‘५५ वर्ष लगाएर लेखेको पुस्तक नेपालका लागि उपहार हो’
‘नेपाल आउँदा २२ वर्षको थिएँ, अहिले ८० वर्षको भएँ। पचासौं पटक आएँ होला। मलाई परिचय दिने, जीवनको एउटा उद्देश्य दिने नेपालप्रति यो पुस्तक समर्पित छ, नेपाललाई मैले गरेको प्रेमको अर्पण हो यो।’
हिप्पीका रूपमा पहिलो पटक नेपाल आउँदा स्वीस नागरिक उलरिच भोन स्क्रोडर २२ वर्षका थिए। त्यति वेला लहडमै मन्दिर र मूर्तिको तस्वीर खिचेका थिए। त्यही कामलाई निरन्तरता दिंदै गर्दा अहिले ८० वर्ष पुगेका उनी नेपाली मूर्तिकलाको विज्ञ नै बनेका छन्।
केही समयअघि उनले नेप्लिज स्टोन स्कल्पचर पुस्तक दुई भागमा प्रकाशन गरेका छन्। पहिलो भागमा हिन्दू देवीदेवताका प्रस्तर मूर्तिकला र दोस्रो भागमा बौद्ध प्रस्तर मूर्तिकलाको वर्णन छ। यसमा नेपालमा भएका दुई हजार ९०० प्रस्तर मूर्तिको वर्णन छ।
झन्डै ८०० पृष्ठको पहिलो भागमा एक हजार ७२० तस्वीर समावेश छन् भने ७५० पृष्ठको दोस्रो भागमा एक हजार २४० तस्वीर समावेश छन्। उनै लेखक भोन स्क्रोडरसँग हिमालखबरका लागि महेश्वर आचार्यले गरेको कुराकानी:
यति धेरै मिहिनेत र समय लगाएर पुस्तक तयार गर्नुभएको छ। यसको महत्त्व कति छ?
यो पुस्तकको महत्त्व भनेको नेपालको प्रस्तर मूर्तिकलाको दस्तावेजीकरण हो। यो तहको सूचना र जानकारी एकै ठाउँमा एउटै पुस्तकमा यति सजिलै अन्त भेट्न असम्भव जस्तै छ। दुई भागको पुस्तकमा नेपालका प्रस्तर मूर्तिकलाको विस्तृत विवरण समेटिएको छ। यत्तिको धेरै विवरण अन्त प्रकाशन भएको थाहा छैन।
मैले वर्षौं काम गरेर पुस्तक तयार गरेको हुँ। त्यस हिसाबले सोच्दा वर्षौंको मिहिनेतको परिणाम आउन पनि केही समय त लाग्ला नै। साथै, मलाई साथ र सहयोग दिने व्यक्तित्वहरू पनि आफ्नो विषयका ज्ञाता हुनुहुन्छ। त्यसैले मेरो प्रयासको समयक्रममा उचित कदर होला भन्नेमा ढुक्क छु।
अर्को, हराएर वा चोरिएर विदेश पुगेका मूर्ति फिर्ता ल्याउने र पुनःस्थापना गर्ने जुन स्वतःस्फूर्त अभियान शुरू भएको छ, त्यस्तो अभियानका लागि पुस्तकको महत्त्व हुने नै छ। यससँगै कुन प्रस्तर मूर्ति कहाँको हो, कसको पालामा बनेको हो भन्ने लगायत ऐतिहासिक जानकारीका लागि पनि पुस्तक उपयोगी हुनेछ।
तिब्बतका मूर्तिबारे पनि पुस्तक लेख्नुभएको छ। त्यताको अनुभव कस्तो छ?
नेपाल आए जस्तै म कैयौं पटक तिब्बत पनि पुगेको छु। त्यहाँ पुगेर तिब्बतका बौद्ध मूर्तिकलाको अध्ययन अनुसन्धान गरेर बुद्धिस्ट स्कल्पचर इन टिबेट पुस्तक निकालेको छु। यस बाहेक श्रीलंकाको बौद्ध प्रस्तर मूर्तिकलाबारे पनि पुुस्तक प्रकाशित छ।
तिब्बतबाट चोरिएर यूरोप-अमेरिका पुगेका मूर्ति पनि भोलि यथास्थानमा फिर्ता हुन्छन् भन्ने मलाई लाग्छ। किनभने विगतमा तिब्बतमा जे भयो, त्योप्रति अहिले चिनियाँले असजिलो मान्न थालेको मेरो अनुभव छ। यसर्थ तिब्बतका मूर्तिको पुनःस्थापनामा पनि मेरा पुस्तकले सहयोग नै पुर्याउँछ।
यो कामको शुरूआत कसरी भएको थियो?
