रिगल ढकाल जेल चलान
सर्वोच्चको आदेशपछि पक्राउ परेका रिगल ढकाललाई जेल चलान गरिएको छ।
शुक्रबार जिल्ला अदालतले रिगललाई बाँके कारागार पठाएको हो। उनी यसअघि दाङको कारागारमा थिए।
संविधान दिवसको अवसरमा रिगलले राष्ट्रपतिबाट कैद मिनाहा पाएका थिए। उनको कैद मिनाहा गर्ने निर्णयलाई सर्वोच्च अदालतले बिहीबार बदर गरेपछि पक्राउ परेका थिए।
बाँके प्रहरीको टोलीले उनलाई शुक्रबार अदालतमा पेश गरेको थियो। अदालतको आदेश अनुसार रिगललाई जिल्ला कारागार पठाइएको बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले बताए। अब उनले ११ वर्ष ११ महीना पाँच दिन थुनामा बस्नुपर्नेछ।
नेपालगन्ज उपमहानगरपालिका-८ का २९ वर्षीय चेतन मानन्धरमाथि २०७२ असार २८ मा धम्बोजी चोकमा रिगलको निर्देशनमा दिनदहाडै खुँडा प्रहार गरिएको थियो। त्यसपछि रिगल एकाएक फरार भएका थिए। घटनाको दुई महीनापछि भदौमा उनले अदालतमा आत्मसमर्पण गरेका थिए।
पुर्पक्षका लागि जेल पुगेका रिगललाई जिल्ला अदालत, बाँकेले २०७६ वैशाखमा मानन्धरको हत्यामा दोषी ठहर गर्दै सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो। रिगल सहित हत्यामा संलग्न अन्य १२ जनालाई समेत अदालतले दोषी ठहर गरेको थियो। झन्डै ५० प्रतिशत सजाय भुक्तानी गरेका रिगलले संविधान दिवसका अवसरमा आममाफी पाएका थिए।
त्यस विरुद्ध मानन्धरकी पत्नी भारती शेर्पाले असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले आज फैसला सुनाएको हो।
रिगललाई आममाफी दिने सरकारको निर्णयको विरोध हुँदै आएको थियो। सर्वोच्चमा रिट दिएकी भारतीले माइतीघर मण्डलमा पनि धर्ना दिंदै आएकी थिइन्।