प्रिय पत्रकारहरू, हामीलाई जोगाउन कोही आउनेछैन
मिडिया व्यवसायमा शुरू भएको आमकटौती र अवकाशको यो समयमा हामीले हरेक उथलपुथल भोग्न तयार हुनुपर्ने भएको छ।
एकचौथाइ शताब्दी लामो पत्रकारिता जीवनमा मैले मिडिया व्यवसायका थुप्रै मोडल स्थापित र पतन भएको देखेको छु। लगानीको क्षेत्रमा होस् वा प्राविधिक विकासको क्षेत्रमा, हरेक नयाँ तौरतरीका पत्रकारिता बचाउने आशा लिएर आउँथे। अब त्यस्तो नयाँ उपाय के हुन सक्छ त? डिजिटल मिडिया, गैरनाफामूलक समाचार कक्ष, सामुदायिक संलग्नता, सहभागितामूलक पत्रकारिता, खर्बपति मालिकहरू, आपत्कालीन कोष, समाज पहिला मोडल, स्थानीय पत्रकारितामा पुनः लगानी वा कृत्रिम बौद्धिकता?
जस्तोसुकै व्यावसायिक मोडल वा लगानीका योजना वा प्रविधि आए पनि आखिर हरेक पत्रकार व्यक्तिगत रूपमा यी नयाँ नयाँ प्रयोगबाट गुज्रिनैपर्छ। पत्रकारिता क्षेत्रको एउटा चक्र छ। त्यो हो- ठूलो उद्देश्यका साथ नयाँ समाचार संस्था खडा गरिन्छ। लगानीकर्ताले पत्रकारिता जोगाउने दाबी गर्छन्। पत्रकार भर्तीको सिलसिला चल्छ। यताका सम्पादक उता पुग्छन्।
पत्रकारहरूको फेसबूक र ट्वीटरको बायो फेरिन्छ। तर वर्ष दिन नपुग्दै लगानीकर्ता अनावश्यक लगानी भएको वा आफ्नो रणनीतिले काम नगरेको महसूस गर्न थाल्छन्। आफ्नो अपेक्षा पूरा नभएपछि उनीहरू पत्रकारलाई कामबाट निकाल्न थाल्छन्। एक जना साथीले हालै मात्र आफूले भोगेको बेचैनीको अनुभव सुनाइन्। आफ्नो करिअरमा पटक पटक भएका आमकटौती र अवकाशका कारण उनी तनावबाट गुज्रिएकी छन्।
पछिल्लो ६ महीनामा मात्रै, हामीले सिंगो पत्रकारिता क्षेत्रमा आमकटौती भएको देख्यौं। त्यसका केही विवरण यस्ता छन्ः
मूलधारः वाशिङ्टन पोस्टले अवकाश योजना मार्फत २४० जनालाई हटाउने योजना बनायो। न्याशनल जियोग्राफिकले आफ्ना सबै लेखकलाई बिदा गर्यो। लस एन्जेल्स टाइम्सले ७० भन्दा बढी पद कटौती गर्यो।
गैरनाफामूलक समाचार संस्थाः टेक्सास ट्रिब्यून र फ्युचुरो मिडियामा कटौती भएको छ। त्यस्तै, दाताहरूको संख्या घट्दा द सिटीको स्थिरतामा संकट उत्पन्न भएको छ।
सार्वजनिक मिडियाः न्यूयोर्क पब्लिक रेडियोले १२ प्रतिशत, साउथर्न क्यालिफोर्निया पब्लिक रेडियोले १० प्रतिशत र न्यू इङ्ल्यान्ड पब्लिक मिडियाले २० प्रतिशत जनशक्ति घटाएका छन्।
मल्टिमिडिया र डिजिटलः बारस्टुल स्पोर्टस्ले २५ प्रतिशत स्टाफ कटौती गरेको छ भने बसलले २१ वटा पद खारेज गरेर पाँच प्रतिशत कर्मचारी कटौती गरेको छ। यो क्षेत्रमा यो वर्षको शुरूवातमै खराब परिस्थिति देखापरेको थियो। भाइस मिडियाले आफ्ना १५०० कर्मचारीमध्ये १०० जना घटाएको थियो भने भाइस वर्ल्ड न्यूज बन्द गरेको थियो। बजफीड न्यूज बन्द नै भयो। भक्स मिडियाले सात प्रतिशत कर्मचारी कटौती गर्यो जसले १३० जनालाई प्रभाव पार्यो।
७० प्रतिशत स्थानीय पत्रकार काम गुम्ने तनावमा छन् र प्रशस्त पत्रकारले सदाका लागि यो क्षेत्र नै छोडिसकेका छन्। के यो सोचनीय विषय होइन?
