सशस्त्र प्रहरी र एसएसबीद्वारा सीमास्तम्भ मर्मत शुरू
सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले संयुक्त रूपमा सीमास्तम्भ मर्मत शुरू गरेका छन्।
मधेश प्रदेशको सीमावर्ती क्षेत्रमा रहेका सीमास्तम्भको मर्मतसम्भार शुरू गरिएको सशस्त्र प्रहरीले जनाएको छ। समयमा अनुगमन र मर्मत नहुँदा सीमास्तम्भ जीर्ण थिए।
मधेश प्रदेशका आठ वटै जिल्लाका भारतीय सीमानाकामा रहेका सीमास्तम्भको पुनर्निर्माण, मर्मतसम्भार र रङरोगनको काम शुरू गरिएको छ। मधेशका करीब चार हजारभन्दा बढी सीमास्तम्भ रहेकोमा अहिलेलाई एक हजार सीमास्तम्भको मर्मत र रङरोगनको काम शुरू गरिएको सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुख दीपेन्द्र शाहले बताए।
बिहीबारदेखि अभियानको शुरूआत गरिएको र यो निरन्तर रूपमा चल्ने शाहले बताए। यसले सीमा क्षेत्रमा देखिएको समस्या समाधान हुने उनको भनाइ छ।
मधेशका आठ वटै जिल्लामा सीमास्तम्भ मर्मत थालिएको हो। धनुषाका १५० भन्दा बढी सीमास्तम्भको मर्मत र रङरोगन हुने सशस्त्र प्रहरी बल, धनुषाका उपरीक्षक दिनेश मल्लले बताए। धनुषाको सीमावर्ती नगराइन नगरपालिका-२, जटही नाकाछेउको सीमास्तम्भ नं. २८५/४ बाट यसको शुरूआत गरिएको छ।
नेपाल-भारतका सीमास्तम्भमध्ये बिजोर नम्बरका सीमास्तम्भको पुनर्निर्माण, मर्मतसम्भार र रङरोगनको काम नेपालले गर्ने सहमति छ। त्यस्तै, जोर नम्बरको काम भारतले गर्नेछ।
त्यही सहमति अनुसार धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका-६ स्थित जटहीबाट सशस्त्र प्रहरी र एसएसबीले संयुक्त रूपमा मर्मतसम्भार थालेका हुन्।