विश्वकप छनोटका लागि नेपालको यूएईसँग प्रतिस्पर्धा
आईसीसी टी-२० विश्वकप छनोटका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ।
बिहीबार भएको खेलमा नेपाल ओमनसँग र हङकङ यूएईसँग पराजित भएपछि सेमिफाइनलमा नेपाल र यूएईको प्रतिस्पर्धा हुने भएको हो। समूह ‘ए’ बाट ओमन र नेपाल तथा समूह ‘बी’ बाट यूएई र बहराइन सेमिफाइनलमा पुगेका छन्।
समूह ‘ए’ को शीर्षस्थानमा रहेको ओमनले र समूह ‘बी’ को दोस्रो स्थानमा रहेको टोलीसँग प्रतिस्पर्धा गर्नेछ। अहिले चलिरहेको बहराइन र कुवेतबीच खेलले दोस्रो टोली तय गर्नेछ।
त्यस्तै, समूह ‘ए’ को दोस्रो स्थानमा रहेको नेपाल र समूह ‘बी’ को शीर्षस्थानमा रहेको यूएईबीच दोस्रो सेमिफाइनल हुनेछ। हङकङलाई हराएसँगै ६ अंक जोडेर यूएई समूहको शीर्षस्थानमा छ।
फाइनलमा पुग्ने दुई टोली विश्वकपका लागि छनोट हुनेछन्। सेमिफाइनलका दुवै खेल शुक्रबार बिहान ११ बजे हुनेछन्।
समूह ‘ए’ का मलेशिया र सिंगापुर प्रतियोगिताबाट बाहिरिसकेका छन्। समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोली टुङ्गो लाग्न बाँकी छ।
अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा २० टोलीले प्रतिस्पर्धा गर्नेछन्। आयोजकका रूपमा अमेरिका र वेस्ट इन्डिज छनोट भइसकेका छन्।
त्यस्तै, यसअघिको प्रतियोगिताका उत्कृष्ट आठ टोली अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्यूजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका पनि आगामी टी-२० विश्वकपका लागि छनोट भइसकेका छन्। यसैगरी, आईसीसी वरीयतामा उत्कृष्ट १० भित्र रहेका अफगानिस्तान र बाङ्लादेशको पनि विश्वकपमा स्थान पक्का भइसकेको छ।
यूरोपको छनोट प्रतियोगिताबाट आयरल्यान्ड र स्कटल्यान्ड, पूर्वी एशिया-प्यासिफिक क्षेत्रबाट पपुवा न्यूगिनी र अमेरिकी क्षेत्रबाट क्यानडा पनि विश्वकपका लागि छनोट भएका छन्।
काठमाडौंमा जारी एशिया क्षेत्रको प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली विश्वकपका लागि छनोट हुनेछन्। त्यस्तै, अफ्रिका क्षेत्रबाट छनोट हुने दुई टोलीका लागि अर्को महीना नामिबियामा प्रतियोगिता हुनेछ।