक्टिम ब्लेमिङ’ गरेको जस्तो पनि लाग्छ। आश्रित बनाउने र यिनीहरू आफैं बिग्रिए भन्ने गरेको पनि देखिएको छ। राउटेहरू मागेर खान पल्किए, भत्ताले बिगार्यो भन्ने खालका कुरा सुनिन्छन्। तर उनीहरूलाई कसले बिगार्यो र केले बिगार्यो? नीतिनियम बनाउँदा ध्यान पुगेन कि? जंगलमा बस्ने समुदायलाई अरू कुनै सहयोगको विकल्प नहेरी सीधै पैसा दिंदा त्यसले पो समस्या ल्यायो कि?
केही समयअघि दैलेखमा पुग्दा एउटा संस्थाले उनीहरूलाई सहयोग गरिरहेको देखेको थिए। त्यो संस्थाले बोतलको पानी वितरण गरिरहेको थियो। उनीहरूले त्यसरी बाँडिएको बोतलको पानी खाएको देखिएन तर पानी फालेर बोतल लगिरहेका थिए। अब त्यो बोतलमा रक्सी हाल्छन्। किनकि उनीहरूको त बगेको पानी नखाने, मूलको पानी मात्र खाने भन्ने संस्कार छ। त्यही कारण पनि मूलको पानी स्रोत हेर्दै बस्छन्।
हुन त रक्सीको समस्या अन्य देशका आदिवासी समुदायमा पनि छ। फेरि परम्परागत जीवनशैली छाडेर एकै पटक आधुनिक भइदिनुपर्यो भनेर पनि हुँदैन, त्यसको पनि तरीका होला। लाद्ने किसिमले काम गर्दा न आफू जस्तो रहन्छन् न त अरू जस्तो हुन्छन्। त्यसैले राउटे समुदायको जीवनलाई सहज बनाउने भनेर नीतिनियम र कार्यक्रम बनाउँदा उनीहरूलाई सदुपयोग वा दुरुपयोगको बाटोमा लान्छ कि भनेर पनि हेर्नुपर्छ।
अघि समाजशास्त्री डोरबहादुर विष्टको नाम लिनुभयो। सन् १९७२ मा राउटेलाई भेटेका मानवशास्त्री विष्टले भविष्यमा उनीहरूले आफ्नो समुदाय बाहिर बिहेबारी गर्ने सम्भावना देखाएका थिए। अहिले त्यो सम्भावना कत्तिको छ?
यूहान डाइहार्डले पहिलो पटक राउटेलाई भेटेर तस्वीर खिच्नुभएको रहेछ। त्यसको दुई वर्षपछि डोरबहादुर विष्टले साक्षात्कार गर्नुभएको रहेछ। अहिलेसम्म घुमन्ते सभ्यतालाई निरन्तरता दिइराखेको राउटे समुदाय मात्र हो। केही अघिसम्म बनकरिया, कुसुन्डा समुदाय पनि चितवनको जंगलमा घुमन्ते संस्कारमा नै थिए। अहिले एक ठाउँमा बसेका छन्। राउटे समुदायले जंगलको विकल्प खोजेकै छैन।
मानवशास्त्री डोरबहादुर विष्टले राउटेहरूले बाहिरी समुदायका व्यक्तिसँग बिहेबारी गर्न सक्छन् भनेर आकलन गर्नुभएको झन्डै ५० वर्ष भयो। अहिलेसम्म हेर्दा तत्कालै त्यस्तो हुन्छ जस्तो पनि देखिंदैन। अहिले १४० देखि १५० जनासम्मको एउटा समुदाय भएर हिंडिरहेका छन्। उनीहरूले आफ्नो समुदायभन्दा बाहिरको मान्छेसँग विवाह गर्न त अन्तै व्यवस्थित भएर बाहिरी संसारमा रहनुपर्ने होला। अहिलेसम्म कोही महिला वा पुरुषको पनि राउटे बाहेकको समुदायमा विवाह भएको छैन।
सरकारले राउटेलाई नागरिकता दिने, घर बनाइदिएर बसोबासको व्यवस्था गर्ने, भत्ता दिएर आधुनिक समाजमा घुलमिल गराउने काम गरिरहेको छ। अब राउटे समुदाय पनि आधुनिकीकरणको यात्रामा जोडिनुपर्ने होइन र?
