शम्भु आचार्यलाई नेपाल सरकारको असहयोग!
नेपाल सरकारले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एशिया कार्यालयको क्षेत्रीय निर्देशक पदका उम्मेदवार डा. शम्भु आचार्यलाई जिताउन कूटनीतिक पहल नगरेको सराेकारवालाले बताएका छन्।
कात्तिक १५ गते भएको चुनावमा डा. आचार्यले जम्मा दुई मत पाए भने उनका प्रतिद्वन्द्वी बाङ्लादेशकी साइमा वाजिद आठ मत प्राप्त गरेर क्षेत्रीय निर्देशक निर्वाचित भइन्। नेपालका उम्मेदवार आचार्यले नराम्रोसँग पराजय भोगेपछि सरोकारवालाले सरकारको भूमिकामाथि प्रश्न गरेका हुन्।
चुनावको मतपरिणामले पनि नेपाल सरकारले आचार्यलाई जिताउन कूटनीतिक पहल नगरेको प्रस्ट हुने सरोकारवालाको भनाइ छ। पूर्व राजदूत नीलाम्बर आचार्य बाङ्लादेशको तुलनामा नेपालको राजनीतिक प्रभाव कमजोर रहेकाले मतपरिणाममा असर गरेको बताउँछन्। तुलनात्मक रूपमा साइमा वाजिदभन्दा आचार्य योग्य र अनुभवी उम्मेदवार रहे पनि सरकारको लबिइङले मतपरिणाममा असर गरेको आचार्यको भनाइ छ। “मत परिणाम आएपछि त्यसलाई स्वीकार गर्नुपर्छ तर सरकारले पहल गरेको भए केही फरक पर्थ्यो कि?” पूर्व राजदूत आचार्य भन्छन्।
वाजिद बाङ्लादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन्। चुनावी अभियानका दौरान हसिनाले वाजिदलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटाएकी थिइन्। त्यस्तै, विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा छोरी वाजिदलाई सँगै लिएर मत मागेकी थिइन्। त्यति मात्र होइन, बाङ्लादेशले वाजिदलाई मत माग्न सदस्य राष्ट्रहरूको दूतावास गएर वाजिदको मिसन र भिजनबारे ब्रिफिङ गरेको थियो। त्यस्तै, वाजिद र बाङ्लादेशका परराष्ट्रमन्त्रीले विभिन्न सदस्य राष्ट्र पुगेर मत मागेका थिए।
नेपाल सरकारले आचार्यलाई मत माग्न सदस्य राष्ट्रको भ्रमण त परै जाओस् परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रीहरूको सामाजिक सञ्जालबाट समेत कुनै औपचारिक ‘स्टेटमेन्ट’ सम्म जारी गरेको थिएन। त्यही कारण चुनावी अभियानमा आचार्य एक्लै हिंडेका थिए।
सन् १९९८ देखि डब्लूएचओमा निरन्तर काम गरिरहेका आचार्यसँग जनस्वास्थ्यको क्षेत्रमा तीन दशकको अनुभव छ। हाल उनी डब्लूएचओको ‘कन्ट्री स्ट्राटेजी एन्ड सपोर्ट’ विभागका निर्देशक छन्। अहिलेसम्म कुनै पनि नेपाली डब्लूएचओ मुख्यालयको उच्चस्तर मानिएको यो पदमा पुग्न सकेका थिएनन्। यो विभाग डब्लूएचओका महासचिवको कार्यालय अन्तर्गत पर्छ।
विश्व खाद्य कार्यक्रम मुख्यालयका पूर्व प्रतिनिधि समेत रहेका विश्व पराजुली सरकारले आचार्यलाई जिताउन कूटनीतिक पहल नगरेर अन्तर्राष्ट्रिय संघसंस्था र निकायमा आफ्नो देशको छवि बिगारेको बताउँछन्। यसरी आफ्नो देशको योग्य उम्मेद्वारलाई जिताउन राज्यले सहयोग नगर्दा दीर्घकालीन रूपमा नै संयुक्त राष्ट्रसंघ लगायत निकायले हेर्ने नजर फरक पर्ने पराजुलीको भनाइ छ। उनी भन्छन्, “राज्यले सहयोग नगरेपछि व्यक्ति एक्लै लागेर चुनाव नजितिने रहेछ।”
सन् १९८६ देखि २००१ सम्म विश्व स्वास्थ्य संगठनमा काम गरेकी जनस्वास्थ्यविद् डा. रिता थापा सरकारले उम्मेदवार मनोनीत गरेर मात्र चुनाव नजितिने बताउँछिन्। चुनाव जित्न प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री तहबाट लबिइङ हुनुपर्ने डा. थापाको भनाइ छ। उनका अनुसार आचार्य जस्तो योग्य उम्मेदवारले चुनाव हार्दा नेपालको मात्र नभएर दक्षिणपूर्वी एशियाका देशहरूको स्वास्थ्यमा समेत प्रभाव पर्छ। “योग्य मानिस निर्वाचित भएको भए यी देशको स्वास्थ्य सेवाको स्तर उकास्न महत्त्वपूर्ण काम हुन सक्थ्यो,” डा. थापा थप्छिन्, “आचार्यले जितेको भए उनको मात्र नभएर सरकारकै सम्मान बढ्थ्यो तर राज्यले चासो नदिंदा त्यस्तो हुन पाएन।”
आचार्यलाई चुनावी अभियानमा कूटनीतिक पहल नगरेको भन्दै केही जनस्वास्थ्य विज्ञ र कूटनीतिज्ञले यसअघि नै आवाज उठाएका थिए। त्यति वेला बाङ्लादेशले आफ्नो उम्मेदवार जिताउन कूटनीतिक पहल गरे पनि नेपालका तर्फबाट उच्चस्तरीय पहल नभएको भन्दै सरोकारवालाले सरकारकाे ध्यानाकर्षण गरेका थिए।
गत असोज २१ गते ललितपुरस्थित होटल हिमालयमा डब्लूएचओको दक्षिणपूर्वी एशिया कार्यालयको क्षेत्रीय निर्देशक पदको चुनावकेन्द्रित पत्रकार सम्मेलन आयोजना भएको थियो। सम्मेलनमा यसअघि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा काम गरिसकेका जनस्वास्थ्यविद् उपस्थित थिए।
पत्रकार सम्मेलन आयोजना गर्नुको मुख्य उद्देश्य क्षेत्रीय निर्देशक पदका उम्मेदवार डा. आचार्यलाई जिताउन कूटनीतिक पहलका लागि आग्रह गर्नु थियो। किनकि चुनाव नजिक आइसक्दा नेपाल सरकारका तर्फबाट आचार्यका लागि मत माग्न आधिकारिक स्टेटमेन्ट जारी गरिएको थिएन। बरु सरकारकै तर्फबाट उम्मेदवारी फिर्ता गर्न आचार्यलाई आग्रह गरिएको चर्चा चलेको थियो।
याे पनि
‘म जहाँ छु, त्यहाँ पुग्न धेरै नेपाली सक्षम छन्’