अर्बपति, समाजसेवी, प्राविधिक वा महाप्रबन्धक सबैलाई बिर्सिदिऔं। हामीलाई जोगाउन कोही आउनेवाला छैन। आफूलाई आफैं जोगाउनुपर्छ।
यसो भन्नुको अर्थ हो- हरेक पत्रकारले सक्रियतापूर्वक आफ्नो करिअरको व्यवस्थापन गर्नुपर्छ। सम्पर्कको घेरा ठूलो बनाउनुपर्छ। पढाइलाई निरन्तरता दिनुपर्छ। व्यवसाय र मिडियासँग सम्बन्धित समाचारमा ध्यान दिनुपर्छ। यस अस्थिर पेशामा वेलाबखत आइरहने अनेकौं छालसँग जुध्न तयार हुनुपर्छ।
पत्रकारका रूपमा कायम रहिरहन र उन्नति हासिल गर्न यी विषयमा ध्यान दिनैपर्छ।
सक्रियतापूर्वक करिअर व्यवस्थापन
पत्रकारिता निकै दबाब झेल्नुपर्ने पेशा हो। त्यसैले हामी तुरुन्तै प्रतिक्रिया जनाउने खालका बन्न पुग्छौं। नहोस् नि किन, हरेक पत्रकार श्वास पनि गतिलोसँग फेर्न नपाउने गरी एकपछि अर्को ‘असाइनमेन्ट’ ले पेलिएको हुन्छ। तर कुनै योजना नबनाई खालि कुदिरह्यौं भने समाचारकक्षमा संकट आएपछि मात्र (जुन आउने सम्भावना अत्यधिक छ) हामीले अर्को जागीरका लागि बजारमा बेचिने खालको सीप सिक्न र ठोस काम गर्न छुटेछ भन्ने महसूस गर्नेर्छौं।
तर आफूलाई बजारका निम्ति तयार पारिरहन खासै गाह्रो छैन। निश्चित उद्देश्यका राखेर शुरूको वर्षमा दैनिक ३-४ घन्टा दिइयो र पछि पछि हप्ता वा दुई हप्तामा पुनर्ताजगी मात्र गर्यौं भने पर्याप्त हुन्छ। मेरी साथी लाउरा भ्यान्डरकमले हरेक हप्ता दुई हजार शब्द लेखेकै भरमा ८० हजार शब्दको उपन्यास लेखेकी थिइन्। थोरै दुःख गर्दा पनि तपाईंले करिअरको योजना बनाउन सक्नुहुन्छ।
सम्पर्कको घेरा बढाउनुहोस्
एउटै विशेषताका कारण म पूर्णकालीन फ्रीलान्सर हुन मन पराउँछु। त्यो हो, यसले मलाई आफ्नो सम्पर्कको घेरा बढाइरहन उत्साहित गर्छ। जागीरे हुँदा हामीले साथीहरूलाई हलुका पाराले लिन्छौं। तर त्यसो नगर्नुहोस्। साथीहरूसँग कुराकानी गर्दा व्यक्तिगत जीवनबारे पनि कुरा गर्नुस्। आफ्ना रुचि बताउनुहोस्। उनीहरूले कामबाट कस्तो अपेक्षा गरिरहेछन् भन्ने सोध्नुहोस् ताकि सहयोग गर्न सकियोस्। पुराना सहकर्मीसँग भेटघाट गरिरहनुहोस्। तब मात्र तपाईंलाई अप्ठ्यारो पर्दा तिनले सघाउनेछन्। हरेक मानिस सहयोगी हुन रुचाउँछ। त्यसैले कसैसँग अन्तर्वार्ता लिन कुराकानी गर्दा पनि तपाईंले त्यस्तो मौका दिइरहनुभएको हुन्छ।