सन् १९६५ मा जब युवास्थामा घुम्दै फिर्दै नेपाल आएँ, त्यस वेलादेखि मन्दिर तथा मूर्तिको तस्वीर खिच्न थालें। त्यतिखेर २२ वर्षको थिएँ, अहिले ८० वर्षको भएँ। त्यस वेलादेखि अहिलेसम्म नेपाल आएको आयै छु, पचासौं पटक आएँ होला। मलाई परिचय दिने, जीवनको एउटा उद्देश्य दिने नेपालप्रति यो पुस्तक समर्पित छ, नेपाललाई मैले गरेको प्रेमको अर्पण हो यो।
यो काम लहडमै शुरू गरेको हुँ। त्यतिखेर सांस्कृतिक सम्पदाको तस्वीर खिचिरहँदा आज यो तहमा यसरी काममा समर्पित हुँला भन्ने लागेको थिएन। योजना बनाएरै नेपाल आएको होइन, घुम्दै फिर्दै आउँदा आकस्मिकताले नेपाल आइपुगें। अन्य देशमा पुगेको भए त्यहींको विषयमा किताब लेख्थें कि! केही भन्न सक्दिनँ।
आज आफूले गरेको कामले खुशी छु। मेरा लागि यो काम मात्रै होइन, जीवन हो। काम त त्यो हो, जुन गर्न मन लाग्दैन। यो त मैले मन लागेर गरेको हुँ, मेरो जीवन नै यही हो। ५५ वर्षसम्म गरेकै यही हो।
यो कामका लागि संस्थागत आबद्धता पाउनुभयो?
एकल ढंगले गरेकाले नै यो तहको काम गर्न सकेको हुँ। यदि मैले संस्थागत आबद्धता खोजेको भए जे काम भएको छ, त्यो कहिल्यै हुन सक्दैनथ्यो। बारम्बार तिब्बत जान कसरी पाउँथें होला त? म त पर्यटक बनेर गएँ। तस्वीर लिएँ र आज तिनै तस्वीर सम्पदा दस्तावेजीकरण भएका छन्।
यी सबै काम गर्ने स्रोत कसरी जुटाउनुभयो?
मेरो पुर्खाले जोडिदिएको सम्पत्तिका कारण पनि आफूलाई लागेको काम ढुक्कले गर्न पाएँँ। यदि पुर्ख्यौली सम्पत्ति थिएन भने पनि अन्य केही उपाय लगाउँथें कि?
पुस्तक प्रकाशनपछि कस्तो प्रतिक्रिया पाउनुभएको छ त?
नेपालमा सबै जना खुशी छन्। त्रिभुवन विश्वविद्यालयका प्राध्यापकले धेरै मन पराए। यो ऐतिहासिक अध्ययन सामग्री पनि भएको उनीहरूको राय छ।
मैले जीवन नै यसमा बिताएँ। सम्पदाको पुनःस्थापनामा यसले अलिकति भए पनि सकारात्मक परिवर्तन ल्याउला भने आशा छ। जीवनमा सधैं के पाउने, के हासिल गर्न सकिएला भन्ने मात्र सोचिरहेका हुन्छौं। दिनु पनि उत्तिकै महत्त्वपूर्ण छ। यो मेरो उपहार हो- नेपाल र नेपालीलाई।
यो पुस्तक तयार गर्न केकस्तो सहयोग पाउनुभयो?