त्यसमा उनीहरूकै छनोट हुनुपर्छ। उनीहरू कुनै समयमा पुगेर आधुनिकीकरणको यात्रामा जोडिन पनि सक्छन्। हिजोका उदाहरण हेर्दा त्यो सम्भावना देखिन्छ। तर अहिले उनीहरूले यो चाहना गरेका नै छैनन्। नागरिकताका लागि धेरै वकालत भइरहेको छ तर उनीहरू सीधै अस्वीकार गरिरहेका छन्। यस विषयमा मुखियाहरूसँग कुराकानी गर्दा आफूहरूलाई यही ठीक भएको र यसरी नै चल्ने बताउँछन्।
राज्यका तर्फबाट प्रयास त भएको हो, कर्णाली प्रदेशले पनि राउटे नीति बनाउने भनेको छ।
सबै उनीहरूलाई सभ्य बनाउने भन्छौं तर मलाई यही शब्द नै समस्याग्रस्त लाग्छ। केलाई सभ्य भन्ने त? उनीहरू असभ्य, हामी चाहिं सभ्य भन्ने होइन। उनीहरूको आफ्नै सभ्यता छ, मान्यता छ। सभ्यता र मान्यता त सबैको फरक फरक हुन्छ। हाम्रो आफ्नो सभ्यता र मान्यता राम्रो, अरूको खराब भन्ने बानी छ।
राउटेलाई सिकाउने मात्र भन्छौं, उनीहरूबाट पनि सिक्न सक्ने कुरामा चर्चा गर्दैनौं। सभ्य बनाउने भन्ने कुरा ‘कोलोनियल’ बनाउने कुरा जस्तो लाग्छ। मान्छेलाई समाएर लगेर विद्यालयमा पढाएपछि मात्र सभ्य हुने हैन। यो उनीहरूको अलग जीवन हो। त्यहाँ पनि समस्या त छन्। त्यसैले उनीहरूको सभ्यतालाई बुझ्दै, परख गर्दै, उनीहरूको माध्यमबाट सिक्ने र सिकाउने कर्म गरिनुपर्छ।
राउटे समुदायलाई नजिकबाट नियाल्नुभयो। त्यो समुदायमा महिलाको स्थिति कस्तो छ? खासगरी प्रजननका अवस्थामा महिलाको स्याहार कसरी हुन्छ?
कामको विभाजन त छँदै छ। पानी बोक्ने, भान्साको काम गर्ने सबै महिलाले गर्छन्। पुरुष चाहिं काठका सामान बनाउँछन्। समुदाय बाहिरको काम महिला र पुरुषले नै गरेको देखिंदैन।
स्वास्थ्यको हकमा महिला र पुरुष दुवैमा उस्तै समस्या छ। उनीहरूको उपचारका लागि वेलावेला स्वास्थ्य शिविर पनि राख्ने गरिएको छ। अस्पतालमा आएर उपचार गराउँदैनन् भन्ने गरिन्छ,तर त्यो हैन। आगोले पोल्दा धेरै पटक अस्पतालमा उपचार भएको छ। गाउँको स्वास्थ्य चौकीमा उपचार गर्न जाँदा त उपचारमा समस्या हुन्छ। अझ, उनीहरू त गाउँभन्दा निकै टाढा बस्ने, जंगलमा बस्ने, उपचारको पहुँच नहुने हुँदा स्वास्थ्य समस्या पक्कै छन्।
विशेषगरी महिला बिरामी भए पनि स्वास्थ्य चौकी कमै जान्छन्। दैलेख र अछाममा पुग्दा केही स्वास्थ्य शिविरमा पनि पुगेको थिएँ। उनीहरू घुमन्ते नै भएकाले त्यही किसिमले स्वास्थ्यको उपचार गर्ने व्यवस्था गर्नुपर्छ। आधुनिक औषधि नै नखाने भन्ने छैन।
राउटे बालबालिका बाल अधिकारबाट वञ्चित भए जस्तो लाग्दैन?
बाल अधिकारको विषयमा पनि स्वास्थ्य, शिक्षाकै कुरा आउँछ। उनीहरूको अधिकार सुनिश्चित गर्न केही संस्था पढाउने पनि भनेर पुगेका छन्। तर यसमा पनि उनीहरूले मानेका छैनन्। हाम्रो यस्तै हो भन्ने गरेका छन्।
अर्को, शिक्षामा पनि औपचारिक र अनौपचारिकको कुरा आउला। उनीहरूको जीवनशैली अनुसार आफ्नै ज्ञान प्रणाली छ। त्यसबारे परख गरेर सिकाउन सकिन्छ। अहिले विद्यालयमा नै लगेर पढाउने सम्भावना नहोला।
राउटे समुदायको अभ्यास नै ठीक छ भनेर रमाउँदा कतै उनीहरूलाई संग्रहालयमा प्रदर्शनमा राखिएको वस्तु जसरी व्यवहार त गरिरहेका छैनौं?
