कोशीमा गठबन्धन दललाई समेटेर मन्त्रिपरिषद् विस्तार
कोशी प्रदेशमा गठबन्धनमा रहेका दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिएको छ।
मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराएका हुन्। माओवादीबाट गणेश उप्रेती र एकीकृत समाजवादीबाट कमलप्रसाद जगेबू मन्त्री बनेका छन्।
नेकपा (एमाले) र कांग्रेसका आठ सांसदको समर्थनमा असोज २९ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। लगत्तै उनले कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर रानालाई मन्त्री बनाएका थिए।
गठबन्धनमा रहेका दललाई सरकारमा सहभागी नगराउन एमालेले दबाब दिंदै आएको थियो। तथापि मुख्यमन्त्री कार्कीले माओवादी र एकीकृत समाजवादीका नेतालाई मन्त्री बनाएका हुन्।
माओवादी र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त भएसँगै एमालेले सरकारबाट बाहिरिने जनाएको छ। एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सरकारबाट बाहिरिने प्रतिक्रिया दिएका छन्।