वाणिज्य ब्यांकहरूको खराब कर्जा दोब्बर, नाफा घट्यो
वाणिज्य ब्यांकहरूले प्रवाह गरेको ऋणको अनुपातमा उठ्न नसकेको खराब कर्जाको अंश लगातार बढेको छ।
वाणिज्य ब्यांकहरूले प्रकाशित गरेको चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक (असोजसम्म)को तथ्यांक अनुसार ब्यांकहरूको खराब कर्जा बढेर ३.२८ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको यही अवधिमा खराब कर्जाको अंश १.५९ प्रतिशत थियो। यसले वर्ष दिनमा खराब कर्जाको हिस्सा दोब्बरले बढेको देखाउँछ।
खराब कर्जा बढ्नुले ब्यांकहरूको उठ्न नसकेको ऋण धेरै भएको बुझाउँछ। प्रवाह गरेको धेरै ऋण उठ्न नसकेका ब्यांकहरू धराशय उन्मुख हुन सक्छन्। अर्थतन्त्रको शिथिलताका कारण व्यवसायीले ऋण तिर्न नसक्दा खराब कर्जा बढेको ब्यांकहरूले बताउने गरेका छन्।
पहिलो त्रैमासिकसम्म सर्वाधिक खराब कर्जा भएको ब्यांकको पहिलो स्थानमा कृषि विकास ब्यांक छ। यो ब्यांकको कुल कर्जामध्ये खराब कर्जाको हिस्सा ५.३३ प्रतिशत छ। गत वर्षको पहिलो त्रैमासिकमा कृषि विकास ब्यांकको खराब कर्जा २.३८ प्रतिशत थियो।
त्यसैगरी, कुमारी ब्यांकको ४.८९ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा ब्यांकको ४.८३ प्रतिशत खराब कर्जा पुगेको छ।
सबैभन्दा थोरै खराब कर्जा एभरेस्ट ब्यांकको छ। यो ब्यांकको कुल कर्जामध्ये ०.९ प्रतिशत मात्रै खराब कर्जा देखिएको छ। विदेशी लगानीको स्ट्यान्डर्ड चार्टर्ड ब्यांकको खराब कर्जा पनि १.१ प्रतिशत मात्रै छ। यी दुई ब्यांकमा अन्तर्राष्ट्रिय लगानी र साझेदारी भएका कारण उनीहरूले सुरक्षित लगानी मात्रै गर्ने भएकाले खराब कर्जाको अनुपात कम भएको अनुमान छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालका ब्यांक तथा वित्तीय संस्थाले खराब कर्जा लुकाउँदै आएको अनुमान सहित नेपाल राष्ट्र ब्यांकलाई सुपरीवेक्षणका लागि सचेत गराउँदै आएको थियो। खासगरी पुरानो कर्जाको साँवा र ब्याज भुक्तानी गर्न नयाँ कर्जा दिइने गरेको (एभरग्रीनिङ) कारण खराब कर्जाको अंश दक्षिणएशियामै न्यून रहेको कोषको अनुमान थियो।
केन्द्रीय ब्यांकले गत वर्षदेखि नियमन र सुपरिवेक्षणलाई व्यवस्थित बनाउन कैयौं नीतिगत अस्त्र अघि सारेको थियो। जस अन्तर्गत चालू पूँजी कर्जाको प्रवाहमा कडाइ गरिएको थियो। चालू पूँजी कर्जा सम्बन्धी मागदर्शनले व्यवसायीलाई चालू पूँजीका नाममा असीमित ऋण लिएर पुरानो कर्जाको सावाँब्याज तिर्न वा तोकिएभन्दा अन्यत्रको क्षेत्रमा लगानी गर्ने उपायमा नियन्त्रण गरिदिएको थियो।
पछिल्ला त्रैमासिकहरूमा ब्यांकहरूको खराब कर्जाको अंशमा दबाब परिरहेको देखिएको छ। गत आर्थिक वर्ष २०७९/८० मा वाणिज्य ब्यांकहरूको खराब कर्जा औसतमा २.९८ प्रतिशत थियो। २०७९ चैतमा भने खराब कर्जाको अंश औसतमा ३.२३ प्रतिशत पुगेको थियो। त्यसभन्दा अघिल्लो त्रैमासिक २०७९ पुसमा वाणिज्य ब्यांकहरूको खराब कर्जाको अंश औसतमा २.४९ प्रतिशत थियो।
यस वर्षको पहिलो त्रैमासिकमा ब्यांकहरूको नाफामा पनि ठूलो गिरावट आएको छ। असोजसम्म २० वाणिज्य ब्यांकमध्ये एक ब्यांक घाटामा गएको छ भने एक दर्जन ब्यांकको नाफा गत वर्षको तुलनामा घटेको छ।
कृषि विकास ब्यांक ८८ करोड ८० लाख रुपैयाँ घाटामा गएको छ। नबिल, एनआईसी एशिया, एभरेस्ट, सानिमा, नेपाल एसबीआई, सिटिजन्स, राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ र नेपाल ब्यांकको नाफा गत वर्षको तुलनामा घटेको छ।
घाटामा गएको कृषि विकास ब्यांकलाई छोडेर गत वर्षको तुलनामा सर्वाधिक नाफा घट्नेमा सिद्धार्थ ब्यांक छ। यसको नाफा ९१.४ प्रतिशत घटेर ४२ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ। लक्ष्मी सनराइजको नाफा ७९.५ प्रतिशतले र नेपाल ब्यांकको नाफा ७६.४ प्रतिशतले घटेको छ।
यद्यपि, हिमालयन, प्रभु, नेपाल इन्भेस्टमेन्ट, प्राइम, माछापुच्छ्रे, एनएमबी, ग्लोबल आईएमई, स्ट्यान्डर्ड चार्टर्ड ब्यांकको नाफा भने बढेको छ।