त्यस्तो लाग्दैन। केही समयअघि आशिष झाले राउटेहरूको ‘जेनिटिक्स’ लाई लिएर लेख्नु पनि भएको थियो। त्यसमा यो सभ्यता हजारौं वर्ष पुरानो भएको र हिजोको आज राउटे भएको होइन भन्ने उल्लेख थियो। त्यसैले राउटेलाई तारबार लगाएर निश्चित ठाउँमा राख्न खोजे पो संग्रहालयमा राखे जस्तो हुन्छ होला। उनीहरूलाई जंगल, वन र माटोमै रहन कसैले बाध्य बनाएको छैन। आफ्नो परम्परा र छनोटमा रमाइरहेका छन्।
राउटे समुदायबाट अन्य समुदायले सिक्ने कुरा केही छन्?
पत्रकार कुन्द दीक्षितले लेख्नुभएको थियो, प्रकृतिबाट जति आफूलाई चाहियो, त्यति मात्र लिने समुदाय राउटे भनेर। त्यही नै मलाई पनि विशेष लाग्छ। हामी आधुनिक भन्छौं तर हाम्रा क्रियाकलापले प्रकृति र वातावरणमा धेरै असर पुर्याएका छन्।
भर्खरै मिनिमलिस्ट वृत्तचित्र हेरेको थिएँ। पश्चिमी सभ्यतामा पनि कमभन्दा कम स्रोतमा कसरी बाँच्न सक्ने भन्ने देखाइएको छ। त्यसबाट धेरै मानिस प्रेरित भइरहेका छन्। तथापि अन्य समुदायले आफूलाई चाहिनेभन्दा धेरै प्रकृतिबाट दोहन गरिरहेका छन्। राउटेले भने आफूलाई चाहिने जति मात्रै प्रकृतिबाट लिइरहेको छ। त्यो कुरा राउटे समुदायबाट सिक्न सक्छौं। कम स्रोतमा कसरी जीवनयापन गर्ने, जति आवश्यक छ, त्यसैमा कसरी बाँच्ने भन्ने जीवनशैली राउटेबाट सिक्नुपर्छ।
अन्त्यमा पुस्तककै कुरा गरौं। तपाईंको संकलनमा रहेका धेरै तस्वीरमध्ये पुस्तकका लागि कसरी छनोट गर्नुभयो?
सन् २०११ देखि २०१७ सम्म राउटेका तस्वीर खिच्दा आठ हजारसम्म भएका थिए। यसमध्ये ५५ वटा छनोट गरिएको हो। पहिला राउटेहरूको तस्वीर प्रदर्शनीमा पनि राखियो। पछि तस्वीर किताबका लागि भनेर पनि खिच्न थालेको थिएँ।
तस्वीर पुस्तक भनेको तस्वीर मात्र होइन भन्ने सन्देश पनि दिनु थियो। नेपालका प्राकृतिक स्रोत र सम्पदासँग सम्बन्धित मात्र धेरै तस्वीर किताब छन्। तर साहित्य र जनजीवन बोल्ने तस्वीर किताब कमै छन्। हाम्रो बजार पनि कम छ। तैपनि प्रयोग नै मानेर यो तस्वीर पुस्तक निकालेका हौं।
यस पुस्तकको माध्यमबाट राउटे समुदायको वकालत गरें भन्ने लाग्छ?
जबसम्म राउटेहरूको इच्छा हुन्छ, तबसम्म उनीहरूलाई आफ्नो तरीकाले डुल्न दिनुपर्छ जस्तो लाग्छ। किनभने कहिलेकाहीं जबर्जस्ती केही कुरा गरिंदा परिणाम राम्रो आउँदैन। बरु उनीहरूको मान्यता सुहाउँदो नीति ल्याएर, सिकाएर बिस्तारै त्यसमा काम गरे परिवर्तन आउन सक्छ। यसरी काम गर्दा राउटेहरूलाई हिंड्ने क्षेत्र भनेर छुट्याउन सकिन्छ।
(सम्पादन: बच्चु विक, भाषा: प्रद्युम्न खनाल)
किताबका कुराका थप सामग्री: