के एनआरएनएको औचित्य सकिएकै हो?
एनआरएनए यस्तै रहिरहने हो भने केहीले भन्ने गरेको ‘नन-रिक्वायर्ड नेप्लिज एशोसिएशन’ का रूपमा चित्रित हुन बेर लाग्नेछैन।
अहिले चर्चामा छ, गैरआवासीय नेपाली संघ अर्थात् नन रेसिडेन्स नेपाली एशोसिएशन (एनआरएनए)। दुई दशकअघि सन् २००३ मा स्थापित एनआरएनएले हालै काठमाडौंमा एघारौं अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ। आगामी दुई वर्ष अर्थात् सन् २०२३-२०२५ का लागि नयाँ नेतृत्व चुन्न गरिएको निर्वाचन भने विवादित बनेको छ।
निर्वाचनमा मतदानका लागि प्रयोग गरिएको अनलाइन भोटिङका कारण उत्पन्न विवाद दुई वटा समानान्तर कमिटी घोषणाको चरणसम्म पुगेको छ। एउटा सानो समूह यसअघि नै चिरा परेर मूल प्रवाहबाट बाहिरिएको थियो भने अहिले फेरि एनआरएनएमा विखण्डनको अर्को प्रयास भएको छ।
‘ज्ञान र रूपान्तरणः समृद्धिको आधार’ भन्ने नारा सहित काठमाडौंको सोल्टी होटलमा भेला भएका करीब हजार र देश बाहिरबाटै मत हाल्न पाउने अधिकार पाएका करीब तीन हजार गरी चार हजार २७ एनआरएनए प्रतिनिधिले यस निर्वाचनमा मतदान गरेका थिए। नेपालमा रहेका शासक र शासित जनतालाई ज्ञान र रूपान्तरणको सन्देश दिई समृद्धिको बाटो देखाउन भेला भएका एनआरएनए प्रतिनिधिले सम्मेलनको अन्तिमतिर देखाएको चरित्र र व्यवहार उनीहरूले न ज्ञान आर्जन गरेका रहेछन् न त रूपान्तरित नै हुन सकेका रहेछन् भन्ने पुष्टि भएको छ।
यद्यपि एनआरएनएमा ज्ञान, धन र सीपको जोहो गरेका केही असल मनका अभियन्ता पनि नभएका होइनन्। तर अधिकतरको व्यवहार नेपालकै केही दलका कार्यकर्ताभन्दा माथि उठ्न नसकेको देखियो।
विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पूँजीको परिचालन गर्दै देश विकासमा टेवा पुर्याउने सोचले सन् २००३ अगस्ट लन्डनमा एक भेला आयोजना गरिएको थियो। त्यसपछि ११-१३ अक्टोबरमा काठमाडौंमा पहिलो विश्व सम्मेलन गरी उपेन्द्र महतोको नेतृत्वमा एनआरएनए गठन भएको थियो।
यो संस्था स्थापना गर्दा ताका मुलुक चरम द्वन्द्वमा फसेको थियो। एकातिर विद्रोही माओवादीले चलाएको सशस्त्र हिंसा र अर्कातिर राज्यले लिएको प्रतिहिंसाले समाज रक्तरञ्जित थियो। त्यहीबीच राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन चलाउन सत्ता हातमा लिएका थिए।
यस्तोमा आशाको सञ्चार गर्ने सानो त्यान्द्रोको पनि ठूलो महत्त्व थियो। त्यही समयमा देश बाहिर रहेका नेपाली संगठित भई एनआरएनए निर्माण गरेका थिए। जसको पहिलो सम्मेलन उद्घाटन तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेका थिए भने एघारौं सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरे। तर यो सम्मेलन गैरआवासीय नेपालीकै लागि पनि बिर्सनलायक बन्यो।