मैले यो पुस्तक शुक्रसागर श्रेष्ठलाई समर्पण गरेको छु। नेपालमा मलाई यो पुस्तक निर्माणमा सहयोग गर्ने धेरै मान्छेमा शुक्रसागर मुख्य हुन्। राम्रो प्राज्ञिक व्यक्तित्व श्रेष्ठ उत्तिकै सहयोगी र मिलनसार थिए।
त्यस्तै, पुरातत्त्व विभागका छायाकार सुनील डंगोलले पनि मलाई बिर्सनै नसक्ने गुन लगाएका छन्। सुनीलले म जान नपाउने र नमिल्ने कति ठाउँका फोटो खिचेर ल्याइदिए।
अघि मूर्ति पुनःस्थापनाको प्रसंग निकाल्नुभयो। यसलाई कसरी प्रभावकारी बनाउन सकिएला?
यूनेस्को जस्ता संस्थाले घोषणापत्र जारी गरेर मात्र विदेशिएका ऐतिहासिक मूर्ति तथा अन्य सम्पदा पुनःस्थापना गर्न गाह्रो छ। यसका लागि संस्कृति जगेर्नामा लागेका स्थानीय संघसंस्था र नागरिक समाज जागरुक हुनुपर्छ।
अर्को, विदेशमा पुगेका कतिपय नेपाली मूर्ति तथा कलावस्तु फिर्ता दिन उनीहरू तयार छन् तर कता के, कता के नमिल्दा सोचे जसरी फिर्ता हुन सकिरहेका छैनन्। सरकारी प्रक्रिया र कागजात मिलान लगायत झमेलाले गर्दा पनि कठिनाइ भएको देखिन्छ। स्वतन्त्र तथा स्वायत्त निकाय बनाएर यो कामलाई सक्रियताका साथ अघि बढाउनुपर्छ।
मूर्ति फिर्तीमा खास गाँठो के हो जस्तो लाग्छ?
चोरी भएर विदेश पुगेका मूर्ति वा अन्य कलाकृति फिर्ता प्रक्रियामा कानूनी झमेला हुने रहेछ। कागजपत्र मिलाउन नै लामो समय लाग्ने र त्यसको प्रक्रिया पनि अलि झन्झटिलो नै छ। फेरि यो सबै निःस्वार्थ र स्वयंसेवी काम पर्यो। यो काममा को लागिरहने भन्ने पनि हुँदो रहेछ।
कतिपय अवस्थामा चोरी भएर लगिएको थाहा भए पनि कागजातको अभावमा फिर्ता ल्याउन झन्डै झन्डै असम्भव जस्तो हुने अवस्था पनि आउँदो रहेछ। त्यही भएर पुनःस्थापनाका लागि ५० वा १०० वर्ष नै लाग्छ भन्ने मेरो धारणा छ।
अन्त्यमा, नेपालका सम्पदा फिर्ती अभियान कसरी अघि बढाउनुपर्ला?
अहिले रोशन मिश्रको टीमले पनि मूर्ति पुनःस्थापनाको अभियान चलाइरहेको छ। जनचेतना जगाउन भएको प्रयास साह्रै महत्त्वपूर्ण छ।
मेरो प्रयास पनि चोरी भएका वा अन्य ढंगले विदेश पुगेका कलासम्पदा फिर्ता गर्न विश्वका समुदायलाई सचेत र विश्वसनीय बनाउनेतर्फ केन्द्रित छ। यसतर्फ काम गर्न सकियो भने सम्पदा आफैं सुरक्षित हुन्छ। जब मूर्तिको कुनै आर्थिक मूल्य हुँदैन तब बिस्तारै र सजिलै पुनःस्थापित गर्न सहज हुन्छ। तर यसका लागि लामो समय लाग्न सक्छ।
अर्को, विदेशिएका मूर्ति लिलामीगृहमा पुगे। उनीहरूले बेचे। पैसा हुनेले, कलामा शोख हुनेले किने। तर आज जसको स्वामित्वमा छ, उनीहरूलाई चोरीको सामान राखेको भनेर शंका गर्नु भएन।
अब नयाँ शिराबाट काम गर्नुपर्छ। विदेशीले मूर्ति फिर्ता दिन चाहेका छन्, ल्याउने वातावरण बनाउनुपर्छ। कम्बोडिया र थाइल्यान्डको तुलनामा नेपालमा राम्रो काम भएको छ। यो राम्रो कामलाई जारी राख्नुपर्छ।