विश्वकपमा पुग्ने लक्ष्य सहित यूएई विरुद्ध भिड्दै नेपाल
आईसीसी पुरुष टी-२० विश्वकप २०२४ मा छनोट हुन नेपाल एक जित टाढा छ।
विश्वकपमा छनोट हुने लक्ष्य सहित नेपालले आज आईसीसी पुरुष टी-२० विश्वकप एशिया क्वालिफायर फाइनल २०२३ अन्तर्गत यूएई विरुद्ध खेल्दै छ। खेल बिहान ११ बजेबाट मूलपानी क्रिकेट मैदानमा हुनेछ।
यसअघि समूह चरणमा नेपालले सिंगापुरलाई आठ विकेटले र मलेशियालाई ६ विकेटले पराजित गरेको थियो। तर हिजो भएको ओमन विरुद्धको खेलमा नेपाल पाँच रनले पराजित भएको थियो।
प्रतियोगितामा समूह ‘ए’ बाट ओमन र नेपाल तथा समूह ‘बी’ बाट यूएई र बहराइन सेमिफाइनलमा पुगेका छन्। दोस्रो सेमिफाइनल खेल पनि आजै हुँदै छ। त्रिवि क्रिकेट मैदानमा आज ११ बजे नै ओमन र बहराइन भिड्दै छन्।
आजको सेमिफाइनल जित्ने दुई टोलीले यस प्रतियोगिताको फाइनलमा त स्थान बनाउनेछन् नै, अमेरिका र वेस्ट इन्डिजमा सन् २०२४ मा हुने टी-२० विश्वकपका लागि पनि छनोट हुनेछन्। २० टोली सहभागी हुने उक्त विश्वकपमा आयोजक राष्ट्र सहित अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्यूजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सहित आईसीसी वरीयतामा उत्कृष्ट १० भित्र रहेका अफगानिस्तान र बाङ्लादेशले पनि आफ्नो स्थान पक्का गरिसकेका छन्।
यसैगरी, यूरोपको छनोट प्रतियोगिताबाट आयरल्यान्ड र स्कटल्यान्ड, पूर्वी एशिया-प्यासिफिक क्षेत्रबाट पपुवा न्यूगिनी र अमेरिकी क्षेत्रबाट क्यानडा पनि विश्वकपका लागि छनोट भएका छन्।
त्यस्तै, अफ्रिका क्षेत्रबाट छनोट हुने दुई टोलीका लागि अर्को महीना नामिबियामा प्रतियोगिता हुनेछ।