सम्पर्कको घेरा बढाउने अर्को तरीका पनि छ- स्वयंसेवा। अन्य संस्थाका मानिससँग कुनै क्षेत्रमा काम गर्दा तपाईंले उनीहरूलाईं चिन्न पाउनुहुनेछ। साथै, आफूलाई एउटा जागीरेभन्दा बढी विश्वासिलो र भरपर्दो भएको बताउन सक्नुहुन्छ। ससाना काममा लगानी गरिएका थोरै थोरै समयले भविष्यमा ठूलो प्रभाव पार्नेछ।
अध्ययनको दायरा बढाउनुहोस्
आफू जेमा राम्रो छ, त्यही काम गर्न सजिलो हुन्छ। तर असहज हुने काम गर्दै नगर्ने हो भने कहिल्यै प्रगति हुँदैन। नयाँ नयाँ विषयबारे जानकारी लिने उपाय अनेकन् छन्। जस्तै- तपाईं पोडकास्ट सुन्न सक्नुहुन्छ वा निःशुल्क उपलब्ध अनलाइन कोर्सहरू लिन सकिन्छ। वा, सबैको चासो रहेको र नयाँ क्षेत्रमा ससानो काम गर्न सकिन्छ।
मेरो एक जना साथीले आफूले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टिलिजेन्स)लाई कसरी पत्रकारितामा उपयोग गर्न सकिन्छ भन्नेबारे अध्ययन गरिरहेको बताएकी थिइन्। उनले विभिन्न व्यावसायिक मञ्चमा त्यसबारे बोलिन् पनि जसले उनलाई आफूले हासिल गरेको नयाँ ज्ञान संश्लेषण गर्न र बाँड्न सघायो। कुनै पनि विषय पढाउँदा त्यसमा दक्षता हासिल मात्र हुँदैन, अनुशासित पनि बनाउँछ।
आफू संलग्न व्यवसायबारे बुझाइ बढाउनुहोस्
धेरै पत्रकार घोप्टो परेर काम मात्रै गर्न रुचाउँछन्। ती साँच्चै नै गतिलो काम गर्छन्। तर आफ्नो करिअरलाई उचाइमा पुर्याउने हो भने त्यति पर्याप्त छैन। त्यसको साटो मिडिया र पत्रकारिताबारे समाचार पछ्याउनुहोस्। अरू पत्रकारसँग उनीहरूको कार्यालयबारे कुरा गर्नुहोस्। कुनै संस्था स्थिर छ, प्रगति हासिल गरिरहेछ र कहाँका पत्रकार खुशी छन् भन्ने ध्यान दिनुहोस्।
कुन कम्पनीले जागीर खुलाइरहेछ, नयाँ नयाँ फन्डिङदेखि मिडिया व्यवसायलाई हेर्ने लगानीकर्ताको दृष्टिकोणमा कसरी परिवर्तन आइरहेछ भन्नेमा ध्यान दिनुहोस्। पत्रकारहरू सूचना र तथ्यांक संकलन गरेर निष्कर्ष निकाल्न माहिर हुन्छन्। हामीले आफू संलग्न उद्योगलाई पनि आफूले समाचार लेख्ने क्षेत्रलाई जस्तै निगरानीमा राख्न जरुरी छ। तब मात्रै हामी भविष्यमा हुन सक्ने उथलपुथलको आकलन गर्न सक्छौं।
पत्रकारिता पेशा साँच्चै उतारचढावले भरिएको छ। यसमा टिकिरहन निकै गाह्रो छ। तर आफू संलग्न पेशाको यथार्थ बुझेर अघि बढ्ने हो भने हामी अघिल्तिर रहेको रोक्न नसकिने परिवर्तन थेग्न तयार हुनेछौं।
(निमनरिपोर्टस्मा प्रकाशित लेखको अनुवाद)