तीन दशकयता नेपालका नेता तथा कर्मचारीको अकर्मण्यताबाट वाक्क आमनेपालीमा देश बाहिर रहेर एकजुट भएका नेपालीको संगठन बनेको र त्यसले देशको आर्थिक, सामाजिक, सांस्कृतिक पक्षमा सहयोग पुर्याउने खबरले अलिकति भए पनि उत्साह जगाएको थियो। शुरूआतको एक दशक यो अभियानले केही हदसम्म आशाकाे सञ्चार पनि गरेको थियो। तर आज यो संगठन पनि राजनीतिक दलको विकृत भ्रातृ संगठनभन्दा माथि उठ्न सकेन।
दशकयता एनआरएनएको नेतृत्वमा पुग्न पुर्याउन ठूलो धनराशिको नजराना नेपालका दल र तिनका मुखियालाई चढाइने प्रचलन देखियो। त्यसले यस संस्थाको गरिमा चकनाचूर बनाएको छ। सारा मनमुटाव मेटेर आपसमा हार्दिकता, प्रेम र खुशी साटासाट गर्ने दशैं, तिहार, छठ लगायत पर्वको अवसरमा विश्वभरबाट नेपालमा भेला भएका नेपालीले देखाएको पदलोलुपता र दलीय दासताको ताण्डवले पराकाष्ठा नाघेको छ।
२०७० सालमा सोल्टी होटलमा भएको चुनावयता छर्लङ्गै भएर नजराना चढाएर उम्मेदवार बन्ने र दलीय दौरा समातेर संघको नेतृत्व हत्याउने कुकृत्य २०८० सालसम्म आइपुग्दा छरपष्ट भएको छ। अघिल्लो पटक तीन-तीन अध्यक्ष बनाएर पनि संघको फूटलाई रोक्न नसकेको एनआरएनए यस पटक त हायातको ताण्डवलाई पनि बिर्साउने गरी विवादमा आएको छ।
प्रविधिलाई नै नियन्त्रणमा लिएर परिणाम कब्जा गरेको आरोप एकथरीले लगाउँदा अर्काथरीले प्रविधिले गरेको त्रुटि सच्याउँदै असन्तुष्ट पक्षलाई साथमै लिएर पद बहाली गर्नेसम्मको धैर्य देखाउन सकेन। अझ अरू देशको नागरिकता बोकेकालाई राजनीतिक अधिकार नदिइएको भन्दै बहालवाला अध्यक्षलाई फाँसीको माग गर्नेसम्मको चरित्र अधिवेशन दौरान देखियो।
एनआरएनएको नेतृत्वका लागि आकांक्षीले दलका मूल र गुट नाइके हुँदै विभिन्न देशमा भोटको ठेकेदारी लिनेहरूको द्रव्य लालसा पूरा गर्नु, बिहानको कफी-नास्तादेखि साँझको मधुशालासम्म व्यवस्थापन मिलाउनुपर्छ। त्यस्तै, मुख मिठ्याएर बसेका केही सञ्चारकर्मीलाई गुलियो चटाउनुपर्ने अर्को बाध्यता छ। अझ गाउँशहरका केही स्थानका बालबालिका र संस्थालाई सहयोग गरेको देखाउनुपर्ने लगायत कर्ममा अल्झिँदा नेतृत्वाकांक्षीको करोडौं रुपैयाँ बालुवामा पानी बगे सरह हुँदै आएको छ।
पछिल्ला हर्कत त नेपालका विद्यार्थी संगठनले स्ववियु चुनाव ताका देखाउनेभन्दा पनि निम्छरो र आलोच्य छ। यस संगठनमा यस्ता मानिसको बाहुल्य छ कि अब यसको परिकल्पनाकार उपेन्द्र महतो, जीवा लामिछाने, राम थापा, देवमान हिराचन, भीम उदास, जुगल भुर्तेल, रामेश्वर शाह लगायतले चाहेर पनि सुधार हुन सक्दैन।
यस्तै हर्कतले दुनियाँ हँसाउने हो भने अब यो संस्था विघटन हुनु र रहनुमा कुनै भिन्नता छैन। लामो समयदेखि पर्यवेक्षकका रूपमा यो अभियानलाई नियालिरहेकाले भन्न सकिन्छ, अब एनआरएनए यस्तै रहिरहने हो भने केहीले भन्ने गरेको ‘नन-रिक्वायर्ड नेप्लिज एशोसिएशन’ का रूपमा चित्रित हुन बेर लाग्नेछैन। आगे नेपाल र नेपालीलाई माया गर्नेहरूले ठन्डा दिमागले सोचून्।