सर्वोच्चको आदेश लगत्तै रिगल पक्राउ
सर्वोच्च अदालतले कैद सजाय मिनाहा बदर गरे लगत्तै रिगल ढकाललाई बाँके प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीका सहायक प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले अदालतको आदेश अनुसार रिगललाई पक्राउ गरेको हिमालखबरलाई जानकारी दिए। सर्वोच्चको पूर्ण इजलासले ढकालको माफी मिनाहा बदर गर्दै तत्काल पक्राउ गर्न आदेश दिएको थियो।
रिगललाई संविधान दिवसको अवसरमा सरकारले माफी मिनाहा दिने निर्णय गरेको थियो। २०६७ सालमा नेपालगन्जमा रिगल समूहले चेतन मानन्धरको हात काटेर हत्या गरेको थियो। यही अभियोगमा रिगललाई जिल्ला अदालत, बाँके र उच्च अदालत, तुलसीपुरको नेपालगन्ज इजलासले जन्मकैद (२० वर्ष कैद)को फैसला गरेको थियो।
२०७२ भदौमा रिगल पक्राउ परेका थिए। तर आठ वर्ष जेल बसेपछि रिगललाई सरकारले बाँकी करीब १२ वर्षको जेल सजाय मिनाहा गरिदिएको थियो।
त्यस विरुद्ध मानन्धरकी श्रीमती भारती शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सर्वोच्चले कैद मिनाहा गर्ने फैसला बदर गर्दै तत्काल पक्राउ गर्न बिहीबार अपराह्न आदेश दिएको हो।