निर्वाचन शिक्षा स्वयंसेवकमा वैदेशिक रोजगारीबाट फर्किएकालाई प्राथमिकता
निर्वाचन आयोगले निर्वाचन शिक्षा स्वयंसेवक छनोट गर्दा वैदेशिक रोजगारीबाट फर्किएकालाई प्राथमिकता दिने प्रस्ताव गरेको छ।
आयोगले निर्वाचन शिक्षा तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन कार्यविधिको मस्यौदामा यस्तो प्रस्ताव गरेको हो। वैदेशिक रोजगारीबाट फर्किएका, महिला स्वास्थ्य स्वयंसेविका, अवकाशप्राप्त शिक्षक वा कर्मचारी र सामुदायिक अध्ययन केन्द्रका सहजकर्तालाई प्राथमिकता दिन प्रस्ताव गरिएको छ।
स्वयंसेवक बन्न १८ वर्ष उमेर पुगेको, कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको र एसईई उत्तीर्ण नेपाली नागरिक हुनुपर्नेछ। स्वयंसेवक चयनको अधिकार स्थानीय निर्वाचन तथा मतदाता शिक्षा समितिलाई दिइएको छ।
मस्यौदामा मंसीर १५ गतेभित्र सुझाव दिन सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।