राष्ट्रपतिबाट माफी पाएका रिगल विरुद्धको मुद्दामा सर्वोच्चले भोलि निर्णय सुनाउने
राष्ट्रपतिबाट आममाफी पाएका बाँकेका रिगल ढकाल विरुद्ध भारती शेर्पाले दिएको रिटमा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ।
नेपालगन्ज उपमहानगरपालिका-८ का २९ वर्षीय मानन्धरमाथि २०७२ असार २८ मा धम्बोजी चोकमा रिगलको निर्देशनमा दिनदहाडै खुँडा प्रहार गरिएको थियो। त्यसपछि रिगल एकाएक फरार भएका थिए। घटनाको दुई महीनापछि भदौमा उनले अदालतमा आत्मसमर्पण गरेका थिए।
पुर्पक्षका लागि जेल पुगेका रिगललाई जिल्ला अदालत, बाँकेले २०७६ वैशाखमा मानन्धरको हत्यामा दोषी ठहर गर्दै सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो। रिगल सहित हत्यामा संलग्न अन्य १२ जनालाई समेत अदालतले दोषी ठहर गरेको थियो। झन्डै ५० प्रतिशत सजाय भुक्तानी गरेका रिगलले संविधान दिवसका अवसरमा आममाफी पाएका थिए।
त्यस विरुद्ध मानन्धरकी पत्नी भारती शेर्पाले असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार निर्णय सुनाउने तय गरेको हो।
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले निर्णय सुनाउने समय तोकेको हो। यसका लागि बिहीबार पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ।
रिगललाई आममाफी दिने सरकारको निर्णयको विरोध गर्दै भारतीले माइतघर मण्डलमा धर्ना दिंदै आएकी छन्। न्याय नपाउँदासम्म धर्ना जारी राख्ने उनले बताएकी छन्।