छतको पानी व्यवस्थापन नगरे सेवा नपाइने
भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्र नारायणगढमा बसोबास गर्नेहरूले आफ्नो घरको छतबाट निस्कने पानीको व्यवस्थापन नगरे सेवा नपाउने भएका छन्।
छतको पानी सीधै सडकमा पुग्ने गरी फाल्दा समस्या आएपछि भरतपुर महानगरपालिका-१ ले पानी व्यवस्थापन नगरे वडा कार्यालयबाट दिइने सेवा बन्द गर्ने भएको छ। वडाध्यक्ष केशव महर्जनका अनुसार लायन्सचोक, शहीदचोक, पुलचोक, मिलनरोड, मेनरोड, प्रगतिपथ, बालकुमारी क्याम्पस रोड, पोखरा बसपार्क, लीलाचोक र उद्योग वाणिज्य संघ लगायत क्षेत्रमा भएका घरले आफ्नो छतमा आएको पानी सडकमा फाल्दा पैदलयात्रुदेखि व्यवसायीलाई समेत समस्या परेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो।
गत वैशाखमै यसबारे सूचना जारी गरेको भए पनि कार्यान्वयन नभएपछि गत बुधबार तेस्रो पटक सूचना जारी गरिएको हो। “हामीले पटक पटक सूचना जारी गरेका छौं। अब कार्यान्वयनमा जाने समय आयो,” वडाध्यक्ष महर्जनले भने।
सूचना जारी भएको सात दिनपछि कार्यान्वयनमा ल्याइने उनले जानकारी दिए। कार्यान्वयनपछि बजार क्षेत्रका घरधनीले वडामा सेवा लिन जाँदा स्थलगत निरीक्षण गरेर मात्रै सेवा प्रवाह गरिनेछ।
“वडाको निर्णय नमान्ने हो भने मानवीय संवेदनासँग जोडिएका विषय बाहेक अन्य सेवा दिन वडा कार्यालय बाध्यकारी हुनेछैन,” उनले भने। घरको छतमा जम्मा भएको पानी पाइप मार्फत व्यवस्थापन गर्न वडा कार्यालयले आफ्नो क्षेत्रमा रहेका १२ टोल विकास संस्थालाई परिपत्र गरेर जानकारी समेत गराइसकेको छ।
वडाध्यक्ष महर्जनका अनुसार मुख्य बजार क्षेत्रमा रहेका दुई हजार २०० घरधुरीमा यो समस्या छ। -रासस