नेपालको सेमिफाइनल खेल घरबाटै हेर्न क्यानको अनुरोध
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र यूएईबीच हुने सेमिफाइनल खेल घरबाटै हेर्न अनुरोध गरेको छ।
काठमाडौंमा जारी आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत शुक्रबार सेमिफाइनलका खेल हुँदै छन्। नेपाल र यूएईबीचको सेमिफाइनल खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ भने ओमन र बहराइनको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
समूह ‘ए’ बाट ओमन र नेपाल तथा समूह ‘बी’ बाट यूएई र बहराइन सेमिफाइनलमा पुगेका हुन्। समूह ‘ए’ को ओमन ६ अंक सहित शीर्षस्थानमा रह्यो भने नेपाल चार अंक सहित दोस्रो स्थानमा रह्यो।
त्यस्तै, समूह ‘बी’ बाट यूएई ६ अंक सहित शीर्षस्थानमा रहेर सेमिफाइनलमा पुगेको छ। समूह ‘बी’ का बहराइन, हङकङ र कुवेतको समान दुई-दुई अंक भए पनि रनरेटका आधारमा बहराइन सेमिफाइनलमा पुगेको हो।
नेपाल र यूएईको खेल हुने मूलपानी क्रिकेट मैदानमा तीन हजार ५०० मात्रै टिकट बिक्री हुने क्यानले जनाएको छ। सबै टिकट अनलाइनबाट काट्ने व्यवस्था गरिएको छ। मूलपानी क्रिकेट मैदानको क्षमता धेरै नभएकाले खेलप्रेमीलाई घरमै बसेर हेर्न अनुरोध गरेको हो। क्यानले भनेको छ, ‘सम्पूर्ण दशर्कलाई नेपाल र यूएईबीच हुने सेमिफाइनल खेल घरमै बसेर हेर्नुहुन हार्दिक अनुरोध गर्दछौं।’
त्यस्तै, क्यानले नेपाल र यूएईबीचको सेमिफाइनल खेलका लागि पास वितरण नगरिएको जनाएको छ। क्यानले भनेको छ, ‘क्रिकेटसँग सम्बन्धित सबै अतिथिहरूलाई समेत मूलपानी क्रिकेट मैदानको नेपाल र यूएईबीच हुने सेमिफाइनल खेलको पास वितरण नगरिएको हुँदा घरमै बसेर खेल हेर्दै सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।’
नेपाल र यूएईबीचको खेल शुक्रबार बिहान ११ बजे हुनेछ। जित्ने टोली टी-२० विश्वकपमा छनोट हुनेछ।